
ललितपुरको सातदोबोटोस्थित एन्फा कम्पेलसमा शनिबारदेखी शुरु हुने ए’ डिभिजन लिग फूटबल प्रतियोगिताबारे पत्रकारसँग कुराकानी गदै महेन्द्र पुलिस क्बलका प्रशिक्षक अन्नत थापा । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौं, १२ असोज – चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।
चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताउनुभयो ।
सबै क्लबको दाबी- ‘लिगमा राम्रो नतिजा ल्याउँछौँ’

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताको तयारीमा अभ्यास गदै खेलाडीहरु । तस्वीर – रोशन सापकोटा, रासस
पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ वटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा उहाँहरुले लिगको उपाधिमा आ–आफ्नै क्लबको दाबेदारी प्रस्तुत गर्नुभयो ।
शुरुमा बोल्नुभएका न्यूरोड टोली एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले ‘ए’ डिभिजन लिगलाई आफूहरुले राम्रो सदुपयोग गर्ने बताउनुभयो । तयारीका लागि खेल मैदान तथा गोल पोस्टको अभाव भएको बताउँदै लिग तालिकामा पाचौँ या छैटौँ स्थानमा रहने उल्लेख गरेका थिए ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग जित्ने लक्ष्यका साथ तयारी गरिएको बताउनुभयो । ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले लिगमा नयाँ खेलाडीकै भरमा रहेको बताउनुभयो । तालिकाको आठौँ स्थानमा रहने लक्ष्य रहेको बताउँदै उहाँले विगतको लिगमा भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताउनुभयो ।
नेपाल पुलिस क्लबमा राम्रा खेलाडीहरुको बाहुल्यता रहेकाले लिग जित्नेमा विश्वस्त रहेको उहाँको दाबी थियो । फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण प्रशिक्षण राम्रो हुन नसकेको बताउँदै क्लबमा धेरै यू–१८ का खेलाडी रहेको बताउनुभयो । उहाँले रक्षापङ्क्ति बलियो रहेकाले तालिकाको छदेखि आठौँ स्थानसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।
जावलाखेल युथ क्लबका प्रशिक्षक राजकुमार घिसिङले छदेखि नवौँ स्थानमा रहने विश्वास व्यक्त गर्नुभयो । लिगका लागि राम्रो तयारी गरेको उहाँको भनाइ छ । त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले यस पटकको लिगमा आफ्ना खेलाडी पूर्णरुपमा फिट रहेको र जितका साथ प्रतियोगिता शुरु गर्ने लक्ष्यमा रहेको बताउनभयो । “यस पटकको लिगको उपाधिका लागि नै हामी मैदानमा उत्रने छौं”, उहाँले भन्नुभयो ।
मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक तोग्बे पूजाले उपाधि रक्षा गर्नु नै आफूहरुको लक्ष्य रहेको बताउनुभयो । रेलिगेसन नहुने लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगका आधारमा हुने लिगको विजेताले रु ५० लाख पाउनेछन् ।
यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टोलीले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत (एन्फा)ले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार दिनेछन् ।
शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । विसं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल सङ्घलाई दिएको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ‘ए’ डिभिजन लिग ट्रफी’ नामकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको स्थापना २०११ सालमा नरशम्शेर जबराले गरेको इतिहास छ । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् । ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् । उक्त उपाधि हालसम्म मनाङ मस्याङ्दी क्लबले सबैभन्दा बढी (विसं २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) सात पटक जितेको छ ।
यस्तै रानीपोखरी कर्नर टोली ‘आरसिटी’ले (२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१) ६, नेपाल पुलिस क्लबले (२०१२, २०१३, २०६३, २०६६ र २०६८० पाँच, थ्री स्टार क्लबले (२०५४, २०५५, २०६१, २०६९ र २०७१) पाँच, महावीर क्लबले (२०११, २०२३ र २०२६) तीन, सङ्कटा क्लबले (२०३७, २०४० र २०४२) तीन, अन्नपूर्ण फुटबल क्लबले (२०३४ र २०३९) दुई, देउराली क्लबले (२०२५ र २०२७) दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक-एक पटक उपाधि जितेका छन् । विसं २०७१ यता शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन ।
लिगको प्रत्यक्ष प्रसारण एपी–१ बाट
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ब्रोडकास्टिङ पार्टनरका रुपमा आज एपी–१ एचडी टेलिभिजनसँग सम्झौता गरेको छ । (एन्फा)ले डिजिटल पार्टनर र अनलाइन लाइभका लागि भने माइकुजुसँग यसअघि नै सम्झौता गरिसकेको छ ।
एन्फाले तीन वर्षका लागि एपी–१ सँग सम्झौता गरेको हो । सम्झौतासँगै ‘ए’ डिभिजन लिगका ९१ वटै खेल एपी–१ टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । प्रत्यक्ष प्रसारण गरेबापत एपी–१ यस वर्ष एन्फालाई रु ३० लाख, अर्को वर्ष रु ३५ लाख र तेस्रो वर्ष रु ४० लाख उपलब्ध गराउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
नेपालले बोलिभियालाई हरायो
जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा आज बोलिभियालाई २.५–१.५ ले हराएको छ ।
चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुअग्विलरलाई र विवेक थिङले डानियल पिन्टोलाई पराजित गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ । पाँचौँ चरणमा नेपाली टोलीले शनिबार चाइनिज ताइपेईसँग खेल्नेछ । यसैगरी महिलातर्फ चौथो चरणमा नेपाल बेल्जियमसँग ३–१ ले पराजित भयो ।
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?