लन्डन । युरोपियन युनियनका २८ देशका राष्ट्र प्रमुखहरुको ब्रसेल्स सम्मेलन लामो वहसपछि एउटा टुंगोमा पुगेको छ । बिहिबार र शुक्रबार दुई दिन शरणार्थी समस्या एवं ब्रेक्जिटमा केन्द्रित बैठक अन्ततः ‘ब्रेक थ्रु’ भएको इयू नेताहरुले बताएका छन् ।
दस घण्टा लामो छलफल पछि ऐच्छिक रुपले युरोपका अन्य देशहरुमा आप्रवासी तथा शरणार्थीको आगमन केन्द्र खुलाउने सहमति भएको छ । तर, यस्तो केन्द्र कुन देशमा र कसरी भन्नेबारे विस्तृत खुलासा गरिएको छैन् । बैठकले इयू सिमामा कडाइ गर्ने तथा मानव तस्करीमा थप निगरानी गर्ने सहमति समेत गरेको छ ।
बैठकमा हरेक दिन सयौं संख्यामा पानी जहाजबाट आइरहेका आप्रवासीको ब्यवस्थापन सम्बन्धमा चर्को मतभेद भएको थियो ।
शरणार्थी एवं आप्रवासी चढेका पानीजहाजको पहिलो गन्तव्य
प्रायः इटाली हुने गरेको छ । इटालीका नयां प्रधानमन्त्री जिसेपे कोन्टेले आप्रवासी समस्या समाधानको दायित्व सबै इयू देशहरुले बराबर बोक्नुपर्ने अडान राखेका थिए । आप्रवासीप्रति कडा नीतिको वकालत गर्दै आएका कोन्टेले सहमति नभए ‘भिटो’
प्रयोग गर्ने समेत चेतावनी दिएका थिए । कोन्टेले सहमतिका लागि लामो समय लागेपनि अबदेखि इटाली यस मुद्दामा एक्लो नभएको प्रतिक्रिया दिएका छन् ।
युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कले बैठकपछि आप्रवासी मुद्दामा युरोपेली नेताहरु सहमतिमा पुगेको ट्वीट गरेका थिए ।
बैठकमा बेलायत बाहेक इयूका अन्य २७ देशका प्रमुखले बेलायतको इयू बहिर्गमन (ब्रेक्जिट) सम्बन्धि छलफल समेत गरे । गत वर्ष देखि नै शुरु भएको ब्रेक्जिट वार्ता सन्तोषजनक रुपले नभएको भनि इयू र बेलायतले एकापसमा आलोचना गर्दै आएका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट वार्ता अब द्रुतगतिमा हुने बताएकी छिन् । तर, उनको आफ्नै मन्त्रिमण्डल एवं पार्टीमा चर्को विवादका कारण स्पष्ट ब्रेक्जिट नीति लिन प्रधानमन्त्री मेलाई सहज छैन् । त्यसैले मेले आगामी जुलाई ५ मा ब्रेक्जिट श्वेतपत्र जारी गर्न मन्त्रिमण्डलको विशेष बैठक आव्हान गरेकी छिन् ।
इयूका मुख्य वार्ताकार मिसेल बार्निएरले आगामी अक्टोबर सम्ममा बेलायतको इयूसंगको भविष्य र सम्बन्धबारे सबै सहमति गरिसक्नुपर्ने भएकाले समय बित्दै गएको बताएका छन् ।
यसैबीच, बैंक अफ इंग्ल्यान्डले आफ्नो अर्थतन्त्रको वार्षिक स्थायित्व रिपोर्ट प्रस्तुत गर्दै बेलायतले इयू बहिर्गमन हुंदा वित्तिय क्षेत्रमा पर्ने जोखिमबारे सकारात्मक प्रगति गरेपनि इयूले भने त्यस्तो कुनै तयारी नगरेको आरोप लगाएको छ ।
बेलायती संसदले इयू बहिर्गमन विधेयक पारित गरिसकेको र बैंक अफ इंग्ल्यान्डले वित्तिय स्थायित्वका लागि कार्य गरिरहेकाले ब्रेक्जिटपछि बेलायती अर्थतन्त्रमा प्रतिकुल असर न्यूनीकरण हुने आशा लन्डनस्थित अर्थ व्यवस्थापन जानकार विकलचन्द्र आचार्यको छ ।
सन् २०१९ को मार्चमा बेलायत इयूबाट बहिर्गमन हुने तालिका छ । यस अघि इयू बेलायतबीच वित्तिय नियम कानुनमा सहमति गरि स्पष्ट हुन जरुरी छ । बीमा, बैंकिङ तथा अन्य गरि इयू बेलायतको वित्तिय उत्तरदायित्व करिब ३२ ट्रिलियन पाउण्ड (३२ हजार अर्ब पाउण्ड) भएको जनाउंदै आचार्य यसको यथोचित नियमकानुन अभावमा अर्थतन्त्रमा प्रतिकुल असर पर्न सक्ने बताउंछन् ।
बेलायतका पूर्व प्रधानमन्त्री तथा इयू समर्थक टोनी ब्लेयरले इयू बहिर्गमनको समय तालिका सार्न सकिने बताउंदै आतुर गर्न नहुने बताएका छन् ।
बेलायतमा इयूबाट पुरा बहिर्गमन हुने, नजिक सम्बन्ध कायम राखिराख्ने र जनमत संग्रह गरि सबै निक्र्योल निकाल्नुपर्ने जस्ता तीन प्रमुख राजनीतिक धारणा छ । वहुमत बेलायतका ब्यवसायीहरु इयूको कमन मार्केट तथा भन्सार संघको पक्षमा छन् । ब्रेक्जिटपछि बेलायतको सिमाना जोडिएको आयरल्याण्डको कसरी ब्यवस्थापन गर्ने भन्नेमा स्पष्ट नीति छैन् । बेलायत सरकारले कुनै बोर्डर पोष्ट तथा मानिसको आवतजावतको चेक नगर्ने जनाएपनि आयरल्याण्डले थप पारदर्शी हुनुपर्ने जिकिर गर्दै आएको छ । आयरल्याण्ड र बेलायतबीच सन् १९९८ मा भएको शान्ति सम्झौता अनुरुप खुला बोर्डर राख्नुपर्ने सहमति छ ।
इकान्तिपुर
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा