
चितवनको माडीमा मंगलबार आयोजित कला कार्यशाला क्यान्भासमा माडीको चित्र उतार्दै कलाकार योगेश खनाल । तस्बिर – नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
माडी, चितवन, १ जेठ – सोमबारको चर्को घामको रापको कलाकारलाई कुनै परबाह थिएन, माडी अयोध्यापुरी सामुदायिक भवनमा । छेउमा थियो मकै र भटमासको खाजा ।
रङमा चोप्दै कला कोर्न ब्रस समातेका कलाकारका हात बेलाबेलामा मकै र भटमासमा पुग्थे । मुखमा मकै कुटुकुटु चपाए पनि उनीहरुको नजर कहिले मोबाइलमा पुग्थ्यो त कहिले क्यान्भासमा ।
दुई दिन लगाएर माडीका विभिन्न क्षेत्रका दृष्य मोबाइलमा कैद गरेका विभिन्न जिल्लाका १४ जना कलाकार सोमबारदेखि माडीमा यस्तै यस्तै काममा व्यस्त थिए ।
विभिन्न नौ थरि मिसिएको एक्रेलिक रङमा ब्रस चोप्दै सजीव चित्र उतार्नु उनीहरुका लागि ठूलै चुनौती देखिन्थ्यो । अरु कलाकारभन्दा आकर्षक, सुन्दर र उत्कृष्ट बनाउने ध्येय सबैमा झल्किन्थ्यो ।
त्यही भीडमा माडी नगरपालिका–८ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र वैकुण्ठे ताल र वरपरको दृष्य क्यान्भासमा उतार्दै हुनुहुन्थ्यो, कलाकार डि (दामोदर) बराल ।
उक्त तालमा बालाचतुर्दशीका दिन ठूलो मेला लाग्छ । दुईपट्टि जंगलको ढिस्को बीचमा घाँगर खोलाको छहरा र तल आकर्षक ताल हेर्दै सुन्दर रमणीय देखिने तालको चित्र उहाँले उतार्नुभएको थियो ।
“यो एउटा कुण्ड हो, माडी पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेलले भन्नुभयो, धार्मिक पर्यटनका हिसाबले अति नै महत्वपूर्ण छ ।”
यहाँ नुहाएमा वैकुण्ठमा बास हुन्छ भन्ने किंवदन्ती रहेको भन्दै उहाँले कलाको माध्यमबाट पर्यटन प्रवर्धन हुने विश्वास रहेको प्रतिक्रिया दिनुभयो ।
नजिकै रत्ननगरका योगेश खनाल पनि चित्र कोर्नमै व्यस्त हुनुहुन्थ्यो । पानीमा मिसाएर लगाउने रङले उहाँ माडीको अर्को धार्मिक पर्यटकीय क्षेत्र गोद्धकको शिव मन्दिर निर्माण गर्दै हुनुहुन्थ्यो ।
यहाँ आठ पाटे शिवलिङग रहेकाले पनि यसको ठूलो महत्व देखेर चित्र कोर्न मन लागेको बताउनुहुन्छ खनाल । रामनवमी र साउने सोमबार ठूलो मेला लाग्ने यो पनि अर्को आकर्षक पर्यटकीय क्षेत्र हो ।
सधैँ बालुवाका कला कोर्ने अर्का कलाकार प्रकाश थापा (प्रथा) ले यसपालि भने एक्रेलिकबाटै क्यान्भासमा माडी शिवद्वारको मगर बस्ती उतार्दै हुनुहुन्छ ।
दक्षिण चितवनस्थित माडीको पर्यटन विकासका लागि शुरु भएको कला कार्यशालामा सोमबार दिनभर कलाकारले क्यान्भासमा माडी उतारेका छन् । आज पनि कलाकार चित्र उतार्नमै व्यस्त छन् । कार्यशालामा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामा ऐतिहासिक ढुंगामा कला भर्दै हुनुहुन्थ्यो । उहाँले अर्को चित्रमा माडीका विशेषता उतार्नुभएको छ ।
सो क्रममा भरतपुरका वरुणबाबु घिमिरेले पहाडी बस्ती, एनवी गुरुङले मगर जातिका एक पुरुष, डि राम पाल्पालीले थारु बस्ती र रहनसहन, संखुवासभाका दलबहादुर राईले एक बस्ती अगाडि सडकमा गाडा गुड्दै गरेका तस्वीर क्यान्भासमा उतार्नुभयो ।
जेठ २ गतेसम्म चल्ने कार्यशालामा चितवनका डि बराल, योगेश खनाल, वरुणबाबु घिमिरे, लालकाजी लामा, प्रकाश थापा, तमबहादुर पुन, राजेश बराल, दिनेश्वर महतो, भीम श्रेष्ठ र संखुवासभाका डिवी राई, भक्तपुरका दीपेन्द्रमान बनेपाली, पोखराका एनवी गुरुङ, पाल्पाका डि राम पाल्पाली र भैरहवाका केशवराज खनाल सहभागी हुनुहुन्छ ।
पर्यटन विकास समिति, माडीको आयोजनामा भएको उक्त कार्यशालाबाट तयार भएका तस्वीर चितवन र काठमाडौंमा प्रदर्शनी गरिने आयोजक समितिका सचिव गोविन्द न्यौपानेले बताउनुभयो ।
‘माडीको पर्यटन प्रवर्धनमा कलाकार सँगसँगै’ भन्ने नारासहित शुरु भएको कार्यशालाअन्तर्गत यहाँ धार्मिक पर्यटनसँगै थारु, मगर लगायत विभिन्न समुदायका बस्ती, वन र वन्यजन्तु, स्थानीयका चित्र, चरा तथा रहनसहनका सजीव चित्र उतारिएको छ ।
यहाँका धार्मिक पर्यटन क्षेत्र पाँचपाण्डव, परशुराम कुण्ड, सोमेसोर पहाड चर्चित छन् । भारतीय सीमासँग जोडिएको माडी विशेषगरी वन्यजन्तु र बाढीबाट प्रभावित हुँदै आएको छ । माडीमा आदिवासी थारु जातिको मुख्य बसोबास रहेको छ ।
कलाकारले क्यान्भासमा माडीको चित्र उतारेर माडी नगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । कलाकारलाई न्यूनतम शुल्क मात्रै दिइने भएकाले करीब रु दुई लाख ५० हजारमा कार्यक्रम सम्पन्न गर्ने योजना रहेको आयोजकले जनाएका छन् ।
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता