काठमाडौँ, २८ फागुन – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भोलि फागुन २९ गते मंगलबार निर्वाचन हुँदैछ ।
उक्त निर्वाचनका लागि जनशक्ति र मतपत्रको व्यवस्थापन तथा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा मंगलबार बिहान १० बजेदेखि अपराह्न ३.०० बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ ।
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।
आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् प्रतिनिधिसभा, राष्ट्रियसभाका ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता कायम गरिएको छ ।
संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद् सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
कूल ५२ हजार ५०० मतभार कायम रहेको यो निर्वाचनमा २६ हजार २५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुने कानूनी व्यवस्था रहेको छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि हुन लागेको यो तेस्रो निर्वाचन हो ।
राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ ।
राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुने संवैधानिक व्यवस्था छ ।
निर्वाचनको मतगणना मंगलबार बेलुकासम्ममा आउने प्रवक्ता ढकालले जानकारी दिनुभयो । उक्त निर्वाचनका लागि आयोगमा १५ र निर्वाचन अधिकृतको कार्यालयमा पनि सोही संख्याको हाराहारीमा जनशक्ति परिचालन गरेको छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध पनि गरेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते