सार्क विषयका विमति छलफलबाट टुङ्ग्याउनुपर्नेमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गर्नुहुँदै दुईदिने नेपाल भ्रमणमा रहनु भएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीलगायत । तस्बिर – रासस

काठमाडौँ, २१ फागुन- प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ ।

होटल याक एन्ड यतीमा आज साँझ भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको कार्य अझै बाँकी रहेको बताएको उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालमा चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणको अन्त्य भएको स्पष्ट पार्नुभएको थियो । उहाँहरुबीच क्षेत्रीय र द्विपक्षीय हितका विषयमा पनि खुलेर छलफल भएको सल्लाहकार रिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’हामीले द्विपक्षीय चासो र हितका साथै आर्थिक विषयमा छलफल गरयौँ ।’

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का विषयमा भएका छलफलबारे सल्लाहकार रिमालले भन्नुभयो,“सार्क हामी सबैको पहलमा स्थापना भएको हो, त्यसको महत्व अझै बाँकी छ, त्यसको प्रक्रियालाई अगाडि बढाउन दुवै देश प्रतिबद्ध छौं भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीको समान धारणा छ ।”

सार्कका विषयमा केही विमति भए त्यसलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्नेमा उहाँहरुको जोड रहेको सल्लाहकार रिमालले बताउनुभयो । भेटवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निम्तो दिनुभएकामा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा मित्र राष्ट्र पाकिस्तानको भ्रमण गर्ने जवाफ दिनुभएको थियो ।

बैठकमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सल्लाहकार रिमालले जानकारी दिनुभयो ।

द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी तथा पाकिस्तानका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव, नेपालका लागि पाकिस्तानी राजदूतसहित उच्च अधिकारीको सहभागिता थियो ।

दुई प्रधानमन्त्रीबीच लगानीदेखि मानव संसाधन विषयमा छलफल

प्रधानमन्त्री ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री अब्बासीबीचको भेटवार्तामा लगानी, व्यापार, पर्यटन, कृषि र मानव संसाधन विकास विषयमा छलफल भएको छ ।

दुई देशका प्रधानमन्त्रीहरु द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले आज राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । बैठकमा दुई देशका प्रधानमन्त्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बडापत्रको भावनानुसार सार्क प्रक्रियालाई पुनःजीवन दिन आआफ्ना विचार आदानप्रदान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री अब्बासीसँग उहाँका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न हुनुहुन्छ ।

पाकिस्तानी प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज

प्रधानमन्त्री ओलीले नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

नेपालको दुईदिने भ्रमणमा आजै नेपाल आउनुभएका प्रधानमन्त्री अब्बासीको सम्मानमा आज साँझ होटल याक एन्ड यतीमा आयोजित रात्रिभोजमा नेपालका पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपतिसँगको भेटअघि उहाँको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता हुने कार्यक्रम छ ।

नेपालको भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री मङ्गलबार स्वदेश प्रस्थान गर्नुहुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री