काठमाडौँ, २ फागुन – आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन ।
आज विभिन्न कलेज, क्यासे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका विभिन्न उपहार, फूल पसलमा रातो गुलाफ किन्नेको भीड देख्न पाइन्छ ।
खासगरी पश्चिमा देशमा विशेष रुपमा मनाइने प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ नेपालका युवालाई पनि आकर्षित गरिरहेको छ । स्नातक तहमा अध्ययनरत सिताष्मा शर्मा अहिले देखाउनकै लागि भए पनि प्रेमी जोडी बढ्ने फेसन चलेको बताउनुहुन्छ ।
‘एक हप्तासम्म विभिन्न डे हुँदै आज १४ भ्यालेन्टाइन डे रे, एक हप्तादेखि साथी कलेज आएका छैनन्, कहिले कताकताको डेटिङ, यसका राम्रा पक्ष भए पनि हामीले नचाहिने कुरालाई बढी अपनाएका छौँ’- उहाँले भन्नुभयो ।
कलेज पढ्ने कसैले ‘अफेयर्स’ छैन भन्दा विश्वास गर्दैनन् उहाँले भन्नुभयो- ‘देखाउनका लागि गरिने प्रेमले समय र भविष्यमा असर पारिरहेको छ ।’
बढ्दो सूचनाप्रविधिले संसारका हरेक क्रियाकलाप नजिकै जस्तो गरी थाहा पाउन सकिन्छ । बाहिर जसरी दिवस मनाउँछन्, त्यही सिको गरेर नेपाली युवाले प्रेम दिवस मनाउन थालेको नराम्रो लाग्ने सिताष्मा बताउनुहुन्छ ।
नेपाली समाजले प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । यसबारे दुई खाले विचार पाइन्छ । केहीले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन्, भने केहीले प्रेमलाई अझ सशक्त बनाउने एक–आपसमा सम्बन्ध प्रगाण बनाउन सहयोग पुग्ने विचार राख्दै आएका छन् ।
ज्योति रावल प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रुपमा लिने परम्परा विकास भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्रेम सुन्दर अनुभव हो, अहिले युवाले प्रेमलाई फेसनका रुपमा लिँदा उनीहरुको भविष्यसमेत डामाडोल भएको देखेको छु, प्रेम शब्द जति सुन्दर छ त्यति नै सभ्यरुपमा मनाउन सकेमा राम्रो हुन्थ्यो ।’
निजी कम्पनीमा काम गर्ने देव पोखरेल भने यो दिवसलाई मायाप्रेम साट्ने सुनौलो दिनको रुपमा लिने गरेको बताउनुहुन्छ ‘उहाँले समय फेरिएको छ, अहिले प्रेम लुकाएर गर्नुपर्ने अवस्था छैन, आफूले माया गर्ने व्यक्तिसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।’
प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९ मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।
आदेश तोडेको आरोपमा उनलाई इ. पू. ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिंगीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिंदैन ।
प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको भन्दै यसको विरोध गर्ने पनि छन् । जसले आफ्ना छोराछोरी प्रेममा नफसून् भन्ने धारणा राख्नेको कमी छैन । पछिल्लो समय छिट्टै आकर्षण हुने र अलग हुने क्रम पनि बढ्दो छ । ६५ वर्षीया मञ्जु थापा पछिल्लो समय युवाहरुमा प्रेम गर्दै छाड्ने चलन बढेकोप्रति असन्तुष्टि हुनुहुन्छ ।
उहाँले ‘खुला रुपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के होला ? अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्छ ।’
एक अर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रकट गर्ने दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाफका साथ विभिन्न उपहार आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण