लन्डन । प्रवासी नेपाली मञ्च, बेलायत, (ओएनएफ यू.के.) ले नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण गर्ने र नेपाली भूभाग डुबानमा पार्ने गरी बनाएका संरचनाहरु तुरुन्त भत्काउन माग गरेको छ । तराई क्षेत्र जलमग्न भइरहंदा ओएनएफ यूकेले मंगलबार दिउसो लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई ज्ञापन दिंदै उक्त माग गरेको हो ।
प्रवासी नेपाली मञ्च, बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले राजदूत डा. दुर्गाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनमा भारत सरकारसंग नेपाल सरकारले तराईको डुबानका विषयमा अविलम्ब ठोस वार्ता गर्न र समाधानका लागि कूटनीतिक पहल गर्न माग गरिएको छ । ‘कोशी, गण्डकी लगायत विभिन्न स्थानमा गरिएका जलश्रोत सम्बन्धी सन्धी-सम्झौताहरु नेपालको हितलाई ध्यानमा राख्दै संशोधन गरियोस् । नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण गर्ने र नेपाली भूभाग डुबानमा पार्नेगरी बनाएका संरचनाहरु तुरुन्त भत्काइयोस्’, ज्ञापनमा उल्लेख छ ।
राजदूत सुवेदीले उक्त ज्ञापनपत्र नेपाल सरकारलाई यथाशक्य छिटो पठाउने आश्वासन दिएका थिए । उक्त अवसरमा राजदूत सुवेदीले ओएनएफ यूकेले गरेका सामाजिक तथा राजनीतिक कामको सराहना गरेका थिए भने ओएनएफले पनि सुवेदी राजदूतका रुपमा लन्डन आएपछि दूतावासमा सेवा समय विस्तारसहित अन्य प्रशासनिक सुधार भएको भन्दै राजदूतको प्रशंसा गरेको थियो ।
ज्ञापनपत्र जस्ताको तस्तैः
प्रवासी नेपाली मञ्च, यू.के.
श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
श्री नेपाल सरकार, मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं, नेपाल,
मार्फत, श्री महामहिम राजदूत श्री दुर्गाबहादुर सुवेदीज्यू, नेपाली राजदूतावास, लन्डन, बेलायत ।
विषयः ज्ञापन पत्र
श्री सम्माननीय प्रधानमन्त्री महोदय,
केही दिन यता परिरहेको अविरल वर्षाका कारण नेपालको तराई जलमग्न भएको छ । बाढीको कहरले पूर्वी तराईलाई सबैभन्दा बढी आक्रान्त पारेको छ भने पश्चिमी तराई पनि बाढीको चपेटामा परेको छ । अत्यधिक अविरल वर्षाका कारण पहाडी भूभागमा पहिरोले ताण्डव मच्चाएको छ । दर्जनौं नेपालीको ज्यान गएको छ भने सयौं बेपत्ता भएका छन् तथा लाखौं नेपालीहरु विस्थापित हुन वाध्य भएका छन् । तराईमा बाढी र डुबानका कारण मृतकको लास जलाउने वा गाड्नेसमेत ठाउं नभएर त्यत्तिकै बगाउनु परेको सुन्दा हामी प्रवासमा हुने नेपालीहरुको मन धर्धरी रोएको छ । दुःखको यस घडीमा सबै मृतकजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छांै भने मृतकका शोकाकुल आफन्तहरुप्रति गहिरो समभाव प्रकट गर्दछौं ।
देशभित्रका नेपाली दाजुभाइ–दिदीबहिनीहरु, सबैले संयम गर्नुहोस् र एक–आपसमा सहयोग गर्नुहोस् ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
दुःखको यस घडीमा प्रभावकारीढंगले राहत तथा पुनस्र्थापनाको काम गर्न हामी प्रवासी नेपालीहरु नेपाल सरकारसंग जोडदार माग गर्दछौं । साथै हामी बेलायतवासी प्रवासी नेपालीहरुले पनि यथासक्य सहयोग संकलन गरी नेपाल सरकारलाई उपलब्ध गराउने वचनवद्धता पनि व्यक्त गर्दछौं ।
कोशी र गण्डकीमा भारत सरकारले आफ्नो मात्र फाइदा हुनेगरी बांध बांधेको र त्यसबाट नेपाललाई वर्षाको बेला बाढीमा डुबान गराउने तर हिउंदमा सिंचाइका लागि पानी उपलब्ध नगराउने भारत सरकारको रवैया हामी देश – विदेशमा रहेका सबै नेपालीहरुमाझ लुकेको विषय रहेन । यसैगरी रुपन्देहीको खुर्दलौटन बांध, कपिलवस्तुको महलीसागर बांध र बांकेको लक्ष्मणपुर बांध लगायत दर्जनौं ठाउंमा भारतीय पक्षबाट नेपाली सीमाको नजिकै एकतर्फीरुपमा बांध बांध्नाले वर्षेनी तराईमा डुबानको समस्या बढिरहेको छ ।
प्रवासी नेपाली मञ्च, बेलायत (ओएनएफ यूके) भारतीय पक्षबाट हुने गरेको यसखाले ज्यादतीको जोडदार विरोध गर्दछ तथा वर्षायाममा प्राकृतिक रुपमा बग्ने पानीमा कुनै अवरोध नगर्न पनि माग गर्दछ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रवासी नेपाली मञ्च, बेलायत, (ओएनएफ यू.के.) भारत सरकारसंग नेपाल सरकारले तराईको डुबानका विषयमा अविलम्ब ठोस वार्ता गरोस् र समाधानका लागि कूटनीतिक पहल गरोस् भन्ने पनि माग गर्दछ । हाम्रो संगठनको माग छ, कोशी, गण्डकी लगायत विभिन्न स्थानमा गरिएका जलश्रोत सम्बन्धी सन्धी– सम्झौताहरु नेपालको हितलाई ध्यानमा राख्दै संशोधन गरियोस् । नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण गर्ने र नेपाली भूभाग डुबानमा पार्नेगरी बनाएका संरचनाहरु तुरुन्त भत्काइयोस् ।
बेलायतमा बस्नुभएका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हाम्रो हार्दिक अपिल छ– आफू सक्दो राहत दान गर्न र संकलन गरी जुटाउनका लागि तत्कालै जुटौं ।
राजेन्द्र पुडासैनी, अध्यक्ष
प्रवासी नेपाली मञ्च, बेलायत
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’