काठमाडौँ, १ असार । सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को आग्रहअनुसार प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता यही असार २ गतेको सट्टा असार ४ गते सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि उम्मेदवार मनोनयनको मिति दुई दिन पछाडि सारेको जनाइएको छ ।
प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले आजै प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका थिए । प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ ।
निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति
नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।
पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटकका वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिंदै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गर्नुभयो ।
सुरुमा एकै चरणमा गत वैशाख ३१ का लागि निर्धारित मितिमध्ये चार प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै पार्टीले शङ्काका दृष्टिले हेरेको उल्लेख गर्दै उहाँले असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित भएको घटनाक्रमले पुष्टि गरेको आरोप लगाउनुभयो ।
विज्ञप्तिमा भनिएको छ, “प्रदेश नं २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाका जनताको आफ्ना प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुरयाएको छ ।”
प्रदेश नं २ मा पार्टीका नियमित काम अघि बढाउन मातहत कमिटीलाई निर्देशन दिंदै पार्टीले प्रदेश नं १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न जनसमुदाय, पार्टी मातहत कमिटी तथा नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता