कहीं कतै जांदै हुनुहुन्छ र यसको लागि हवाइ टिकट लिनु पर्ने छ ? कृपया हवाई टिकटको बारेमा मैले सबै बुझेको छु भन्ने धारणा नपाल्नु होला किनकि हवाई टिकट किन्दा ध्यान दिनु पर्ने थुप्रै कुरा छन् । हवाई टिकटमा ठूलो रकम खर्च गर्नु पर्ने भएकोले यदि कमी कमजोरी रहेमा नोक्सान त छंदैछ, अप्रत्याशित दुःख पाइने सम्भावना पनि त्यत्तिकै रहेको हुन्छ । तल दिइएका केही कुरामा मात्र भने पनि ध्यान दिनु भयो भने तपाईको यात्रामा व्यवधान आउने सम्भावना कम रहने छ ।
(१) हाम्रा हरेक गतिविधि हामीले योजना बनाए अनुसार नै अगाडि बढ्छ भन्ने कुराको कुनै ग्यारेण्टी छैन् । समय र परिस्थितिले आफूले बनाएको योजना अनुसार नै यात्रा गर्न नदिन सक्छ । त्यसैले हवाई टिकट किन्दा पाएसम्म जाने र फर्कने मिति वर–पर सार्न सकिने खालको किन्नु बुद्धिमानी ठहर्छ । कतिपय टिकटहरु वर–पर सार्न पनि नसकिने तथा पैसा पनि फिर्ता नहुने (Non Changeable & Non Refundable) खालका हुन्छन् । यस्ता टिकट सस्ता हुन सक्छन् तर यस्ता टिकटका कारण धेरैलाई मर्का परेका थुप्रै उदाहरणहरु छन् । यदि तपाई एकजना मात्र जांदै हुनुहुन्छ भने ‘लौ ठूलो आर्थिक जोखिम छैन’ भनेर आंट्न सक्नु होला । तर, तपाई परिवारसहित तथा अझ स–साना केटाकेटी सहित जांदै हुनुहुन्छ भने विशेष होसियारी गर्नु होला । यसको लागि आफ्नो एजेण्टसंग टिकटको नियम (Fare Rules) राम्रोसंग बुझ्नु होला । ‘भनेको दिनमा उडिन्छ र भनेकै दिनमा फर्किहालिन्छ’ त्यसैले सस्तो चाहियो, जस्तो भए पनि हुन्छ भन्ने सोचका कारण धेरैलाई अप्ठेरो परेको पनि छ ।
(२) आजभोलि अनलाइनबाट पनि टिकट खरिद विक्री हुने गर्दछ तर अनलाइनबाट टिकट खरिद गर्दा त्यो अनलाइन ट्राभल एजेन्सीको बारेमा जानकारी लिनु अत्यन्त जरुरी हुन्छ । अनलाइनबाट टिकट किन्दा होस पुरयाउन नसक्दा धेरै मानिसहरुले अनावश्यक दुःख पाएका घट्ना अनगिन्ती छन् । बेलायतमा टिकट किन्दै हुनुहुन्छ भने सर्वप्रथम त्यो बेलायतको कम्पनी हो कि होइन पत्ता लगाउनु जरुरी छ । यसको लागि कम्पनीज हाउसको वेबसाइटको सहायता लिन सकिन्छ । बेलायत बाहिर रहेका कम्पनीहरुले एटल (ATOL) सुरक्षण गर्ने गर्दैनन् । यहांको ATOL जस्तै उनीहरुको देशमा कस्तो सुरक्षण तरिका छ त्यो बुझ्नु जरुरी छ । साथै यदि क्यान्सिल वा मिति सार्न उनीहरुलाई फोन गर्नु परेमा फोन चार्ज प्रतिमिनेट कति छ त्यो पनि जानी राख्नु होला । टिकट क्यान्सिल गरेमा रिफण्ड हुने कि नहुने, कति चार्ज लाग्ने, मिति सार्न पाउने कि नपाउने, यदि सार्न पाउने भएमा चार्ज कति लाग्ने (टिकटको नियम) आदि कुरामा प्रस्ट भएर मात्र टिकट किन्नु बुद्धिमानी ठहर्छ । साथै कम्पनी कति पुरानो हो भन्ने कुरामा पनि विशेषरुपमा ख्याल गर्नु पर्ने हुन्छ । यस्ता अनलाइन कम्पनीको बारेमा विभिन्न कम्युनिटी फोरममा लेखिएका रिभ्यु वा कमेन्ट हेर्नु पनि अत्यन्त जरुरी हुन्छ । यो रिभ्युले तपाईलाई सही निर्णय लिन सहयोग पुरयाउने छ । अनलाइनमा सम्भव नै हुन नसक्ने मूल्यमा टिकट विक्रीमा राखिएको छ भने झन् बढी होसियार हुनु होला । केही नक्कली विक्रेताहरुको तपाईंको कार्ड डिटेल्स प्राप्त गर्ने उद्देश्य पनि रहेको हुन सक्छ, त्यसैले यसतर्फ पनि ध्यान दिन जरुरी छ । प्रति टिकट पांच दश पाउण्ड जोगाउन खोज्दा ठूलै क्षति हुन सक्ने सवालमा पनि चनाखो रहनु जरुरी छ । ATOL बारे बेलायतको Civil Avaitation Authority वेभसाइटबाट जानकारी लिन नबिर्सनु होला । यस वेभसाइटबाट प्यासेन्जरका लागि राखिएका थुप्रै उपयोगी जानकारी लिन सक्नु हुनेछ । ATOL को बारेमा आफ्नो ट्राभल एजेन्टबाट पनि जानकारी लिन सक्नु हुन्छ । अधिकांश जहाज कम्पनीहरुले आफै अनलाइनबाट टिकट विक्री गर्ने पनि गर्दछन् । त्यसैले अनलाइनबाट नै किन्नु हुन्छ भने सिधै जहाजको वेबसाइटबाट किन्नु भयो भने तपाईको खरिद प्रकृया सुरक्षित रहने छ ।
(३) प्राय हामीले बुझ्दा इकोनोमी क्लास भन्नासाथ यो क्लासको सबै टिकटको मूल्य एउटै हुन्छ भन्ने ढंगले बुझेका हुन्छौं तर त्यस्तो हुंदै होइन । इकोनोमी क्लासमा पनि थुप्रै क्याटगोरीका टिकट हुने गर्दछन् । जसलाई हरेक जहाज कम्पनीहरुले विभिन्न अंग्रेजी अल्फाबेटबाट आ-आफ्नै ढंगले छुट्याएका हुन्छन् र ती प्रत्येक क्याटगोरीको छुट्टै छुट्टै मूल्य राखेको हुन्छ । टिकट कति अवधिसम्म भ्यालिड हुने, जान नसके पैसा फिर्ता हुने गरी क्यान्सिल गर्न पाउने नपाउने वा मिति सार्न पाउने नपाउने, क्यासिन्ल गर्दा वा मिति सार्दा जरिवाना कति तिर्नुपर्ने, जान त गइयो तर टिकटमा उल्लेख भएको दिनमा फर्कन सकिएन भने मिति बदल्न पाउने कि नपाउने, मिति बदल्न पाउने हो भने जरिवाना लाग्ने कि नलाग्ने वा कति पटकसम्म बिना जरिवान मिति सार्न पाउने वा कति जरिवाना लाग्ने, ब्यागेज कति किलो पाउने आदि सुविधाहरुको आधारमा ती क्याटगोरीको मूल्य कायम गरिएको हुन्छ । जसले गर्दा तपाईसंगै कुम जोडेर बसेको यात्रीले तिरेको मूल्य र तपाईले तिरेको मूल्यमा ठूलो अन्तर रहन सक्छ । तर, मूल्य फरक भए पनि जहाजभित्र इकोनोमी क्लासमा रहेका हरेक व्यक्तिले पाउने सुविधा उस्तै नै हुन्छ । बस्ने पनि एकै ठाउंमा नै हुन्छ । केही यस्ता टिकटहरु हुन्छन् जस अनुसार तोकिएको मितिमा जान सकिएन वा फर्कन सकिएन भने प्राय सबै रकम नै डुब्न जान्छ । यस्ता टिकटहरु सस्ता हुन्छन् । त्यसैले टिकट किन्दा आफ्नो परिस्थिति अनुसार कति सुविधा भएको टिकट लिने भन्ने बारेमा होसियार हुनु जरुरी छ । कुनै पनि कुरा नपरेसम्म सानो हुन्छ तर परेपछि त्यसको चोट ठूलो हुन्छ । पहिला नै होसियार रहनु राम्रो हुन्छ । जसको लागि तपाईंले सुरुमा नै टिकट सस्तो मात्र हैन कि भरपर्दो पनि होस् भनेर सोच्नु जरुरी हुन्छ । अर्कोकुरा, कुनै पनि टिकटको मिति सार्दा भाडा तथा कर (Fare & Tax) पहिला तपाईंले किन्दा भन्दा बढी निस्कियो भने रकम थप गर्नु पर्ने हुन्छ । त्यसैले मिति सार्ने काम सित्तैमा भन्नुको अर्थ जरिवाना नलाग्ने भन्ने अर्थमा मात्र बुझ्नु जरुरी छ । भाडा र करमा फरक परेको छ भने कुनै पनि जहाजले त्यो असुल नगरी टिकट सार्न दिंदैन ।
(४) टिकट किन्दा ट्रान्जिट समयलाई पनि ध्यान दिनु जरुरी छ । छोटो ट्रान्जिटले पनि कहिलेकाहीं समस्या खडा हुने गर्दछ । यदि धेरै ठाउंमा प्लेन फेर्नु पर्ने छ वा जटिल सेक्युरिटी जाँच छ भने पर्याप्त ट्रान्जिट समय हुनु राम्रो हुन्छ । विशेषगरी बेलायतबाट अमेरिका वा अस्ट्रेलिया जानु छ भने छोटो ट्रान्जिटका कारण प्लेन छुट्न सक्छ । यस्तैगरी कतिपय मुलुकमा ट्रान्जिटको लागि पनि भिसा लिनु पर्ने हुन सक्छ । त्यसैले यसबारेमा आफ्नो ट्राभल एजेण्टसंग जानकारी लिएर मात्र टिकट लिनु राम्रो हुनेछ ।
(५) केही एयरलाइन्सहरुले अर्को एयरलाइन्ससंग मिलेर फ्लाइट सञ्चालन गर्ने गरेका छन् । जस्तो केही एयरलाइन्सहरूले नेपाल जान यहांबाट दिल्ली वा दुबइ वा ढाका आदिजस्ता एयरपोर्टसम्म एउटा एयरलाइन्समा र त्यसपछि अर्को एयरलाइन्समा पठाउने गर्छन् । यस्तो अवस्थामा कुनै एक एयरलाइन्सको उडानमा ढिलो भयो र अर्को एयरलाइन्स छुट्यो भने यात्रुहरूलाई अलपत्र पारिएका उदाहरणहरु प्रशस्त छन् । त्यसैले यस्तो कम्बाइन्ड एयरलाइन्समा टिकट किन्नु अघि धेरै पटक सोच्नु जरुरी छ । तर एयरलाइन्स फरक भए पनि फ्लाइट नम्बर अगाडिको एयरलाइन्स कोड प्रमुख विक्रेता एयरलाइन्सको नै छ भने यसमा डराउनु पर्ने अवस्था रहेको हुंदैन ।
(६) टिकट मूल्य हरेक क्षण परिवर्तन भइरहेको हुनसक्छ । बेलायतको कुरा गर्ने हो भने स्कुल र युनिभरसिटी बिदा हुने समय, क्रिसमस र नयां वर्ष आदिमा टिकटको मूल्य जहाज कम्पनीहरुले निकै बढी राखेका हुन्छन् तर यस्तो हाई सिजनका टिकटहरु धेरै अगाडि किन्दा सस्तो पर्ने सभावना रहन्छ । नेपाल जाने टिकट पनि दशैं र तिहारको लागि अगाडि नै किन्दा सस्तो पर्ने सम्भावना बढी रहन्छ । तथापि कहिलेकाहीं भिड्क्याएर किनेको टिकट सस्तो परेका केही उदाहरण पनि छन् ।
(७) कहिलेकाहीं अनपेक्षित रुपमा हवाई उडानहरु रद्द भएका हुन्छन् वा समय परिवर्तन भएको हुन्छ । त्यसैले यसबारेमा उड्ने दिनभन्दा एक दुइ दिन अगाबै सम्बन्धित एयरलाइन्स वा आफ्नो एजेण्टलाई फोन गर्नु राम्रो हुनेछ । फर्कदा पनि फोन गरेर जानकारी लिनु होला । यो तपाईको हितमा नै हुनेछ र अनावश्यक दुख पाउनबाट जोगिन सकिने छ ।
(८) हवाई टिकट खरिदलाई माध्यम बनाएर केही गलत व्यक्तिहरुले यात्रीहरुलाई दुख दिएका थुपै घट्ना छन् । त्यसैले सस्तो पाएं भन्दैमा नफंस्नु होला । सम्बन्धित विक्रेताको बारेमा राम्रो जानकारी लिएर मात्र टिकट सम्बन्धी कारोबार गर्नु बुध्दिमानी हुनेछ । टिकट लिई सकेपछि पनि उडान पुरा नभएसम्म विभिन्न खाले सेवाहरु आवश्यक परिरहन्छन् । त्यसैले अनलाइन होस् वा अरु खाले ट्राभल एजेन्टहरु हुन् उनीहरुको ग्राहक सेवा कस्तो छ, त्यसलाई विशेषरुपमा ध्यान दिन अन्त्यन्त जरुरी छ ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा