
प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पबाट क्षतिग्रस्त काठमाडौँस्थित बौद्ध महाचैत्यको जीर्णाेद्धार तथा पुनःनिर्माण सम्पन्न भएपछि मङ्गलबार उद्घाटन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनु भूकम्प प्रभावित अन्य क्षेत्रको पुनःनिर्माणका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।
महाचैत्यको जीर्णाेद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले यस कार्यले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश देशभरि गएको छ भन्नुभयो ।
पुनःनिर्माणमा मुलुकभित्र र बाहिरका व्यक्ति तथा सङ्घसंस्थाको उल्लेख्य सहयोग भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “महाचैत्यको पुनःनिर्माण स्वतन्त्रता, जिम्मेवारी र गम्भीरताका साथ गरिनु खुसी र गौरवको कुरा हो ।”
विश्व सम्पदा सूचीमा रहेको सो. ऐतिहासिक सम्पदालाई आफैँले पुनःनिर्माण गर्न सक्छौँ भन्ने प्रमाणित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “हामी पुनःनिर्माणको ऐतिहासिक चरणमा छौँ । एकातिर जनताका क्षतिग्रस्त घरको पुनःनिर्माण गर्नु छ भने अर्कातिर पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।”
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विद्यमान नियम कानुनले समयमै भूकम्पले प्रभावित क्षेत्रको पुनःनिर्माण गर्न नसकिने बताउँदै त्यस्ता कानुन परिमार्जन गर्नु आवश्यक रहेको बताउनुभयो ।
चिनियाँ बौद्ध सङ्घका उपाध्यक्ष बौद्ध धर्मगुरु यिन सुनले बौद्ध महाचैत्य नेपाल र चीनका लागि मात्र नभई विश्वका सम्पूर्ण बौद्धधर्मावलम्बीका लागि पवित्रस्थल भएको बताउनुभयो ।
कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा, धर्मगुरु मिङ्ग्युर रिन्पोछे, समिति सदस्य चमेलीकुमारी लामा र कार्यकारी निर्देशक फुपू याङ्जी लामाले पुनःनिर्माणमा भएका कामका बारेमा जानकारी गराउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
गत २०७२ माघ २८ गतेदेखि सुरु भएको महाचैत्यको पुनःनिर्माणमा विभिन्न व्यक्ति र संस्थाबाट रु २० करोड ९० लाख प्राप्त भएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने