
चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर केन्द्रका रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
उहाँको सम्मानमा आज अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
अस्पतालको समस्याका बारेमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूलाई अवगत गराइसकेको भन्दै प्रधानमन्त्री दाहालले जनताको सेवामा कति पनि विचलित नभई काम गर्न निर्देशन दिनुभयो ।
क्यान्सर उपचारका लागि केन्द्रीय अस्पतालका रुपमा रहेको यस अस्पतालले नेपाल, भारत र भुटानका बिरामीलाई सेवा दिँदै आएको सुन्दा आफू खुसी भएको भन्दै उहाँले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिइनुपर्ने बताउनुभयो ।
अस्पतालको व्यवस्थापनमा कमीकमजोरी भएको भए पनि बिग्रिनसकेको भन्दै उहाँले सबैले मिलेर सङ्कल्प र मिहनत गरी अस्पताललाई उचाइमा पुरयाउनुपर्ने बताउनुभयो । नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्ने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
अस्पतालमा उपकरण पुराना हुँदा उपचारमा समस्या आएको भन्दै यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिदिन उहाँले आग्रह गर्नुभयो ।
क्यान्सर अस्पतालमा हाल ५२ जना विशेषज्ञसहित ५७९ जना कर्मचारी कार्यरत रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
प्रधानमन्त्री दाहालले अस्पतालका सम्पूर्ण विभागमा पुगी त्यहाँ रहेका बिरामी र तिनका आफन्तसँग कुराकानी गर्नुभएको थियो । उनीहरूले प्रधानमन्त्रीसँग अस्पतालको उपचार सेवामा ढिलासुस्ती हुने गरेको गुनासो गरेका थिए ।
क्यान्सर उपचारका लागि केन्द्रीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा भारत र भुटानका बिरामी समेत उपचारका लागि आउने गर्दछन् ।
प्रधानमन्त्रीद्वारा कार्यालय प्रमुखहरूलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका काम छिटो छरितो ढङ्गबाट सम्पादन गर्न जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । ‘‘नेपालमा अपारदर्शी, ढिलासुस्तीको प्रवृत्ति बढेकाले यसलाई सुधार गर्नु आवश्यक छ’’ उहाँले भन्नुभयो ।
पुँजीगत खर्च बढाउनु पर्ने बताउँदै आयोजना समयमै सम्पन्न गर्न पनि उहाँको निर्देशन थियो । प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्य र जनतालाई सेवा सुविधा दिन कर्मचारी इमान्दारीपूर्वक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “जनता र विकासका पक्षमा उदाहरणीय काम गर्नुहोस्, त्यसबाट जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् ।” राजनीतिले निर्देशन गर्ने र प्रशासनले कार्यान्वयन गर्ने हो भने देश र जनताको पक्षमा उल्लेखनीय काम हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले कर्मचारीतन्त्रमा दण्ड र पुरस्कारको व्यवस्था लागू गरी राम्रो काम गर्नेलाई प्रोत्साहन र खराब गर्नेलाई कारबाही गर्ने प्रथाको विकास गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते