ओबामा र पुटिनबीच सिरिया तथा युक्रेनबारे भेटवार्ता

37ED0A1D00000578-3773938-image-m-2_1473066140582

हाङझाउ (चीन), २० भदौ । विश्व अर्थतन्त्रका २० प्रमुख राष्ट्रहरूको समुह ‘जी–ट्वान्टी’ सम्मेलनका शिलशिलामा चीन पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सोमबार भेटवार्ता भएको छ ।

दुई विश्व प्रसिद्ध नेताबीच भएको करिब एक घण्टा लामो भेटवार्ता भएको र यो उहाँहरुबीच वार्ताका लागि अपेक्षा गरिएको समयभन्दा लामो बन्न पगेकोे रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताउनुभएको छ ।

उहाँहरुबीच सिरिया र युक्रेन द्वन्द्व समाधानमा रसियाली तथा अमेरिकी पक्षबाट खेल्न सकिने मध्यस्थ भूमिकाका बारेमा छलफल भएको प्रवक्ता पेश्कोभले बताउनुभयो । उहाँले छलफल सकारात्मक रहेको बताउदै सिरिया र युक्रेनबीच देखिदै आएको द्वन्द्व छिट्टै समाधान हुनेमा रसिया आशावादी बनेको बताउनुभयो ।

यसैबीच ,अमेरिकी सञ्चारमाध्यमले ओबामा प्रशासनका अधिकारीलाई उद्घृत गर्दै दुई नेताको वार्ता सिरियामा जारी द्वन्द्व अन्त्य गर्न असफल भएको भए पनि द्वन्द्व अन्त्य गर्ने प्रयास जारी रहने बताएका छन् ।

दुई नेताले आफ्ना उच्च कुटनीतिज्ञलाई छिट्टै (सम्भवत यसै हप्ता) वार्तामा फर्किन आग्रह गरेका दुवै देशका अधिकारील बताएका छन् ।

रसिया तथा अमेरिकाले सिरिया र युक्रेन द्वन्द्व समाधानका लागि यस अघि पनि पहल गरेका थिए तर उक्त प्रयास सफल हुन सकेको थिएन ।

यसै प्रसंगमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुईपक्षबीच अझै धेरै भिन्नता देखिएपनि वार्ताले सफल मोड लिने सम्भावना रहेको बताउनुभएको थियो ।

चीनको पूर्वीशहर हाङझाउमा आइतबार अमेरिकी विदेशमन्त्री जोन केरी र उहाँका रसियाली समकक्षी सर्गेइ लाभरोभबीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान पुन बस्नेगरी टुङ्गिएको थियो ।

अमेरिकी विदेशमन्त्री केरीले आइतबार राति एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना भएको बताउनु भएको थियो ।” उहाँले जटिल मुद्दा के हुन् भन्नेबारे केही बताउन चाहनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री