मिल्ने भए राप्रपा

PashuPati JBR

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा

काठमाडौँ, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकताका लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको छ ।

राप्रपाको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको निर्णयबारे जानकारी दिन आज यहाँ गरिएको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले बैठकले राप्रपा नेपालसँग पार्टी एकताका लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले पार्टी मिलाएर मात्र नपुग्ने भन्दै यसलाई मिलाएर ठूलो शक्ति बनाउने उल्लेख गर्नु भयो ।

अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू राष्ट्रको रक्षाका लागि राप्रपा नेपाल समानान्तर समितिसँग पार्टी एकीकरण गरेको बताउनुभयो ।

पार्टीका निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकाले एकतामा जुटेको बताउनुभयो । समान विचारधारा भएको राष्ट्रवादी शक्ति एक हुनुपर्छ भन्ने उद्देश्यले एकीकरण भएको उहाँले स्पष्ट पार्नुभयो ।

पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले नेपालको राजनीति तथा समाजको विकासक्रमलाई सही मार्गमा ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो सबैलाई महसुस भएको छ ।”

मङ्गलबार पार्टीको अध्यक्ष बन्नुभएका राणाले आजबाट विधिवत् अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँलाई निवर्तमान अध्यक्ष लोकेन्द्रबहादुर चन्दले खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री