काठमाडौँ ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी पनि गर्नुभयो ।
उहाँले संसद्लाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रश्न गर्नुभयो, “संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्ने ?”
प्रधानमन्त्री ओलीले गायब बनाइएको सो विधेयकको कार्यसूची कहाँ गयो भनेर बिहीबारबाट हुने संसद्मा आफूहरुले खोज्नुपर्ने बताउँदै बलजफ्ती गरेर अघि नबढ्न आग्रह गर्नुभयो । संसद्मा गत असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ ।
अविश्वास प्रस्तावलाई विपक्षीको ‘ईश्र्या प्रस्ताव र चिन्ता प्रस्ताव’ को सङ्ज्ञा दिँदै उहाँले सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु हो भन्नुभयो ।
उहाँले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली आउँदा सहभागीले ‘आइ एम विथ केपी ओली’ को प्ले कार्ड प्रदर्शन गरेका थिए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष विष्णु रिमालले सरकारको नीति कार्यक्रम र बजेटमा मजदुरका मागको पर्याप्त सम्बोधन गरेको बताउनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका खिलानाथ दाहालले संविधानमा श्रम आयोगको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
पेसागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले श्रमिक आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा पुरयाउन जिफन्टले भूमिका निर्वाह गरेको बताउनुभयो ।
पुरस्कार प्रदान
कार्यक्रममा महासङ्घका अध्यक्ष रिमालले माधव न्यौपाने स्मृति अवार्ड सुनसरीका ओमप्रकाश महतो र नुरु वाङ्छु शेर्पा स्मृति अवार्ड दोलखाका लालबहादुर रिजाललाई प्रदान गर्नुभयो । ती पुरस्कारको राशि रु १० हजार छ ।
यस्तै गङ्गादेवी छात्रवृत्ति पुरस्कार तक्ष्यशिला एकेडेमीका छात्रा नमिता राई र गङ्गादेवी स्वास्थ्य उपचार सहायता बालकृष्ण महर्जनलाई प्रदान गरियो ।
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालका शिक्षामन्त्रीसँग बेलायतका राजदूतको भेट, आपसी सहयोगबारे छलफल
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष