
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल तारा अम्बर गुरुङको निधनले आफूलाई स्तब्ध तुल्याएको जनाउनुभएको छ ।
गुरुङको निधनप्रति गहिरो दुःख र श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले शोकको घडीमा उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीय सङ्गीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय सङ्गीत र लोक भाकामा मिलाएर सङ्गीत सिर्जनालाई नयाँ आयाम दिनुभएको उल्लेख गर्दै उहाँले सामूहिक बाजा प्रयोगमार्फत नेपाली सुगम सङ्गीतलाई स्तरीय र समृद्ध बनाउन उहाँले गर्नुभएको योगदान नेपाली सङ्गीतको क्षेत्रमा मानकका रुपमा स्थापित भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ – गुरुङ नेपालको साङ्गीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ । आफ्ना सिर्जनाबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुण मुलुकले सदा स्मरण गरिरहने छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गायक तथा सङ्गीतकार स्वर्गीय अम्बर गुरुङ नेपाली गीत–सङ्गीत आकाशका एक उज्ज्वल तारा हुनुहुन्थ्यो र यस क्षेत्रको श्रीवृद्धिमा उहाँको महत्वपूर्ण योगदान पुरयाउनुभएको बताउनुभएको छ ।
सभापति देउवाले आज एक शोक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय गानका सङ्गीतकारसमेत रहनुभएका गुरुङको निधनबाट राष्ट्रले हजाराँै गीतका एक वरिष्ठ सङ्गीतकार गुमाएको, गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको र यो क्षेत्र अभिभावकविहीन बन्न पुगेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा सभापति देउवाले स्व गुरुङले नेपाली गीत–सङ्गीतका क्षेत्रमा पुरयाउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँँप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
विज्ञप्तिमा सभापति देउवाले भन्नुभएको छ – “उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।”
यसैबीच, स्व गुरुङको निधनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै शोक विज्ञप्ति प्रकाशित गरी नेपाली गीत–सङ्गीतका उज्ज्वल नक्षत्र एवम् अथक साधक, राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको निधनले आफूलाई दुःखी र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमा कालजयी गीत–सङ्गीतका सिर्जनाका कारण यसका पारखीमाझ गुरुङ सधैँ अमर रहनुहुनेछ । उहाँको निधनले नेपाली गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँले स्व गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
वरिष्ठ गायक तथा सङ्गीतकार गुरुङको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित