राष्ट्रपतिले लगाइदिए प्रधानमन्त्रीलाई टीका

1445507967577_RS-KTM-Tika president-9

राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विजया दशमीको टीका र जमरा प्रदान गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ५ कात्तिक । विजयादशमीको उपलक्ष्यमा आज राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा टीका र जमरा प्रदान गरेका छन् ।

राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घलेलगायतले पनि टीका लगाए ।

पूर्वप्रधानमन्त्रीहरुद्वारा टीका ग्रहण

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुराम भट्टराईले पनि विजयादशमीको अवसरमा टीका लगाएका छन् ।

नेता देउवाले ससुरा विनोद शमसेर जवरा र सासू प्रतिभा राणासँग, पूर्वप्रम खनालले मातापिता नभएकाले श्रीमती रवीलक्ष्मी चित्रकारलाई र श्रीमतीको हातबाट आफूले टीका लगाएको बताए ।  पूर्वप्रधानमन्त्री भट्टराईले ८५ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए ।

पिताबाट प्रधानमन्त्री ओलीलाई टीका

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजयादशमीका अवसरमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना ८५ वर्षीय बुबा मोहनप्रसाद ओलीबाट विहान १०ः५५ बजेको शुभसाइतमा टीका लगाए । ओलीले आफ्नी बुहारी एवम् प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यलाई पनि टीका लगाइदिए ।

प्रधानमन्त्री ओलीले आफ्नी धर्मपत्नी राधिका तथा परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएको प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री