काठमाडौँ, १४ असोज । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् जोडिने भएको छ ।
गैरआवासीय नेपाली र सानिमा माई जलविद्युत् कम्पनीले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना शुक्रबार बिहानदेखि औपचारिक रुपमा केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।
प्राधिकरणले इलामको गोदाकदेखि झापाको दमकसम्म निर्माण भएको १३२ किलोभोल्ट क्षमताको प्रसारण लाइनमा आज विद्युत् प्रवाहको परीक्षण गरिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेशराज काफ्लेलगायतको टोलीले आज परीक्षण प्रवाहको निरीक्षण गरेको थियो ।
इलामको चिसापानीमा निर्मित उक्त आयोजनाको बिजुली काबेली कोरिडोरअन्तर्गत गोदाकदेखि दमकसम्म निर्माण भएको १३२ केभिए क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
प्रसारण लाइन निर्माण गर्ने सम्झौता प्राधिकरण र आयोजनाबीच भएको थियो । तर निर्धारित समयमा प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या पैदा भएको थियो । झापामा केही टावर निर्माण गर्न लामो समय लागेका कारण विद्युत् जोड्न समय लागेको हो ।
गत माघमै निर्माण भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतमा विद्युत् उत्पादन गर्न नसकिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए । ‘‘प्रसारण लाइन पूर्णरुपमा परीक्षण गरिसकिएको छ, आज अबेरसम्म वा भोलि(शुक्रबार) बिहानसम्म नेपालको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् थप हुनेछ’’ श्रेष्ठले भने ।
गत माघदेखि गोदाकमा रहेको प्राधिकरणको सवस्टेसनमा चार मेगावाट मात्रै जोडिए पनि प्रसारण लाइन निर्माण सम्पन्न भएपछि पूरै विद्युत् जोड्न सकिएको हो । रु तीन अर्ब १० करोडको लागतमा आयोजना निर्माण पूरा भएको सो आयोजना निजी क्षेत्रले निर्माण गरेको ठूला आयोजनामध्ये एक हो ।
माई हाइड्रोकै सहायक कम्पनीका रुपमा माई क्यासकेड आयोजनाको समेत निर्माण पूरा भइसकेको छ । सात मेगावाट क्षमताको उक्त आयोजनाबाट अब करिब २० दिनभित्र परीक्षण उत्पादन सुरु हुनेछ । सो आयोजनाको लागत रु एक अर्ब २५ करोड छ ।
माई क्यासकेडको समेत बिजुली प्रसारण लाइनमा जोड्न सकिए केन्द्रीय प्रसारण लाइनमा २९ मेगावाट विद्युत् जोडिने छ । मुलुक चरम ऊर्जा सङ्कटमा रहेको बेला नदी प्रवाहमा आधारित भए पनि ती आयोजनाले केही मात्रामा भए पनि राहत प्रदान गर्ने विश्वास लिइएको श्रेष्ठको भनाइ छ ।
नेपाल अघोषित नाकाबन्दीको मारमा परिरहेको बेला सानै भए पनि आफूहरूले सहयोग गरेको उल्लेख गर्दै श्रेष्ठले अन्य आयोजना पनि समयमै पूरा गर्नुपर्ने र नेपाललाई स्वाधीन राष्ट्रका रुपमा संस्थागत गर्नुपर्ने बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य