
काठमाडौँ, १३ असोज । नेपालमा उडान भर्दै आएका अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीहरुले नेपालमा इन्धन भर्न नपाएपछि विदेशबाट भरेर पनि आफ्ना उडानलाई नियमित गरेका छन् ।
हाल नेपालमा २७ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले दैनिक ३५ उडान र अवतरण गरिरहेका छन् । यसमध्ये चाइना साउदर्न विमानसेवाले मात्र इन्धन आपूर्ति नभएको भनी आफ्ना उडान रद्द गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
मङ्गलबार दिउँसो १२ बजेदेखि नेपाल आयल निगमले इन्धन अभावको कारण देखाउँदै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई आपूर्ति गरेको छैन । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका कारण विगत सात दिनदेखि पेट्रोलियम पदार्थको आपूर्ति हुन नसकेको हो ।
नेपालमा इन्धन भर्न नपाएपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले आ–आफ्नै मुलुकबाट भरेर आउने र फर्किने बेला चीन, भारत र बङ्गलादेशका नजिकका विमानस्थलमा इन्धन भरेर जाने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यद्यपि निगमले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आपत्कालीन अवस्थामा भने इन्धन भर्न दिने जनाएको छ ।
ती कम्पनीहरुले हालसम्म कुनै उडान कटौती नगरेको बरु मर्ज अर्थात् साना विमानका दुई उडानलाई ठूलो एक विमानमा गाभेर हवाई सेवालाई निरन्तरता दिएको कार्यालयका निर्देशक भोला गुरागाइंले राससलाई जानकारी दिए ।
विदेशमा इन्धन भर्दा विमान सेवाका लागि सञ्चालन खर्च केही महँगो हुने भए पनि हाललाई हवाई टिकट मूल्य भने यथावत् राखिएको ती कम्पनीले बताएका छन् । ती विमान कम्पनीका अनुसार इन्धन भर्नका लागि मात्र विमान अवतरण गर्दा लाग्ने विमान पार्किङ शुल्क, विमान उडान, अवतरणमा थप खर्च बढ्ने र पूर्ण मात्रामा हवाई इन्धन भर्नुपर्दा आवश्यक मात्रामा कार्गाे बोक्न नपाउनाले खर्च बढ्ने गरेको छ ।
आन्तरिक विमानले भने नियमित रुपमा इन्धन पाइरहेको र उडान पनि नियमित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमका डिपो प्रमुख प्रदीप यादवले बताए । “आन्तरिक उडानका लागि हामीसँग दसैँसम्म पुग्ने इन्धन छ” उनले भने ।
यसअघि विमानस्थलस्थित डिपोले दैनिक अन्तर्राष्ट्रिय उडानका लागि दुई लाख ५० हजार लिटर र आन्तरिक उडानका लागि दैनिक ५० हजार लिटर इन्धन वितरण गर्दै आएको थियो ।
अघोषित नाकाबन्दीका कारण निगमले अन्तर्राष्ट्रिय उडानलाई इन्धन नदिएपछि अब निगमले आन्तरिक उडानका लागि मात्र इन्धन वितरण गर्दै आएको छ । निगमले यसबाहेक तत्कालको समस्या समाधानका लागि बङ्गलादेशबाट समेत हवाई मार्ग हुंदै पेट्रोलियम पदार्थ आयात गर्ने जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आधा दर्जनभन्दा बढी निजी हवाई कम्पनीले दैनिक दुई सयभन्दा बढी आन्तरिक उडान र अवतरण गर्दै आएको कार्यालयको तथ्याङ्क छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा