काठमाडौँ, ११ असोज । नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराई मधेसमा आन्दोलनरत दललाई अविलम्ब वार्ताको टेबुलमा आएर समाधान खोजी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा नेता नेपालले स्पष्ट नभएका कुरामा थप स्पष्ट हुन, सरकार समेत परिवर्तन हुन लागेको यस घडीमा राष्ट्र निर्माणको अभियानमा सहभागी हुन र मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्ने कुरामा योगदान गर्न पनि आग्रह गरे ।
उनले भने, “मुलुकले लोकतान्त्रिक र प्रगतिशील संविधान पाएको छ, अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ । संविधानसभाको निर्वाचन र संविधान निर्माणको अन्तिम प्रक्रियामा छुटेका साथीहरु राष्ट्र निर्माणको यात्रामा जहाँबाट जतिखेर सकिन्छ, त्यतिखेर नै सामेल हुनुपर्छ । आन्दोलन सञ्चालन गर्ने दलले त्यस्ता अवाञ्छित गतिविधि तुरुन्त बन्द गर्नुपर्छ वा बन्द गर्न सक्दैनन् भने आफूलाई त्यसबाट अलग राख्नुपर्छ ।” नयाँ संविधाले कुनै पनि अर्थमा मधेसका जनतामाथि भेदभाव नभएको उनले बताए ।
नेता नेपालले एमालेका कुनै पनि कार्यकर्ता मधेसमा भइरहेको हिंसात्मक गतिविधिमा संलग्न नभएको र भएको पाइएमा कारबाही हुने जनाउँदै मुलुकलाई नै सङ्कटमा धकेल्ने गरी नाकाबन्दी गर्ने जस्ता कुराले कसैको पनि भलो नगर्ने बताउनुभयो । उनले चाडपर्वको सम्मुखमा आपूर्ति व्यवस्था असहज हुनुले नेपालीमा कष्ट थपिएको उल्लेख गर्दै भन्नुभयो, “दुवानी क्षेत्रमा देखिएको अवरोध अविलम्ब हटाउन र निर्वाध आवागमनको व्यवस्था सञ्चालन गर्न सार्वभौम मुलुकको पारवहन अधिकार दृष्टिबाट पनि म भारत सरकारलगायत सम्बद्ध सबैमा आग्रह गर्दछु ।”
नेता नेपालले मुलुकका अङ्गीकृत नागरिकता लिने बित्तिकै उसले प्रमुख विशिष्ट पदमा जान नपाउने आममान्यता रहेकाले त्यसका नाममा मधेसका व्यक्तिले मन्त्री, सांसद् बन्न पाउँदैनन् भनेर भ्रम फिजाइएकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान बनाउँदा कुनै पनि मुलुकले असहमति राख्नुपर्ने अवस्था नरहेको भन्दै नेपालले आफ्नो स्वाभिमानको झण्डा फहराउन पाउनुपर्ने भन्दै तराई मधेसमा जनताका बीच संविधानमा भएका अधिकारबारे स्पष्ट पार्न कार्यकर्ता परिचालन गर्ने नीति लिइएपनि सकेसम्म वार्ता होस् र मुठभेड नहोस् भनेर धैर्य गरेको बताए ।
एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले संविधान जारी भएपछि पार्टीले मङ्गलबार काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको जानकारी दिए ।
पार्टीका उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीलगायत नेता उपस्थिति थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा