ट्वाइलेट र माेबाइल निषेध नगरिएकाे भए हुन्नथ्याे एनअारएन युकेमा सहमति

विश्वासदीप तिगेला

विश्वासदीप तिगेला

गैर आवासीय नेपाली संघ बेलायतको छैटाैं राष्ट्रिय महाधिवेशन केही महत्वपूर्ण निर्णय र सहमतिको नेतृत्व घोषणा गर्दै सुसम्पन्न भएको छ । एनआरएनको शुरुवात भूमि, अर्थात विश्वभरका एनआरएनमध्ये धेरैभन्दा धेरै महत्वपूर्ण काम गर्दै आएको एनआरएन बेलायत अब नयाँ युगमा प्रवेश गरेको छ ।
विगत केही वर्षदेखि विवादित देखिएको एनआरएन युकेको साख अब फर्किएको छ । फर्काउनु पर्दछ । हिजोका दिनमा जे जस्तो अनुभव लियाैं त्यसबाट पाठ सिकेर हामी अब अगाडि बढ्नु पर्दछ । नकारात्मक पक्षलाई मात्र कोट्याउँदै हिँडने हो भने जुनसुकै संस्था र ब्यक्तिको पनि धेरै नराम्रा पक्षहरु बाहिर आउने गर्दछ । सायद, केही अनलाइन मिडिया र पत्रकारहरुको भूमिकाकै कारण एनआरएन युके बढी विवादित देखिएको भन्ने धेरैको तर्क रहेपनि यथार्थमा एनआरएन युकेको सदस्यता सम्बन्धि ब्यवस्था, निर्वाचन आचारसंहिता, आर्थिक नियमावली, सांगठानिक ढाँचा र विधानकै कमजोरीको कारण नकारात्मक सन्देश गएका हुन् । सामान्य फिल्ममा नायक, नायिका, भिलेन र रोचकता थप्ने हाँस्य कलाकार समाहित गरिएको हुन्छ । हो त्यस्तै समाजमा केही रोचक ब्यक्तिहरु पनि रहने गर्दछन् । तिनै रोचक ब्यक्तिहरुको प्रहशनलाई सायद एनआरएनको छवि बुझेर गल्ति पो भइरहेको छ कि ? किन ती रोचक ब्यक्तिहरु नै स्टेज र मिडियामा सधै देखिन्छन् ? उनीहरुलाई आरोप लगाउनुभन्दा हामी आफैं प्रकृयागत ढंगबाट कति ब्यवस्थित छौँ त्यसको बारेमा लेखाजोखा गर्नु बुद्धिमता ठहर्दछ ।
संस्था संचालनको सम्बन्धमा हामीबीच अभ्यासमा रहेका क्याडेट वेस र मासवेस ढाँचा नै हुन् । सानो तहदेखि सिकाउँदै सिकाउँदै योग्य मध्येको योग्यलाई मुख्य नेतृत्व सुम्पनु क्याडेट वेस तरिका हो भने समाजमा खुल्ला रुपमा जो कसैले जनतालाई प्रभाव पारेर नेतृत्व गर्नुलाई मास वेस मान्न सकिन्छ । ठीक युके एनआरएनको सवालमा पनि मासवेस र त्यसमा पनि चुनावी प्रकृया । चुनाव आफैंमा प्रजातान्त्रिक प्रकृयाको सानो अंग मात्र हो । चुनाव प्रजातन्त्रको पूर्ण पर्यायवाची होइन । सक्षम ब्यक्तिलाई जनताले चुन्छन भन्ने मान्यता राखिन्छ तर चुनाव बढी प्राविधिक पनि हो । धेरै सदस्य बनाएकाले चुनाव जित्ने नजिर छ । त्यसै कारणले एनआरएन युकेमा हामीले केही वेथिति ब्यहोर्न बाध्य बन्यौं ।
गत १३ सेप्टेम्बर २०१५ का दिन प्लमस्टिड लण्डनमा सम्पन्न छैठौं महाधिवेशनमा केही सहभागीहरुबाट बहूपदिय प्रणालीमा गई गरिएको सहमतिको विरोध भए । जसले विरोध गरे उनीहरु सच्चा एनआरएन हुन् किनकी उनीहरुले एनआरएन युकेलाई सामान्य अवस्थामा चलिरहेको हिसाबबाट बुझ्नु भएको रहेछ अर्थात् सामान्य संचालनमा रहोस् भन्ने शुभेच्छा ब्यक्त गर्नुभएको हो । सवाल के हो भने युकेको मौसम बदलिए जस्तै एनआरएन युके पनि छिनछिनमा बदलिइरहेको अवस्था थियो । गत ५ सेप्टेम्बर २०१५ का दिन तोकिएको उम्मेदवारहरु बीचको बहस (ककस) कार्यसमिति बीच चरम विवादको कारण सम्भव भएन र तुरुन्त रद्ध भयो । आआफ्ना आक्रोस लिएर केही समूह जस्तोसुकै मुल्य चुकाउन पनि तल्लिन थियो । घटना परिघटना हेर्न केही वर्ग आतुर थिए र आगोमा तेल थप्दैथिए । वातावरण सेकेण्ड सेकेण्डमा बदलिरहेको थियो । कसैले कसैलाई विश्वास गर्ने वातावरण थिएन ।
यस पटकको निर्वाचन समिति सम्भवत इतिहासकै सबैभन्दा शक्तिशाली थियो । निर्वाचन समिति कहीं कतै झुकेन र निडरतापूर्वक अघि बढिरहेको थियो । जतिसुकै अवरोध आएपनि निर्वाचन समितिले चुनाव गराई छाड्थ्यो तर त्यहाँ अर्को परिदृष्य मुठभेड हुने पक्का थियो । युकेमा सार्वजनिक अपराधलाई सबैभन्दा ठूलो अपराधको रुपमा लिइन्छ । त्यो सार्वजनिक ठाउँमा सम्पन्न गरिने मतदान केन्द्रको मुठभेड सार्वजनिक अपराधको रुपमा लिइने भएकोले केही एनआरएनका सदस्यहरु यहाँको आवासीय भिसालाई रद्ध गरेर नेपाल फर्कनु पर्ने आदि इत्यादिसम्म हुनसक्दथ्यो । त्यस्तो वातावरण बनाउन सक्ने केही अप्रत्यक्ष कारणहरु पनि थिए । त्यसैले एनआरएन युके असाधारण अवस्थामा गुज्रिरहेको थियो । केही केही ब्यवस्था गर्न कमजोरी गरिएको छर्लंग देखिन्थ्यो, ब्यवस्था गर्न र लागु गराउन प्रकृयामा जानुपर्ने थियो । त्यसको लागि हामीसंग समय थिएन र सम्भव भएन । त्यसैले नहुनु मामा भन्दा कानो मामा हुनु निको भने झैं एकपटक उम्मेदवारहरुलाई एकै ठाउँ राखाैैैं भनेर अग्रजहरुबाट अभिभारा पूरा गर्ने जमर्को भयो ।
म स्वयं अध्यक्षको प्रत्याशी ककस बहसपछि थप बाँकी योजनामा अघि बढ्ने सोचमा थिएँ । तत्कालै ककस रद्ध भयो र उम्मेदवारहरु एकपटक छलफल गर्न कोठाभित्र बस्ने सुरसार हुँदै गर्दा उम्मेदवार बाहेक लेख्ने एक ब्यक्ति राख्न अग्रजहरुबाट आग्रह आयो । मैले ‘हामी आफैं लेख्छाैं वहाँ पर्दैन’ भनेपछि हामी उम्मेदवार मात्र बस्याैं । उमेरको हिसाबले सबैभन्दा सिनियर अध्यक्षका उम्मेदवारले टप्लक्क कुरा शुरु गर्नु भयो । प्रस्तावमा बेइमान र षडयन्त्र छैन भन्ने पक्का भएपछि सबैलाई खुल्न सजिलो भयो । सबैको सहमति हुन्छ भने प्रस्तावित आआफ्नो विकल्पसहित प्रस्तुत भए । अध्यक्षमा मिल्यो, उपाध्यक्ष निक्कै गाह्रो भयो तब एनआरएन विधानमा विभागको ब्यवस्था र बहुपद सिर्जना गरी पदस्थापन गर्ने सबैको सहमति भयो । कसैलाई भनेजस्तै भयो, कसैलाई भएन । सहमतिको संवाद चलिरहँदा मोबाइल प्रयोग गर्न बन्देज, शौचालय जान र बाहिर जान बन्देज गर्याैं । अलिबढी मैले जबरजस्त गरें सायद । सबैको सहमति लेखिसकेपछि हस्ताक्षर चार कुनामै गराए पछि मात्र शौचालय जान, बाहिर जाने खुल्ला गर्याैं । महाधिवेशनसम्म कसैले पनि सोसल मिडियामा केही पनि टिप्पणी नलेख्ने पनि सहमति गर्याैं । तत्कालै संरक्षकहरुसंग कुरा राख्याैं । सहमति गरेको कुरा सुन्नु हुँदा वहाँहरु खुसी हुनुभयो । तब तत्कालै कार्यसमितिलाई बैठकस्थलमा बोलाएर तात्तातै अनुमोदन गराइ हाल्यौं ।
सहमतिको लागि बैठक बसिरहेको बेला मोबाइल प्रयोग गर्न दिएको भए, बीचबीचमा शौचालय जान दिएको भए, तत्कालै कार्यसमितिबाट अनुमोदन नगराइएको भए त्यो सहमति केहीबेरमै भत्किने सम्भावना प्रचुर रहन्थ्यो ।
सहमतिको लागि मतदाता संख्याको प्रभाव, अग्रजहरुको आग्रह मात्र होइन केही वर्ष अघिदेखि ब्यहोर्दै आएको बदनामलाई किन सुधार नगर्ने ? एनआरएन केन्द्रको पनि मान्यता के भने सहमति हुनु शतप्रतिशत जित हो । चुनाव हुनु बाँडिनु हो । विश्व सम्मेलनमा चुनावै भएपनि विजयी घोषित हुन्छ तर प्राप्त मत सहजै सार्वजानिक गरिंदैन । त्यसको प्रभाव हामीसंग पनि थियो । म स्वयं पनि दुई दुई पटक विश्व सम्मेलनमा सहभागी भई नीति निर्माणको सम्बन्धमा सरिक भएको अनुभव र अन्य साथीहरुको अनुभवको कारण अहिलेको असाधारण अवस्थालाई विभाजित नभई अवतरण गराए लगतै आवश्यक नियम कानुन बनाई अगाडि बढनु नै सबैभन्दा महत्वपूर्ण ठान्याैं । तब ब्यक्तिभन्दा पनि विधिले चल्ने संस्कार बसाल्न सक्ने सम्भावना भएकोले पनि सहमति गर्याैं ।
सायद कमैले सोचेका थिए सहमति हुन्छ भन्ने । तर हामीले गर्याैं । सहमति मात्र गरेनाैं बेइमानी गर्न सक्ने कुनै पनि ठाँउ बाँकी राखेनौं । आगोमा तेल थप्नेहरु केहीले अझै प्रयास गरे यद्यपि सहमति दरिलो रुपबाट कस्सिएको थियो । त्यसलाई फुकाउन घातक मात्र होइन असम्भव थियो । चुनावी अभियान चलिरहेकै बेला समयसमयमा हावाहुरी चलिरहेको अवस्थाले सबैलाई सशंकित बनाएकै थियो । हावाहुरी चल्नु पनि अस्वाभाविक थिएन किनकी अघिल्लो कार्यकाल एकएक वर्षको लागि बाँडिएको थियो । आपसी तिक्तताहरु बाँडिएकै थिए, झाँगिएकै थिए ।
युकेमा यावत घट्नाहरुको कारक विशेषतः युकेमा रहेका नेपालीहरु स्थानीय समुदायबाट सम्मानित छन्, आवासीय सुविधा गौरवपूर्ण छ । युकेमा रहेकाहरुको सुतिखेति मजबुत हुनु । आफ्ना सन्तानहरु सन्तोषजनक रुपबाट अध्ययन अध्यापन गर्दै गरेको हुनु । तब मानिसलाई सबै कुराको पूर्तिपछि समाजमा परिचय र प्रतिष्ठा चाहिने भएकोले पनि हुनुपर्दछ सायद । एनआरएन सिंगो संस्था आफैं नेपाल सरकारको प्रवास अंगको रुपमा विकास हुनु । एनआरएन युकेले विगतमा लोभलाग्दा र समाजको मन जित्न सक्ने काम गरेकाले पनि हुनुपर्दछ धेरैभन्दा धेरै नेपालीहरु एनआरएनप्रति आकर्षित बनेको । युकेका नेपाली समाज एक हिसाबले अति उर्वरभूमि लाग्दछ भने नाच्न नजान्दा आँगन टेढो भने झै यहीं समाज सबैभन्दा अप्ठयारो पनि छ । युकेमा भित्रिएका नेपालीहरु जोकसै आफ्नो लागि आफैं ब्यवस्था गर्न सक्दछ । कसैलाई कसैको अनिवार्य आवश्यकता पर्दैन । त्यसको मुख्य कारण हो । दुःख गरिखाने नेपालीहरुको संस्कार अनुसार सबैले कमाएकै अवस्था हुनु । सम्पर्क भाषाको सवालमा काममा गएपनि, जहीं गएपनि भाषा दिनानुदिन सिक्दै गएको अवस्था । अझ धेरैभन्दा धेरै भाषा त नानीहरुले अभिभावकलाई सिकाइरहेको अवस्था हो । कमाई र भाषा अनि नियम कानुन सामान्य बुझेपछि त जो कसैलाई ढुक्क हुने नै भयो । अन्य मुलुकमा धनी, गरिब, दुःखी र सुखी रहने भएकोले स्थिति सहज र सजिलो छ ।
एउटा रमाइलो घट्ना के रह्यो भने एनआरएन कार्यसमितिले सदस्यता फाराम र शुल्क जति पनि हातैमा लिएर ल्याउन सक्ने निर्णय गरेकोमा मलाई पनि सही निर्णय हो भन्ने लागेको थियो । किनकी हुलाकबाट मात्र पठाएको सदस्यता फाराम लिने र सदस्य बन्न चाहनेको आफ्नै चेक वा अनलाइन एकाउन्टबाट शुल्क ट्रान्सफर गरेको मात्र मान्य हुने नियमले अब एनआरएन युके सदस्यको हिसाबले पनि थोरै भएको र कोष पनि नभएको हुने भो भन्ने मलाई पनि चिन्ता थियो र उक्त कार्यसमितिको निर्णयलाई २१ अगष्ट २०१५ को निर्वाचन समितिको जानकारी बैठकमा समर्थन गरिरहेको थिएँ । अप्रत्यासी एक जनाको उम्मेदवारी टेक्स्ट मोबाइलमा आयो । उक्त खबर दाँयाबाँया सुनाउने काम भयो । तब धेरै कुराहरु खुले । त्यो पूरै बैठक आधा घण्टामा सिद्धिन सक्थ्यो तर मध्यरातसम्म कुर्नुपर्याे । परिस्थिति अनुसार ब्यक्ति र ब्यक्तिको कार्यको महत्व हुने गर्दछ । उक्त बैठकमा निर्वाचन समितिका सदस्य डा. चन्द्र लक्सम्बाले ‘अघिल्लो दिन कार्यसमितिले गरेको निर्णय नउल्टयाउने हो भने म मान्दिनँ’ भनेर जुन प्रकारले अडान राख्नु भयो त्यसैको प्रतिफल हो अहिलेको सफल एनआरएन युके नत्र अहिलेको परिदृष्य बेग्लै हुनेथियो सायद ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री