
नेपालको संविधान २०७२ जारी भएको खुशीयालीमा उद्योग वाणिज्य संघ र गैसस महासंघ खोटाङले निकालेको स्वागत रयालीमा सहभागी महिला । तस्बिर ः केदार मगर खोटाङ
काठमाडौँ, ४ असोज । नयाँ संविधान, २०७२ घोषणा भएको अवसरमा आज पनि देशभरि खुसियाली मनाइँदै गरेका समाचार प्राप्त भएका छन् ।
जिरी (दोलखा) ः दोलखाको दोस्रो ठूलो बजार जिरीमा नेपालको संविधान, २०७२ जारी भएको खुसियालीमा ¥याली निकालिएको छ । रयालीमा राजनीतिक दल, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त अवसरमा विविध प्रकारका स्थानीय झाँकीसमेत प्रदर्शन गरिएका थिए ।
दाङ ः नेपालको संविधान, २०७२ जारी भएकामा खुसी व्यक्त गर्दै दाङमा स्वागतार्थ झाँकी निकालिएको छ । जिल्लाको घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुवाङ, गढवा, हापुरे, बिजौरी, रामपुर, हर्नक, मानपुर, सिसनियालगायतका ठाउँमा नयाँ संविधान जारी गरिएकामा उत्सव रयाली एवम् सभाको आयोजना गरीएको छ ।
म्याग्दी ः नेपालको संविधान, २०७२ जारी भएकामा खुसी व्यक्त गर्दै स्थानीय शान्ति समितिले आज सदरमुकाम बेनीमा शान्ति रयाली निकालेको छ । समितिले प्रभातफेरीको समेत आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दमौली ः नयाँ संविधान जारी भएको खुसियालीमा आज तनहुँको दमौलीमा सद्भाव रयाली निकालिएको छ । हात हातमा राष्ट्रिय झन्डा लिएर निस्केको रयालीले दमौली बजारको परिक्रमा गरेको थियो । उक्त अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
चितवन ः चितवन क्षेत्र नं ३ का सभासद् कृष्णभक्त पोख्रेलले नयाँ संविधान जारी भएको खुसियालीमा आज चियापान समारोहको आयोजना गर्नुभएको छ । भरतपुरको दीपेन्द्र चोकस्थित आफ्नो निवासमा चियापान समारोह गर्नु भएको हो । सो अवसरमा उहाँले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउन आफूले पाएको जिम्मेवारी पूरा गर्न सकेकामा खुसी साटासाट गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । समारोहमा जिल्लाका राजनीतिक दलका प्रमुखहरु, सुरक्षा र स्थानीय निकायका प्रमुखहरुसहित स्थानीय नेता, कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।
चौतारा ः नयाँ संविधान जारी गरिएपछि आज सिन्धुपाल्चोकमा खुसियालीका साथ रयाली निकालिएको छ । रयालीमा राजनीतिक दल, कर्मचारी, पत्रकार, अधिकारकर्मी, नागरिक समाज, सर्वसाधारणको उपस्थिति रहेको थियो । चौताराको टुँडिखेलबाट निकालिएको रयालीले बजार परिक्रमा गरी चियापान कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा सभासद् अग्निप्रसाद सापकोटा, पूर्व सांसद सुभास कर्माचार्यको समेत उपस्थिति रहेको थियो ।
रामपुर (पाल्पा) ः नयाँ संविधान जारी गरिएको खुसियालीमा पाल्पाको रामपुरमा आज रयाली निकालिएको छ । सदरमुकाम तानसेन, छहरा, अर्गली, बाकामलाङ्गलगायतका ठाउँमा समेत विजय उत्सव मनाइएको छ । विजय रयालीमा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, विद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको थियो ।
भद्रपुर (झापा) ः नेपाल बार एसोसिएसन झापा शाखाले नेपालको संविधान, २०७२ को स्वागत गरेको छ । अध्यक्ष गजेन्द्र आचार्य र सचिव यज्ञप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी नयाँ संविधानको स्वागत गरेका हुन् ।
यसैगरी नयाँ संविधानको स्वागतमा तीन प्रमुख राजनीतिक दलले संयुक्त रुपमा जिल्लाको चन्दगढीस्थित वीरेन्द्र उच्च माविमा एक समारोहको आयोजना गरेका छन् । राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मी, महिला, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि राष्ट्रिय झन्डा बोकेर कार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा सभासद् नरेश खरेल, अमृतलाल राजवंशी र मोहन टुडुको उपस्थिति रहेको थियो ।
फलेवास (पर्वत) ः नयाँ संविधान जारी भएको खुसियालीमा पर्वतको फलेवासका गाउँ–गाउँमा सर्वसाधारणले रातभर भजनकीर्तन गरेका छन् । जिल्लाको पाङ, भोर्लेलगायतका गाउँमा भजनकीर्तन गरिएको हो । यस्तै दक्षिणी भेगमा पर्ने त्रिवेणीमा मोटरसाइकल रयाली निकालिएको छ । जिल्लाको रानीपानी, वहाकी, उरामपोखरा गाविसमा रयाली निकालिएको छ । ठूलीपोखरीमा आज चियापान कार्यक्रम आयोजना गरिएको छ ।
दोलखा ः नयाँ संविधान घोषणा भएपछि दोलखाको बोच गाविसमा स्वागत रयाली निकालेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड तथा राष्ट्रिय झन्डा बोकेर उनीहरुले नयाँ संविधानको स्वागत गरेका हुन् । यस्तै सदरमुकाम चरिकोटमा समेत विजय रयाली निकालिएको छ ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा