काठमाडौँ, १४ भदौ । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउन दिएको समयसीमाको पहिलो दिन तीनवटा साना दलले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
संविधानसभा सचिवालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र समाजवादी जनता पार्टीले फरक मत दर्ता गराएका छन् ।
संविधानसभाले यही भदौ १९ गतेसम्म संविधानको परिमार्जित मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउन सभासद् तथा राजनीतिक दललाई समयसीमा प्रदान गरेको छ ।
राप्रपाले धर्म निरपेक्षता हटाएर सनातन धर्म उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गरेको छ । राप्रपा संसदीय दलका नेता दीपक बोहोराले नेपाल सनातन धर्म अँगालेको मुलुक भएकाले परम्परागत मूल्य र मान्यतालाई अवलम्बन गर्नुपर्ने नागरिकको सुझाव आएकाले त्यही आधारमा संशोधन प्रस्ताव दर्ता गरिएको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)ले नेपालको राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्ने, राष्ट्रिय जनावर गैँडा राख्नुपर्ने, नागरिकता प्रदान गर्ने प्रावधानमा आमा र बाबु भनेको स्थानमा आमा बाबु उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।
सो पार्टीका सभासद्द्वय शिवलाल थापा र सीमाकुमारी विकले आज संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो । समाजवादी जनता पार्टीले धर्म निरपेक्षता हटाउनुपर्ने, भाषा, धर्म, लिपिलगायत विषयमा प्रस्ट अवधारणा आउनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएको छ ।
सो पार्टीका सभासद् प्रेमबहादुर सिंहले आजै संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो । संविधानसभा सचिवालयले प्रदान गरेको समयसीमाभन्दा पछि आएका संशोधन प्रस्ताव नै दर्ता नहुने भएकाले समय छँदै आ–आफ्नो संशोधन प्रस्ताव दर्ता गराउन आग्रह गरेको छ ।
सचिवालयले दल तथा सभासद्ले दर्ता गराउने प्रस्तावलाई मिलाउन थप दुई दिन लाग्ने जनाएको छ । संशोधन प्रस्ताव दर्ता गराउने समय भदौ १९ गतेसम्मका लागि तोकिएको र प्राविधिक विषय मिलाउन थप दुई दिन अर्थात् २० र २१ गतेसम्म लाग्नेछ । सो अवधिपछि संविधानसभामा दफावार छलफल सुरु गर्ने तयारी गरिएको छ ।
यसैबीच संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संशोधन प्रस्ताव दर्ता गर्ने समयसीमा भित्रै प्रमुख दलका शीर्षनेताले सरोकार भएका विभिन्न पक्षसँग छलफल गर्न आग्रह गरेका छन् ।
संविधानसभा सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरोकार भएका पक्षसँग छलफल गरेर उनीहरूको धारणालाई नयाँ संविधानमा अटाउने वातावरण मिलाउन प्रमुख नेताहरूलाई आफूले आग्रह गरिसकेको जानकारी दिए ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा