लण्डन । इंग्ल्याण्ड र वेल्समा अवैध रुपमा काम गरेको प्रमाणित भए छ महिनासम्म कैद हुनसक्ने भएको छ । इंग्ल्याण्ड र वेल्समा लागू हुने गरी ल्याउन लागिएको प्रस्तावित अध्यागमन सम्बन्धी विधेयकमा गैरकानुनी रुपमा काम गरिरहेको पाइएमा छ महिनासम्म कैद हुनसक्ने व्यवस्था छ । सेप्टेम्बरबाट लागू गरिने सो विधेयकमा गैरकानुनी कामदार लगाउने टेक वे रेस्टुरेन्ट तथा अफ लाइसेन्स पसलहरुप्रति पनि कडा प्रावधान राखिएको छ । अवैध कामदार राखेमा टेक वे तथा अफ लाइसेन्सले लाइसेन्स गुमाउन सक्ने छन् ।
यसका साथै अवैध कामदार राख्ने फर्मलाई असीमित जरिवाना र कामदारको ज्याला जफत गरिने पनि विधेयकमा उल्लेख छ । अधिकारीहरुले सो प्रावधान मिनी क्याब ड्राइभर र अपरेटरलाई पनि लागू हुन सक्नेमा छलफल गरिरहेको बीबीसीले जनाएको छ ।अध्यागमन मन्त्री जेम्स ब्रोकनसियरले भने ‘सरकारले अध्यागमन दुरुपयोग रोक्न निरन्तर प्रयास गरिरहने छ ।’ बेलायत सरकारले अध्यागमन नियन्त्रण गर्न श्रृंखलावद्धरुपमा निर्णयहरु गरिरहंदा सो विधेयक पछिल्लो कदम हो ।
अवैध कामदार राख्ने व्यापारिक फर्मले कानुनी रुपमा प्रतिरक्षा गर्ने प्रावधानमा पनि परिवर्तन गरिएको छ । व्यापारिक प्रतिष्ठानहरुले आफूकहाँ काम गर्ने कामदारहरु अवैध रहेको थाहा थिएन भनेर अब उम्कन पाउने छैनन् । उनीहरुले काममा लगाउन पूर्व नै विस्तृतरुपमा कामदारहरुको कानुनी अवस्था परीक्षण गर्नुपर्ने छ । अवैध कामदार राख्ने फर्मलाई दोषी ठहरिएमा बढीमा पाँच वर्ष कैद र जरिवाना गरिने छ । यसअघि दुई वर्ष कैदको व्यवस्था थियो ।
मन्त्री ब्रोकेनसियरले भने, ‘युकेमा अवैध रुपमा बसिरहेकाहरुलाई काम गर्न, घर भाडामा बस्न, बैँक खाता खोल्न र कार चलाउन हामी जुनसुकै हालतमा रोक्ने छौँ ।’
इमिग्रेसन वाचका आल्प मेहमेतले भने, ‘नयाँ व्यवस्थाले यदि बेलायतमा गैरकानुनी रुपले काम गरिरहेको भए कामदार र काममा लगाउने दुवैलाई अदालत पुर्याउने छ ।’ यसै महिनाको शुरुवातमा सरकारले बेलायतमा बसोबासको अधिकार नभएका किरायादारलाई घरधनीले निकाल्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरेको कुरा प्रकाशमा आएको थियो ।
विधेयकमा बेलायतमा बस्ने अधिकार सकिएको अवस्थामा घरधनीले अदालतको आदेश बिनै भाडामा बस्नेलाई निकाल्न सक्ने अधिकार दिइन लागिएको छ । यस्तै भाडामा दिन अगाडि कानुनी हैसियत परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ । यदि वैधानिक हैसियत नभएकालाई पटकपटक भाडा दिइएमा पाँचवर्ष कैद हुनसक्ने छ ।
अध्यागमन अधिकारीहरुले सेप्टेम्बरदेखि भवन निर्माण क्षेत्र, केयर होमहरु र सरसफाई फर्महरुमा अवैध कामदार भएको आशंकामा विस्तृत छड्के जाँच गर्न लागेको बीबीसीले जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा