
प्रधानमन्त्री निवास बालुवाटारमा कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा सोमबार भएका घटनाको समीक्षा बैठकपछि निस्कँदै शिर्ष नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस
धनगढी, ८ भदौ । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा अहिले ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञाको उल्लङ्घन गरी हिँड्नेलाई गोलीसमेत हान्ने अधिकार दिएको स्थानीय प्रशासनले जनाएको छ । टीकापुरमा भएको घटनापछि हिजो दिउँसोबाट सो नगर क्षेत्रमा पनि जारी भएको निषेधाज्ञा आदेश यथावत् छ ।
जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकमा भएको सहमति बमोजिम शान्ति सुरक्षाको स्थिति थप बिग्रन नदिन सदरमुकाम धनगढीमा पनि निषेधाज्ञा लगाउनुपरेको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए ।
टीकापुरमा भएको घटनापछि टीकापुर नगर क्षेत्रका साथै आसपासका मुनुवा, जोशीपुर, नारायणपुर, पथलैया, दुर्गौली, धनसिंहपुर, थापापुर, सानिक भजनी र खैलाड तथा बौनिया गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ । यी क्षेत्रमा सोमबार साँझदेखि नै सेना परिचालन गरिएको छ ।
घटनापछि टीकापुर सुनसान
कैलाली जिल्लाको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि स्थानीयवासीमा सन्त्रास फैलिएको छ ।
कसैले कल्पना नगरेको घटना भएपछि स्थानीयवासीमा कतै पुनः त्यस्तैखालको घटना दोहोरिने हो कि भन्ने त्रास देखिएको स्थानीयवासी गीता जोशीले बताइन् ।
बिहानैदेखि बजार सुनसान छ । सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । जताततै प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति छ ।
स्थानीय प्रशासनले स्थिति थप बिग्रन नदिन टीकापुर र आसपासको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै व्यापक रुपमा प्रहरी र सेना परिचालन गरेको छ । टीकापुर नगरपालिका साथै भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
सोमबारको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ दिउँसोको समयमा समेत निषेधाज्ञा लगाइएको छ । विगत केही दिनदेखि त्यहाँ रातिको समयमा निषेधाज्ञा लगाइएको थियो । यस्तै टीकापुर नगर क्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सोमबार दिउँसोको घटनापछि साँझबाट स्थिति नियन्त्रणमा लिई सामान्य अवस्थामा आइसकेको बताए । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सुरक्षाको थप रणनीति बनाउन जिल्ला सुरक्षा समितिको बैठक डाकिएको उनले जनाए ।
घटनामा परी निधन भएका प्रहरीहरुको शव सम्बन्धित परिवारको जिम्मा लगाउन आवश्यक तयारी गरिएको छ । प्रहरीको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । घटनामा परी घाइते भएका प्रहरीहरुको स्थानीय टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २१ प्रहरी घाइते भएका थिए । घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गरिएको छ । दुई प्रहरीको अवस्था बढी गम्भीर रहेको छ ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया