काठमाडौँ, ३२ साउन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौताको समयावधिमा नसकिने भएको छ ।
सम्झौताअघि नै इटालेली ठेकेदार कम्पनी सिएमसीले काम सकी २०७३ वैशाख १ गते मेलम्चीको पानी काठमाडौँका धारामा खसाल्ने सार्वजनिक गरे पनि ठेकेदार कम्पनीको ढिलासुस्तीले काम नसकिने भएको हो । सम्झौताअनुसार २०७३ असोज मसान्तभित्र सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७ किमि सुरुङ निर्माण सक्नुपर्ने हुन्छ ।
वैशाखको भूकम्पपछि राष्ट्रिय गौरवको आयोजनाको काममा प्रभाव परेको छ । भूकम्पअघि सुन्दरीजलबाट सिन्धुतिर, सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु एवम् अम्बाथान तथा अम्बाथानबाट ग्याल्थुमतिर गरी छ ठाउँबाट सुरुङ निर्माणको काम भएकामा अहिले तीनतिरबाट मात्र काम भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।
“भूकम्पपछि ठेकेदार कम्पनीले सुन्दरीजलबाट सिन्धुतिर, सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमतिर मात्र सुरुङ खनिरहेको छ, ग्याल्थुममा काम सुरु भए पनि पहिरो आई रोकिएको छ, छिट्टै सुरु गर्ने तयारीमा छौँ”, उनले भने । अम्बाथानबाट भने भूकम्पपछि सुरुङ निर्माण सुरु हुन सकेको छैन ।
सम्झौताको समयावधि सिद्धिन १४ महिना बाँकी हुँदा सुरुङको आधा काम मात्र सम्पन्न भएको छ । हालसम्म १३ किमि ३०० मि सुरुङ खनिएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले प्रतिदिन ३५ मिटर सुरुङ खन्नुपर्ने सम्झौता भएकामा हाल प्रतिदिन १० मात्र खनिएको कार्यकारी निर्देशक भट्टराई बताउंछन् ।
विसं २०६६ साउनमा चिनियाँ सरकारी ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का लिई सुरुङ निर्माणको काम सुरु गरेकामा काम गर्न नसकेपछि ठेक्का छोडी हिँडेको थियो । सरकारले फेरि बोलपत्र आह्वान गरी इटालेली ठेकेदार कम्पनी सिएमसीसँग २०७० असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर कात्तिकमा परिचालन भएको सिएमसीले पुसबाट सुरुङ निर्माण सुरु गरेको थियो ।
चिनियाँ ठेकेदार कम्पनीले छ किमि ४४४ मि सुरुङ निर्माण गरेको थियो । सिन्धुपाल्चोकको मेलम्ची बजारमाथिका धेरै स्थानमा साना पहिरो गएकाले काममा अवरोध भएको आयोजनाको मुहानस्थल अम्बाथानमा खटिएका इन्जिनियर लक्ष्मण रायमाझी बताउंछन् ।
“सुरुङ निर्माणस्थल माथिबाट पहिरो आउँदा कामदारमा भूकम्पपछि चिरा परेको जमिन आई थिच्छ भन्ने मानसिक डरले काम गर्न गाह्रो भएको छ, ठेकेदारसँग समन्वय गरी ग्याल्थुमबाट छिटो काम सुरु गर्न पहल गरिरहेका छौँ”, रायमाझीले भने । आइतबार रातिको अविरल वर्षाले अम्बाथान जाने तिम्बुको पक्की पुलको ग्याबिन बगाएपछि सवारी सञ्चालनमा केही समस्या आएको आयोजनाले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते