छैटाँै दिनको बन्दले दाङको जनजीवन कष्टपूर्ण, नवलपरासी आन्दोलन आठौँ दिन

नवलपरासीको बेलासपुरमा बन्द आव्हानकर्ता र प्रहरीबीचको झडपमा सुरक्षार्थ खटिएका सशस्त्र सहायक हवल्दार काशीनाथ कुमालको खुट्टा चिप्लीँदा आफ्नै बन्दुकको गोली खुट्टामा लागेर घाइते भएको हुँदा उपचारका लागि लगिँदै । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस

नवलपरासीको बेलासपुरमा बन्द आव्हानकर्ता र प्रहरीबीचको झडपमा सुरक्षार्थ खटिएका सशस्त्र सहायक हवल्दार काशीनाथ कुमालको खुट्टा चिप्लीँदा आफ्नै बन्दुकको गोली खुट्टामा लागेर घाइते भएको हुँदा उपचारका लागि लगिँदै । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस

तुलसीपुर (दाङ), ३२ साउन । थरुहट थारुवान सङ्घर्ष समितिले थरुहट प्रदेशको माग राखी आह्वान गरेको दाङ जिल्ला बन्दको छैटौँ दिन र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको दाङ बन्दको दोस्रो दिन यहाँको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ ।

बन्दका कारण यहाँका यातायात, शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा, बजार पूर्णरुपमा बन्द रहेका छन् । लगातारको बन्दले गर्दा बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएपछि नागरिकको दैनिकी कष्टकर बन्दै गइरहेको छ । विशेष गरेर मजदुरी गर्ने निम्न वर्गका नागरिकलाई बन्दले निकै असर पारेको छ ।

त्यसैगरी सीमाङ्कन गर्दा सल्यान जिल्लालाई ६ नंको प्रदेशमा राखेको विरोधमा सल्यान जिल्लाका नागरिकले पनि एक हप्तायता जिल्ला बन्दको आह्वान गरेका छन् । बन्दका करण सल्यानमा पनि यातायात, शिक्षण संस्था, कलकारखाना, बजार पूर्णरुपमा बन्द रहेको सल्यान प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटमा उत्पादन भएको तरकारी बन्दका कारण जिल्ला बाहिर पठाउन नसक्दा कुहिन थालेको छ । केही दिन अगाडि ट्रकमा लोड गरेर राखेको तरकारी बन्दले पठाउन नसक्दा किसानले लाखौँ रुपैयाँ नोक्सानीमा व्यहोर्नु परेको छ ।

तरकारीको पकेट क्षेत्रका रुपमा चिनिने कपुरकोटमा त्यहाँका किसानहरुले उत्पादन गरेको तरकारी दाङ, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँलगायतका जिल्लाहरुमा बिक्रीका लागि पठाउने गरिन्छ ।

बन्दमा कुनै पनि जिल्लामा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

नवलपरासी बन्द आठौँ दिन पनि जारी

यसैबीच, अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज आठौँ दिन पनि निरन्तर जारी छ ।

अखण्ड नवलपरासी हुनुपर्ने भन्दै अखण्ड नवलपरासी सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलनका कारण नवलपरासीमा सम्पूर्ण बजार, वित्तीय सङ्घसंस्था, शैक्षिक सङ्घसंस्था यातायात पूर्णरुपमा बन्द भएका छन् ।

अखण्ड नवलपरासीको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका अगुवा रामभवन यादवले बताए । प्रस्तावित प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्र्याएको भन्दै नवलपरासी दाउन्ने पश्चिम क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।

यसैबीच थरुहट सङ्घर्ष समिति र मधेसी मोर्चाको बन्दका कारण नवलपरासीको जनजीवन प्रभावित बन्दै गएको छ ।

नौजना बन्दकर्ता घाइते

नवलपरासीको बासाबसही चोकमा प्रहरीले बन्दकर्तामाथि हस्तक्षेप गर्दा छ जना आन्दोलनकारी घाइते भएका छन् ।

त्यसैबीच बेलासपुर चोकमा बाटो बन्द गरी बसिरहेको बन्दकर्तालाई पनि सशस्त्र प्रहरीले लाठीचार्ज गरी बाटो खुलाउन खोज्दा तीनजना बन्दकर्ता घाइते भएका छन् ।

बन्दका क्रममा तीनवटा गाडी जलाइएको छ भने प्रेस, प्रहरी र निजीलगायत करिब दुई दर्जन सवारी साधन तोडफोडसमेत भएका छन् । प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप हुँदा दुवै पक्षका गरी २० भन्दा बढी घाइते भएका छन् ।

आठ दिनदेख चलिरहेको बन्दले आज पनि उद्योग, कलकारखाना, यातायात, शैक्षिक सङ्घसंस्था, बजार ठप्प छन् ।

जिल्लामा अखण्ड नवलपरासी सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट थरुवान सङ्घर्ष समिति र वैद्य माओवादीसमेत गरी चार पक्षको फरकफरक बन्द जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री