काठमाडौँ, ३१ साउन । “बन्द भनेर के गर्नु बा बिरामी हुनुहुन्छ, हिँड्नै परयो ।” सामाखुसीबाट हिँडेर वीर अस्पताल आइपुगेका सुधा मैनालीको गुनासो हो यो । उहाँका पिता डम्बर मैनाली गत सातादेखि आन्द्राको समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । एक हातमा झोला र अर्को हातमा छाता बोकेर सुधाले करिब एक घन्टा पैदल यात्रा गर्नुपरेको थियो । घर फर्कंदा पनि गाडी पाउने निश्चित छैन । गर्मीयाममा लामो बाटो हिँडेर पुग्नुपर्दा सुधामात्र होइन धेरै सर्वसाधारणले आज यस्तै सास्ती भोग्नुपरेका दृश्य देखिए ।
तुलनात्मक रुपमा कम हिंसात्मक भए पनि आजको बन्दमा नगन्य मात्रामा मात्र सार्वजनिक यातायात चल्दा आवागमनमा समस्या देखियो । फाट्टफुट्ट चलेका गाडीले पनि रु १५ को सट्टा रु २० देखि ३० सम्म भाडा लिने गरेको पाइयो । कतिपय सर्वसाधारण भने गाडी वा मोटरसाइकल चढ्दा असुरक्षा हुने त्रासले हिँड्नै जोसिएको पनि पाइयो । बिहानै पत्रकार ऋषि धमला चढेको गाडीमा आक्रमण भए । त्यस्ता समूहलाई प्रहरीले पक्राउ गरे पनि तोडफोडका घटनामा कमी भएको पाइएन ।
आफ्नो अधिकार प्राप्तिका लागि शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक सबैको हुन्छ तर विरोधका क्रममा बन्द÷हडतालको विकल्प नखोजिएपछि त्यसको मार झेल्न सर्वसाधारण बाध्य हुँदै आएका छन् । नयाँ संविधान जारी हुने प्रक्रिया र प्रमुख दलहरुबीच भएको सहमतिको विरोधमा आज नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र विभिन्न मधेसकेन्द्रित दलले आयोजना गरेको ‘नेपाल बन्द’ बाट पनि सार्वजनिक यातायात, शिक्षालय, बजार र उद्योग कलकारखाना प्रभावित भएका छन् ।
लोकतान्त्रिक आन्दोलनयता बन्द हडतालका कार्यक्रम नगर्ने भनी प्रमुख दलले निर्वाचनका समयमा प्रतिबद्धता जनाएको भए पनि विभिन्न समयमा ठूला दलबाट पनि बन्द हुने गरेका छन् । संविधानसभाभित्र र बाहिर रहेका अन्य दल, समूह र भ्रातृ संस्थाले पटक पटक गर्दै आएका बन्दले सर्वसाधारण नेपाली दिक्क भइसकेका छन् । यसको बढी मार काम गरेर खानेलाई नै पर्र्दै आएको छ ।
दिगो शान्ति, समृद्धि, राज्य पुनःसंरचना र नयाँ नेपाल निर्माणको सङ्कल्पका साथ नयाँ संविधानको अन्तिम मस्यौदा लेखन कार्य भइरहेका समयमा गत सातादेखि नै विभिन्न जिल्लामा फरक फरक माग र चाहनाका साथ बन्दका कार्यक्रम चलिरहेका छन् । मुख्य गरी प्रदेशको सीमाङ्कनका क्रममा तराई मधेसकेन्द्रित प्रदेशको मागका साथै अखण्ड सुदूरपश्चिम र अखण्ड मध्यपश्चिम तथा कणालीको अलग प्रदेशका माग उठिरहेका छन् ।
जनताका जायज र तर्कयुक्त मागलाई संविधान जारी गर्ने क्रममा सम्बोधन गरिने शीर्ष नेताबाट प्रतिबद्धता आए पनि विरोधका कार्यक्रम रोकिएका छैनन् । त्यसमा पनि आन्दोलनमा घुसपैठ गरी सुर्खेतमा झैँ हिंसा भड्काउने पक्षले पनि नेपालीको शान्तिप्रतिको आशामा तुषारापात गरिरहेको प्रमुख दलका नेताको टिप्पणी पनि आउने गरेको छ ।
बन्दको विकल्प खोज्न ‘विवेकशील नेपाली’ पार्टीलगायत विभिन्न समूहले ‘नेपाल बन्द कहिलेसम्म, तपाईं हामी चुप कहिलेसम्म रु’ जस्ता नारा र प्लेकार्डसहित सडकमा उभिएर अभियान चलाएको छ । हरेक बन्दका समयमा बन्दको विकल्प खोज्न आह्वानसहित स्वयम्सेवी रुपमा आफूहरु उभिने गरेको अभियानका सदस्य पुकार बमले बताए ।
अभियानमा लागेका युवाले शनिबार पनि काठमाडौँको माइतीघर मण्डला र मुलुकका विभिन्न स्थानमा बिहान १० देखि ११ बजेसम्म एक घन्टा बन्दको शान्तिपूर्ण विरोध गरेका थिए । उनीहरुले बन्दमा सवारी साधन चढेर हिँडेकालाई हात हल्लाएर धन्यवाद दिइरहेका थिए । उनीहरुले आफूहरुले पनि साधन चढेरै गन्तव्यमा जाने गरेको जनाए । सो पार्टीका कार्यपालिका मामिला प्रमुख अर्जुनसिंह ठकुरीले झापामा युवाले विद्यालय खुलाएको र पोखरामा पनि बन्द खुलाउन वातावरण बनिरहेको बताए । उनले भने ,“बन्दको विकल्प दिनुपर्छ । बन्द र हडतालले मुलुकको उद्यमशीलता र हाम्रो संस्कारलाई नै धरापमा पारिरहेका छन् ।”
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]