काठमाडौँ, १३ साउन । सातवटा विश्वविद्यालयमा रिक्त हुन लागेका उपकुलपति पदमा नियुक्तिका लागि नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घले विभिन्न प्राध्यापकको नाम सिफारिस गरेको छ ।
यही साउन २३ गतेदेखि रिक्त हुने त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र वन तथा कृषि विश्वविद्यालयको उपकुलपतिका लागि सङ्घले नाम सिफारिस गरेको हो ।
यी सबै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल यही साउन २२ गतेदेखि सकिन लागेको छ ।
नेपाली काँग्रेस निकटका प्राध्यापक आबद्ध रहेको सङ्घले सबै रिक्त पदका लागि आफ्नो तर्फबाट नामावली तयार पारेर काँग्रेसबाट शिक्षामन्त्री भएकी चित्रलेखा यादवलाई सिफारिस गरेको सङ्घका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए ।
सङ्घले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्राथमिकताका आधारमा क्रमशः वासुदेव घिमिरे, गुणनिधि न्यौपाने, तीर्थ खनियाँ, अम्वराज जोशी, गोविन्दप्रसाद आचार्य, चन्द्रलाल श्रेष्ठ र रेणुका जोशीको नाम सिफारिस गरेको छ ।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि माधवराज गौतम, प्रेमकुमार आचार्य, पुरुषोत्तम दाहाल, कार्तिकेय झा र भोजराज पन्तको नाम सङ्घले सिफारिस गरेको छ ।
बैठकले पूर्वाञ्चलका लागि बद्रीनाथ श्रेष्ठ र घनश्यामलाल दास, सुदूरपश्चिमका लागि चेतराज भट्ट र भूषण श्रेष्ठ, मध्यपश्चिमका लागि बसन्तराज शर्मा र कालीप्रसाद पाण्डे, पोखरा विश्वविद्यालयका लागि वेदनाथ शर्मा र विनोद श्रेष्ठ, वन तथ कृषि विश्वविद्यालयका लागि जगतलाल यादव र हरिहर बौडेलसहित पाँच, पाँच जनाको नाम सिफारिस गरेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिए ।
मकवानपुरको हेटाँैडामा बसेको सङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले प्राध्यापकको कार्यदक्षता, अनुभव, वरिष्ठतालगायतका आधारमा नामावली तयार पारेको उनले बताए ।
सङ्घले शिक्षामन्त्री यादवलाई भेटेर सङ्घको निर्णयअनुसार नियुक्त गर्न आग्रह गर्ने योजना बनाएको छ । यसअघि शिक्षामन्त्री यादवले सङ्घको सिफारिसका आधारमा नियुक्तिको निर्णय लिने आश्वासन दिएको उनले बताए । सङ्घको निर्णयलाई शिक्षामन्त्री यादवले अवलम्बन गर्ने विश्वास सङ्घले लिइएको पोख्रेलको भनाइ छ ।
काँग्रेसको शिक्षा विभाग प्रमुख चन्द्र भण्डारीले पनि सङ्घको निर्णयलाई शिक्षामन्त्रीले मुख्य आधार मान्नुपर्ने धारणा राख्छन् । सम्बन्धित सङ्घ सङ्गठनको सल्लाह र सिफारिसमा नियुक्त गर्ने संस्कारले व्यक्तिवादी प्रवृत्ति अन्त्य हुने र उचित ठाउँमा उचित व्यक्तिले जिम्मेवारी पाउने उनको तर्क छ । तर सम्बन्धित सङ्घ सङ्गठनले दिने सुझाव तथा सिफारिस पनि प्राज्ञिक आधारमा हुनुपर्ने नेता भण्डारीको भनाइ छ ।
सोमबार र मङ्गलबार बसेको सङ्घको पूर्ण बैठकले त्रिवि प्राध्यापक सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घको निर्वाचन अविलम्ब गर्न पनि दुवै सङ्घलाई आग्रह गरेको छ ।
लामो समयदेखि करार सेवामा रहेका शिक्षण सहायकलाई प्रक्रिया पुरयाएर अस्थायी दरबन्दीमा उपप्राध्यापक पदमा नियुक्त गर्न र विश्वविद्यालय सेवा आयोगमार्फत तुरुन्त स्थायी गर्न सङ्घले सरकारसँग माग गरेको छ ।
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित