काठमाडौँ, ८ साउन । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ‘राष्ट्रपति डा रामवरण यादवलाई भेटेर नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा’मा नागरिकको सुझाव सङ्कलन ऐतिहासिक रुपमा सफल भएको जानकारी गराएका छन् ।
नियमित भेटघाटका क्रममा राष्ट्रपतिसँग शुक्रबार भएको भेटमा उनले सुझाव सङ्कलनमा जनताको अत्यधिक सहभागिता रहेको बताएका थिए ।
राष्ट्रपतिसमक्ष आफूले प्रस्तुत गरेको विवरणबारे थप जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले भने, “छिटफुट घटनाबाहेक सुझाव सङ्कलनमा जनताको उत्साहपूर्वक सहभागिता रहेको पाइयो । राजधानीमा समेत ज्ञापनपत्र बुझाउनकोे ओइरो लाग्यो, सर्वोच्च अदालतको पूर्ण बैठकबाट पनि मस्यौदामाथि सुझाव प्राप्त भएको छ ।”
सो अवसरमा राष्ट्रपति डा यादवसमक्ष संविधानसभा सचिवालयमा विद्युतीय माध्यमबाट ३३ हजार बढी सुझाव आएकाले जनताको सहभागिता उल्लेख्य हुनुले दलहरूले गरेको प्रयासलाई अनुमोदन गर्नुका साथै द्रुतमार्गबाट संविधान ल्याउन अनुरोधसमेत गरेको जानकारी सभाध्यक्षले गराएका थिए ।
सो अवसरमा राष्ट्रपति डा यादवले सुझाव सङ्कलन कार्यमा जनताको उल्लेख्य सहभागिताले संविधान लेखनको कार्यलाई अगाडि बढाउन आधार तयार गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
राष्ट्रपति डा यादवले संविधान निर्माण प्रक्रियामा असहमति व्यक्त गर्ने पक्षले विरोध मात्र गर्नुको सट्टा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर अगाडि बढेको भए हुन्थ्यो भन्ने भनाइ प्रस्तुत गरेको सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।
राष्ट्रपतिले संविधान निर्माणको प्रक्रियामा असहमति व्यक्त गरिरहेका दललाई विश्वासमा लिएर अगाडि बढ्न तथा उपयुक्त समयसीमाभित्र काम फत्ते गर्नसमेत सभाध्यक्षलाई ध्यानाकर्षण गराएका थिए ।
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट