राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आउने प्रतिनिधि र पाहुनाको स्वागतका लागि निर्माण गरिएको स्वागतद्वार । तस्बिरः कृष्ण आचार्य / रासस

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।

पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ ।

केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ । केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताउनुभयो । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उहाँको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ ।

उहाँले तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाईंदै छ ।

विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताउनुभयो ।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
रास्वपाको महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ ।

सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ । यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उहाँले जानकारी दिनुभयो ।

विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताउनुभयो । आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।

रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उहाँले जानकारी दिनुभयो । प्रारम्भिक तथ्याङ्कअनुसार कोशी प्रदेशबाट प्र्रतिनिधिको सङ्ख्या ५२० रहेको छ । मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उहाँले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ ।

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ ।

आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन आइसक्नुभएको छ । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आइतबार नै चितवन आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री