भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

Mumbai, Jun 20 (ANI): Singer Asha Bhosle at the screening of the film ‘Sitaare Zameen Par’, in Mumbai on Thursday. (ANI Photo)

नयाँ दिल्ली । भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गर्नुभएकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाउनुभएकी उहाँको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उहाँको उमेर ९२ वर्ष थियो ।

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा उहाँको निधन भएको चिकित्सक डा. प्रतीत समदानीले पुष्टि गर्नुभयो । चिकित्सकका अनुसार बहु–अङ्ग विफलताका कारण उहाँले अन्तिम सास लिनुभएको हो ।

अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए ।

यसअघि उहाँकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत परिवारका लागि गोपनीयताको अनुरोध गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँले अस्पताल भर्ना गरिएको पुष्टि गर्दै उपचार भइरहेको र सुधारको आशा गरिएको उल्लेख गर्नुभएको थियो ।

सन् १९३३ मा जन्मनुभएकी आशा भोसलेले अत्यन्तै सानो उमेरमै आफ्नो सङ्गीत यात्रा सुरु गर्नुभएको थियो । सन् १९५० को दशकदेखि उहाँको स्वर भारतीय चलचित्र सङ्गीतमा अत्यन्त लोकप्रिय बन्दै गएको थियो र क्रमशः उहाँ विश्वकै सबैभन्दा चर्चित पार्श्व गायिकामध्ये एकका रूपमा स्थापित हुनुभयो ।

उहाँको स्वरको विशेषता भावनात्मक गहिराइ, अनुकूलनीयता र बहुमुखी प्रतिभा मानिन्छ । शास्त्रीय सङ्गीतदेखि गजल, क्याब्रे, पप र लोकगीतसम्म उहाँले विभिन्न विधामा आफ्नो स्वरको प्रभाव छोड्नुभएको छ । भारतका विभिन्न भाषामा हजारौँ गीत रेकर्ड गरेर उहाँले भारतीय सङ्गीतलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

प्रमुख सङ्गीतकार तथा चलचित्र निर्मातासँगको सहकार्यले हिन्दी चलचित्र सङ्गीतलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ । उहाँका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय छन् ।

उहाँलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वर्ल्ड रेकर्डले उहाँलाई सङ्गीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो ।

जीवनको उत्तरार्धसम्म पनि आशा भोसले सङ्गीतसँग निरन्तर जोडिनु भएको थियो । कहिलेकाहीँ सार्वजनिक प्रस्तुति दिँदै उहाँले युवा कलाकारहरूलाई प्रेरणा दिइरहनुभएको थियो । भारतीय सङ्गीतमा महिला स्वरको पहिचान विस्तार गर्न र पार्श्व गायनलाई नयाँ परिभाषा दिन उहाँको योगदान अतुलनीय मानिन्छ ।

उहाँका लोकप्रिय गीतहरूमा ‘दिल चीज क्या है’, ‘पिया तु अब तो आजा’, ‘मेरा कुछ सामान’ र ‘चुरा लिया है तुमने’ जस्ता कालजयी रचना समावेश छन्, जसले उहाँको बहुआयामिक प्रतिभालाई उजागर गर्छ ।

उहाँको निधनको खबर फैलिँदा भारतभर तथा अन्तर्राष्ट्रिय स्तरमा पनि शोक व्यक्त गरिएको छ । प्रशंसक, कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उहाँको योगदानलाई स्मरण गर्दै भारतीय सङ्गीतमा उहाँको स्थान अपूरणीय रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री