
लन्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आगामी जुन ८ मा नेपाल र बेलायत सरकारबीच हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ ।
गेसोका सभापति कृष्णकुमार राई नेतृत्वको एक प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटी उक्त आग्रह गरेको हो । ‘आगामी ८ जुन २०२६ का दिन हुन गइरहेको ब्रिटिस गोरखा भूतपूर्व सैनिकहरूको विगत २१० वर्षदेखिको समस्या समाधानका लागि नेपाल र बेलायत सरकारबीच गोरखाहरुको सहभागितामा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईको एक प्रतिनिधिमण्डलले माननीय परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटगरी आवश्यक छलफल तथा परामर्श गरियो,’ गेसोका उपसभापति जितबहादुर राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटका क्रममा सभापति राईले ब्रिटिस सरकारद्वारा दुई सय वर्षभन्दा बढी समयदेखि विशेष सम्बन्ध र मित्रताको नाममा गरिएको विभेदपूर्ण व्यवहारविरुद्धमा २०४७ सालयतादेखि निरन्तर न्यायिक संघर्ष गर्दै आइरहेको र नेपाली युवाहरु बेलायती सेनामा आफ्नो रहरले नभई तत्कालीन सरकारले गरेको त्रिपक्षीय सन्धिअनुसार गएको स्मरण गराउनुभएको थियो । भूतपूर्व गोरखा सैनिकहरुको मात्र नभई नेपाल र नेपालीहरुको साझा समस्या भएकाले मन्त्री खनालले राष्ट्रिय स्वाभिमानका साथ बेलायती समकक्षीसँग अफोर्डेबल सोलुशनअनुसार हुने वार्तालाई नेपाल र गोर्खा सैनिकहरुको पक्षमा पार्न नेपाल सरकारको तर्फबाट सशक्त र ठोस भूमिका निर्वाह गर्नेमा सम्पूर्ण भूपू गोर्खा सैनिकहरु विश्वस्त रहेको अवगत गराएको विज्ञप्तिमा जनाइएको छ ।
परराष्ट्रमन्त्री खनालले गोर्खाहरुको समस्याबारे राम्रो जानकारी लिएको बताउँदै आगामी वार्ता निष्कर्षमा पुऱ्याउने गरी नेपाल सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ‘छलफलमा मन्त्रीज्यूले भन्नुभयो कि बेलायतबाट आउनुभएकी मन्त्री मल्होत्रासँग गोर्खाहरुको समस्याबारे सकारात्मक छलफल भयो । बेलायत पक्ष पनि अहिले यो मुद्दालाई टुंगो लाउनु पर्छ भन्नेमा नै रहेको कुरा बुझिएको छ र ८ जुनमा हुने वार्तामा म आफै पनि भर्चुलमार्फत सहभागी हुनेछु भन्ने कुरासमेत हामीलाई जानकारी गराउनुभयो,’ मन्त्री खनालसँगको भेटपछि सभापति राईले भन्नुभयो ।




नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र