
निजी तथा पारिवारिक जीवनको अधिकार आधुनिक समाजको महत्त्वपूर्ण उपलब्धि हो। मानव अधिकारसम्बन्धी युरोपेली महासन्धिको धारा ८ ले प्रत्येक व्यक्तिको गोपनीयता र निजी जीवनलाई अनावश्यक हस्तक्षेपबाट सुरक्षा दिन्छ।
तर आज, प्रविधिको तीव्र विकास र सहजताको समयमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ:
के हामी अन्जानमै त्यही गोपनीयता र व्यक्तिगत स्वतन्त्रता बिस्तारै त्याग्दै त छैनौँ, जसलाई जोगाउन अघिल्ला पुस्ताहरूले यति ठुलो सङ्घर्ष गरेका थिए ? आज हाम्रो जीवनका लगभग हरेक पक्ष डिजिटल हुँदै गइरहेका छन्। स्वास्थ्य, बैङ्किङ, शिक्षा, रोजगारी, किनमेल, यात्रा र सामाजिक सम्बन्धदेखि लिएर हाम्रो दैनिक जीवन क्रमशः डिजिटल प्रणालीहरूमा निर्भर बन्दै गएको छ।
निश्चय नै, यसको फाइदाहरू पनि छन्। सेवाहरू छिटो भएका छन्, पहुँच बढेको छ, र धेरै काम सहज बनेका छन्। तर यहीँ एउटा असहज सत्य पनि लुकेको छ। धेरै अवस्थामा, मानिसहरूले सुविधा र सहजताको बदलामा आफ्ना व्यक्तिगत जानकारी स्वेच्छाले उपलब्ध गराइरहेका छन्।
एउटा प्रसिद्ध भनाइ छ: ‘यदि तपाईं कुनै वस्तुको मूल्य तिरिरहनु भएको छैन भने, सम्भवतः तपाईं आफैँ त्यो वस्तु हुनुहुन्छ।’
धेरै डिजिटल सेवाहरू निःशुल्क देखिन्छन्, तर वास्तविक मूल्य प्रयोगकर्ताको जानकारी, व्यवहार र रुचिबाट आउँछ। चुनौती के हो भने यो प्रक्रिया प्रायः बिस्तारै र अदृश्य रूपमा भइरहेको हुन्छ। मानिसहरूले एप, सामाजिक सञ्जाल र डिजिटल सेवाहरू प्रयोग गरिरहँदा आफ्ना गतिविधि, रुचि र व्यवहारसम्बन्धी ठुलो मात्रामा जानकारी सङ्कलन भइरहेको कुरा पूर्ण रूपमा महसुस नगर्न सक्छन् ।
युट्युब र सामाजिक सञ्जालजस्ता प्लेटफर्महरूले हाम्रो रुचिअनुसार सामग्री र विज्ञापन देखाउँछन्। बिस्तारै हामीले के हेर्छौँ, के सोच्न थाल्छौँ र कहिलेकाहीँ के निर्णय लिन्छौँ भन्ने कुरासमेत प्रभावित हुन सक्छ। धेरै पटक हामी आफ्ना जानकारीहरू सचेत रूपमा भन्दा बढी अवचेतन रूपमा साझा गरिरहेका हुन्छौँ।
डिजिटल पहिचान अहिले एआई र स्वचालित निर्णय प्रणालीसँग जोडिँदै गएको छ। यसले रोजगारी, ऋण, बिमा र सामाजिक सहायताजस्ता क्षेत्रमा प्रभाव पार्न सक्छ। समर्थकहरूका अनुसार यसले सेवा छिटो र व्यवस्थित बनाउँछ, तर आलोचकहरू निगरानी, पक्षपात र गोपनीयता कमजोर हुने जोखिमबारे चेतावनी दिन्छन् ।
अप्रत्यक्ष गोपनीयता हस्तक्षेप (collateral intrusion) पनि अर्को ठुलो चिन्ता हो। एक व्यक्तिको डिजिटल जानकारीबाट परिवार वा सम्बन्धित अन्य व्यक्तिहरूबारे समेत जानकारी खुल्न सक्छ। साझा खाता, ठेगाना वा उपकरणले चासोको विषय नभएका व्यक्तिहरूको विवरणसमेत देखाउन सक्छ।
अर्को ठुलो जोखिम भनेको यस्ता जानकारी गलत व्यक्तिहरूको हातमा पर्नु हो । प्रणालीहरू जति धेरै आपसमा जोडिँदै जान्छन्, त्यति नै तिनीहरू साइबर अपराधी, ठगी गर्ने समूह वा दुरुपयोग गर्न चाहने शक्तिहरूका लागि आकर्षक बन्दै जान्छन् । एआईको विकाससँगै ‘डिप फेक’जस्ता जोखिमहरू पनि बढिरहेका छन्, जहाँ मानिसहरूको आवाज, तस्बिर वा भिडियो नक्कली रूपमा प्रयोग गरेर भ्रम फैलाउन वा ठगी गर्न सकिन्छ।
सायद सबैभन्दा ठुलो जोखिम कुनै अचानक परिवर्तन होइन, बरु बिस्तारै हुने नर्मलाइजेसन हो। आज असामान्य वा हस्तक्षेपकारी लाग्ने प्रणालीहरू पनि सुविधा र सहजताको नाममा बिस्तारै सामान्य बन्दै जान सक्छन्। यो अवस्थालाई ‘boiling frog effect’ सँग तुलना गरिन्छ। यदि भ्यागुतोलाई सिधै उम्लिरहेको पानीमा राखियो भने उसले तुरुन्तै खतरा महसुस गर्छ। तर पानी बिस्तारै तताइयो भने उसले परिवर्तनलाई तुरुन्तै जोखिम ठान्दैन। अन्ततः धेरै ढिला भएपछि मात्र खतरा स्पष्ट हुन्छ।
समाजमा पनि यस्तै हुन सक्छ। साना परिवर्तनहरू सुरुमा सामान्य वा उपयोगी लाग्छन्। तर समयसँगै तिनले हाम्रो सोच, व्यवहार र स्वतन्त्रताको सीमासमेत बदल्न सक्छन्।
जब मानिसहरूले के हेर्ने, के सोच्ने, के विश्वास गर्ने र के निर्णय लिने भन्ने कुरासमेत एल्गोरिदम, एआई र डिजिटल सिस्टममार्फत प्रभावित हुन थाल्छ, तब स्वतन्त्र सोच र आत्मनिर्णयमाथि नै प्रश्न उठ्न सक्छ।
इतिहासले देखाउँछ कि स्वतन्त्रता धेरै पटक एकै पटक हराउँदैन, बरु बिस्तारै सामान्य बन्दै जान्छ ।
सायद डिजिटल युगको सबैभन्दा ठुलो विडम्बना यही हो: एक समय मानव समाजले गोपनीयता र व्यक्तिगत स्वतन्त्रता जोगाउन ठुलो सङ्घर्ष गर्यो। तर आज हामी आफैँ सुविधा, सहजता र डिजिटल निर्भरताको बदलामा त्यही अधिकार बिस्तारै त्याग्दै गइरहेका छौँ ।
सायद सबैभन्दा चिन्ताजनक कुरा यही हो कि यो परिवर्तन अचानक होइन, बिस्तारै नर्मलाइज्ड हुँदै गइरहेको छ। जब सर्भेलेन्स, डाटा कलेक्सन, एल्गोरिदम, र डिजिटल इन्फ्लुएन्स दैनिक जीवनको सामान्य हिस्सा बन्न थाल्छ, तब मानिसहरूले स्वतन्त्रता कति परिवर्तन भइरहेको छ भन्ने कुरा नै महसुस गर्न छोड्न सक्छन्।
समयसँगै नर्मलाइजेशनले हाम्रो सोच, बिहेभियर, डिसिजन र स्वतन्त्रताको सीमासमेत बदल्न सक्छ । अनि एक दिन समाजले कुनै समय असामान्य, इन्ट्रुसिभ, वा खतरनाक मानिने कुराहरूलाई नै सामान्य जीवनको हिस्सा ठान्न थाल्छ।
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा