
लन्डन । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा रहेको २ रोपनी ६ आना जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५८ वर्षीय सुक्रबहादुर शेर्पा, जुगल गाउँपालिका–३ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ४८ वर्षीय दावा दोर्जे तामाङ र रामेछापको सुनपाती गाउँपालिका–२ घर भई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ५८ वर्षीय भुपाल सिं तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
सुक्रबहादुरलाई १५ माघमा, भुपाल र दावालाई २८ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । यो समूहले बेलायतमा बस्दै आएका ईश्वर आङ्बुहाङको नाममा रहेको पासिकोटको २ रोपनी ६ आना जग्गा नक्कली धनीपुर्जा बनाई बेच्न खोजेको पाइएको एसएसपी थापाले बताए ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ घर भएका आङ्बुहाङ पछिल्लो समय बेलायत बस्दै आएका थिए । मालपोत कार्यालय चाबहिलमा दर्ता श्रेस्ता कायम रहेको बूढानीलकण्ठ पासिकोटको कित्ता नम्बर ४६ को २ रोपनी ६ आना जग्गा उनै आङ्बुहाङको नाममा थियो । बूढानीलकण्ठ जस्तो ठाउँमा लामो समयसम्म जग्गा खाली रहेको जानकारी पाएपछि यो समूहले जग्गाको निगरानी बढायो । र, जग्गाधनी पहिल्याएको थियो । जग्गाधनी बेलायत रहेको सूचना पाएपछि नक्कली जग्गाधनी बनेर जग्गा बेच्ने योजना यो समूहले बनाएको एसएसपी थापा बताउँछन् । त्यसका लागि उनीहरूले आङ्बुहाङको नाममा नक्कली नागरिकता बनाउने र त्यसमार्फत आफू नै जग्गाधनी भएको भन्दै हराएको बताएर प्रतिलिपि धनीपुर्जा निकाल्ने योजना बनाए । त्यसपछि सुक्रबहादुरलाई आङ्बुहाङ बनाएर नक्कली नागरिकता बनाइयो । अनि त्यही नागरिकताका आधारमा प्रतिलिपि लाजपुर्जा निकाल्ने, राष्ट्रिय परिचयपत्र बनाउने, प्यान कार्ड बनाउने, बैंक खाता खोल्नेसम्मका कामहरू भएको अनुसन्धानबाट खुलेको छ ।
ईश्वर आङ्बुहाङको नामको नक्कली नागरिकता बनाएपछि त्यसैको प्रतिलिपि लालपुर्जा उपलब्ध गराई पाउँ भन्दै निवेदन दिइएको थियो । अनि लालपुर्जा समेत निकालिएको पाइएको छ । यो जग्गा हालको मूल्यअनुसार करिब १८ करोड पर्न आउने प्रहरी स्रोत बताउँछ । यसरी सक्कली जग्गाधनी बनेर लालपुर्जा निकाल्ने व्यक्ति हुन्, अहिले पक्राउ परेका सुक्रबहादुर । यसका मुख्य योजनाकार भने दावा हुन् । दावाले सिकाएअनुसार सुक्रबहादुरले वास्तविक आङ्बुहाङ बनेर लालपुर्जा समेत निकालेका थिए । योजनाकार दावा भने मालपोत कार्यालयमा पेश भएका लिखतहरूमा भने ‘फुरी शेर्पा हुँ’ भन्दै साक्षी बसेका थिए ।
अर्का योजनाकार भुपाल भने ‘जग्गाधनी कोही छैन, आफैं जग्गा धनी हो’ भन्दै चाबहिल मालपोत कार्यालयमा सुक्रबहादुर उपस्थित गराउने व्यक्ति हुन् । उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिका नामको जग्गाधनी पुर्जा, लिखत कागजातहरू, ३ थान मोबाइल, ईश्वर आङ्बुहाङको नामको नक्कली नागरिकता, झुटा विवरणको आधारमा तयार पारिएको राष्ट्रिय परिचयपत्र, बूढानीलकण्ठ नगरपालिका–४ को जग्गाधनी पुर्जाको प्रतिलिपि लिन दिइएको सिफारिस र ३ लाख ४० हजार बरामद गरेको छ ।
अनलाइन खबरको सहयोगमा ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित