
लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके)ले नेप्लिज नर्सिङ एसोसिएसन यूके (एनएनए यूके) सँगको सहकार्यमा ‘मौनता तोडौं: घरेलु हिंसा र मानसिक स्वास्थ्यमा यसको प्रभाव’ शीर्षकमा एक सामुदायिक सचेतनासम्बन्धी वेबिनार आयोजना गर्ने भएको छ । उक्त वेबिनार आइतबार, २२ फेब्रुअरी, बिहान ११:३० देखि दिउँसो १:३० बजेसम्म हुनेछ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा कन्सल्टेन्ट साइकियाट्रिस्ट डा. देवमान गुरुङ र सामाजिक कार्यकर्ता लक्ष्मी (लारा) राई सहभागी हुने आयोजकले जनाएको छ । दुबै वक्ताले घरेलु हिंसाको मनोवैज्ञानिक प्रभाव, पीडितलाई उपलब्ध सहयोग प्रणाली, कानुनी र सामाजिक संरक्षणका उपायहरू तथा समुदायले खेल्नुपर्ने भूमिकाबारे प्रस्तुति दिनुहुनेछ ।
कार्यक्रमले नेपाली समुदायभित्र बढ्दो घरेलु हिंसाको समस्यालाई गम्भीरतापूर्वक उठान गर्दै त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे गहन छलफल गर्ने लक्ष्य राखेको आयोजक एनबीसी यूकेका अध्यक्ष समीरनाथ प्याकुर्यालले बताउनुभयो । विज्ञहरुका अनुसार घरेलु हिंसा केवल शारीरिक आक्रमणमा सीमित नभई मानसिक, भावनात्मक, आर्थिक तथा यौन दुर्व्यवहारका विभिन्न रूपहरूमा देखा पर्न सक्दछ । यस्ता हिंसाले पीडित व्यक्तिको आत्मविश्वास, आत्मसम्मान र मानसिक सन्तुलनमा गम्भीर असर पुर्याउने र दीर्घकालीन रूपमा यसले डिप्रेसन, चिन्ता (एन्क्जाइटी), आघातपछिको मानसिक तनाव (पीटीएसडी) लगायतका समस्या निम्त्याउन सक्छ ।
‘विशेषगरी आप्रवासी समुदायमा भाषा, कानुनी जानकारीको अभाव, सामाजिक दबाब तथा सांस्कृतिक संकोचका कारण धेरै पीडितहरू मौन बस्न बाध्य हुने अवस्था रहेको छ। त्यसैले समुदायमा चेतना जगाएर घरेलु हिंसाका घटनाहरु न्यूनीकरण गर्न सहयोग पुगोस् भनेर हामीले यो वेबिनार आयोजना गर्न लागेका हौँ,’ नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता दर्लामीले भन्नुभयो ।
‘मौनता तोड्नु नै परिवर्तनको पहिलो कदम हो,’ भन्ने सन्देशसहित आयोजना गर्न लागिएको वेबिनारले समुदायभित्र खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। नेप्लिज ब्रिटिश कम्युनिटी यूके तथा नेप्लिज नर्सिङ एसोसिएसन यूकेले समुदाय र परिवारलाई हिंसाबाट सुरक्षित राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सदस्यहरू तथा उनीहरूका परिवारजनलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । आयोजकका अनुसार कार्यक्रममा पीडितलाई सहयोग गर्ने संरचना, गोपनीयता र सुरक्षित रिपोर्टिङ प्रक्रियाबारे पनि जानकारी दिइनेछ ।
वेबिनारमा सहभागी हुन इच्छुक व्यक्तिहरूले अग्रिम रूपमा दर्ता गर्नुपर्नेछ। आफ्नो स्थान सुनिश्चित गर्नका लागि तलको लिंकमार्फत दर्ता गर्न आयोजकले आग्रह गरेका छन्:
कार्यक्रमको दिन अर्थात् आइतबार, २२ फेब्रुअरीका दिन यो लिंकमार्फत वेबिनारमा सहभागी हुन सकिने छ ।
आयोजक संस्थाहरूले यस्ता कार्यक्रमहरूले नेपाली समुदायमा स्वस्थ, सुरक्षित र सहयोगी वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। घरेलु हिंसाविरुद्ध सचेत र जिम्मेवार समुदाय निर्माणका लागि सबैले एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै उनीहरूले यो कार्यक्रमलाई व्यापक सहभागितासहित सफल बनाउन आह्वान पनि गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे