
काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाई गर्नुभयो ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न हुनुहुन्छ । राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जानुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने कार्यतालिका छ । भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो । १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो । जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ ।
जापानी बौद्ध भिक्षु, रेभ एकाइ कावागुची पहिलोपटक १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आउनुभएको इतिहास छ । उहाँले जापानमा नेपालको परिचय गराउनुभएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्व उजागर गर्नुभएको इतिहासकारहरू बताउँछन् ।
नेपालमा राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएकापछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ । नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न योगदान पु-याएको छ । पछिल्लो समय एकअर्का देशहरूमा उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भइरहेका छन् ।
जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गर्नुभएको थियो । तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता सङ्गठनको ५७औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गर्नुभएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गर्नुभएको थियो । यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९ देखि १० सम्म नेपालको भ्रमण गर्नुभएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो ।
जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु-याउँदै आएको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगका रूपमा सहयोग गर्र्दै आएको छ । साथै नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि प्रदान गर्दै आएको छ ।
जापानले विद्युत् उत्पादन, सडक, पुल, खानेपानी सुविधा, दूरसञ्चारलगायत क्षेत्रहरूमा आधारभूत पूर्वाधारको सुधारलाई महत्व दिँदै आएको छ । सिन्धुली सडकको निर्माण जापानी विकास सहयोगअन्तर्गत प्रमुख परियोजनाहरूमध्ये एक हो । जापानले नेपाललाई कुलेखानी (१ र २) जलविद्युत् स्टेसन, कालीगण्डकी ‘ए’ जलविद्युत् स्टेसन, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जस्ता परियोजनाहरूमा ऋण सहयोग प्रदान गरेको छ ।
यस्तै, पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका परियोजनाहरूमा नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना र चौबाटो सुधार परियोजना रहेका छन् ।
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ । उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा सोमबार आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गर्नुभएको हो । उहाँले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहन्छ भन्नुभयो ।
“हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताउनुभयो । राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भन्नुभयो, “गौतमबुद्धले भनेका थिए– शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।”
उहाँले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गर्नुभयो । “नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ,” उहाँले भन्नुभयो, “नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ ।” दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७०औँ वार्षिकोत्सव भएको तथा हाम्रा सम्बन्धहरू सरकारी मात्र होइन जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौँदेखि जापानले गरेको सहयोगको उहाँले उच्च प्रशंसा गर्नुभयो ।
राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको छ भन्नुभयो । साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुने उहाँको भनाइ थियो ।
उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उहाँको भनाइ थियो ।
सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गर्नुभएको थियो भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरूले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन