एकीकरण भयो राप्रपा र राप्रपा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच बुधबार एकीकरण भएको छ । काठमाडौंमा आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरिएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताउनुभयो ।

ठूला राजनीतिक दलले सत्ता केन्द्रित राजनीति गरेका कारण नेपाली समाजमा उत्पन्न चरम निराशालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो पार्टीले जनतालाई आश्वस्त गर्दै मुलुकमा विद्यमान सङ्कटको समाधान गर्नसक्ने विचार व्यक्त गर्नुभयो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले लिएका राजनीतिक मुद्दा सङ्कटमा परेकाले आफू राप्रपामा फर्किएको बताउँदै देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गमाथिको हस्तक्षेपविरुद्ध आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेताहरूले दुई पार्टीबीचको एकताप्रति खुसी व्यक्त गर्दै असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबर्जस्त अगाडि बढाउन नहुनेमा जोड दिनुभयो ।

उहाँहरुले यथास्थितिमा निर्वाचनमा जाँदा मुलुक थप द्वन्द्वमा धकेलिने धारणा राख्दै राजनीतिक दल, जेनजी र परम्परागत शक्तिको प्रतिनिधिबीच छलफल गरी सहमति गर्नुपर्ने बताउनुभयो ।

एकीकरणपश्चात् अध्यक्ष लिङ्देनपछि दोस्रो वरियता क्रममा थापालाई राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री