सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न

लन्डन । बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

आइतबार २६ अक्टोबर २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम सीएनसीबीजीका अध्यक्ष थर्क राना मगर, उपाध्यक्ष दल बुराथोकी मगर, बेलायतस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रमुख अतिथि संजोक राई र तृतीय सचिव तथा विशेष अतिथि झुपलाल पुन मगरले संयुक्त रूपमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा गोर्खा र तिनका सन्तानहरूको नेपाली नागरिकता निरन्तरताका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

अध्यक्ष थर्क राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव भक्त राना मगरले सञ्चालन तथा स्वागत मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष दल बुराथोकी मगरले सीएनसीबीजीका उद्देश्यबारे प्रकाश पार्दै संगठनको सामाजिक उत्तरदायित्वबारे बताउनुभएको थियो भने सहप्रवक्ता दीर्घ गुरुङले नागरिकता निरन्तरतासम्बन्धी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा गायिका कामना ओली, नृत्याङ्गना अश्मिता पुरी, स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिनुभएको थियो ।

समारोहमा अध्यक्ष थर्क राना मगरले सबै उपस्थित अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै सीएनसीबीजीको अभियानमा निरन्तर साथ र सहयोगको लागि पुन: आग्रह गर्नुभयो ।

प्रमुख अतिथि सञ्जोक राईले पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा गौरव अनुभव भएको बताउनुभयो । कार्यक्रम संयोजक उपाध्यक्ष नेत्र आले रहनुभएको थियो । कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रतिनिधि, समाजसेवी,बुद्धिजीवी, पेसाकर्मी, पूर्वब्रिटिस आर्मी, पत्रकारलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री