फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

मनिला । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ । आँधीबेहरीले दक्षिणपूर्वी चीनमा बाढी र भूस्खलनको उच्च सम्भावना बढाएको अधिकारीहरूले चेतावनी दिएका छन् ।

रागासाले दुई सय १५ किलोमिटर प्रतिघण्टा (एक सय ३४ माइल प्रतिघण्टा) को स्थायी हावासहित दुई सय ६५ किलोमिटर प्रतिघण्टा (एक सय ६५ माइल प्रतिघण्टा) को झटका ल्याएको छ । फिलिपिन्सका पूर्वानुमानकर्ताहरूका अनुसार यो कागायन प्रान्तको कालायन टापु सहरको पूर्वमा केन्द्रित छ र २० किलोमिटर प्रतिघण्टा (१२ माइल प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ सरिरहेको छ । सोमबार दिउँसो वा साँझ कागायनको बाबुयान टापुहरू नजिकै अवतरण गर्नसक्ने अनुमान छ ।

फिलिपिन्स मौसम एजेन्सीले कागायन, बाटानेस, इलोकोस नोर्टे र इलोकोस सुरका तटीय क्षेत्रमा आगामी २४ घण्टाभित्र तीन मिटर (लगभग १० फिट) भन्दा अग्लो जीवनघातक समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ । कालायन टापु र अपायाओ प्रान्तमा विद्युत् आपूर्ति बन्द भएको छ । अहिलेसम्म स्थानीय रूपमा ‘नन्दो’ भनिने रागसाबाट हताहत वा ठूलो क्षतिको रिपोर्ट आएको छैन ।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राजधानी मनिला र उत्तरी लुजोन क्षेत्रका २९ प्रान्तमा सरकारी कामकाज र कक्षाहरू स्थगित गर्नुभएको छ । कागायनमा आठ हजार दुई सयभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् भने आकस्मिक बाढी र भूस्खलनको जोखिममा रहेका एक हजार दुई सय २० जना आपत्कालीन आश्रयमा पुगेका छन् ।

आँधीबेहरीका कारण उत्तरी प्रान्तका घरेलु उडानहरू स्थगित भएका छन् । माछा मार्ने डुङ्गा तथा अन्तर–टापु यातायातलाई बन्दरगाह नछोड्न निर्देशन दिइएको छ । यो वर्ष फिलिपिन्समा प्रहार गर्ने १४औँ मौसमी गडबडी बनेको रागासाको बेला संसद् र काङ्ग्रेस दुवैमा भ्रष्टाचार घोटालाको छानबिन भइरहेको छ, जसले घटिया वा अस्तित्वहीन बाढी नियन्त्रण परियोजनाहरू निम्त्याएको आरोप लागेको छ ।

पूर्वानुमानअनुसार रागासा चीनको मुख्यभूमि प्रवेश गर्नुअघि ताइवान र हङकङको दक्षिण हुँदै बुधबारसम्म दक्षिण चीन सागरमै रहनेछ । ताइवानका ताइतुङ र पिङटुङ काउन्टीका केही तटीय र पहाडी क्षेत्र, अर्किड र ग्रीन टापुमा बन्द गर्ने आदेश दिइएको छ ।

हङकङ र मकाउतर्फ आँधीको असर पर्ने भएकाले हङकङमा बाढी जोखिम भएका क्षेत्रमा सामान्यभन्दा दोब्बर बालुवाका बोरा उपलब्ध गराइएको छ । मकाउ प्रहरीले तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित निकासीका लागि तयारी गर्न आग्रह गरेको छ ।

मङ्गलबारदेखि चीनको गुआङ्गडोङ प्रान्तमा भारी वर्षा र प्रचण्ड हावाहुरी ल्याउने अनुमान छ । जियाङमेन, याङजियाङ, झोङ्सान र झुहाई सहरमा विद्यालय, कार्यालय, कारखाना र यातायात सेवा निलम्बन गर्ने आदेश जारी गरिएको छ ।

चीनको मौसम एजेन्सीका अनुसार रागासाले गुआङ्गडोङमा एकभन्दा बढी पटक अवतरण गर्न सक्नेछ । अधिकारीहरूले स्थानीय बासिन्दालाई आपत्कालीन आपूर्ति भण्डारण, ढोका–झ्याल मजबुत बनाउने र भूमिगत क्षेत्र खाली गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री