मनिला । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ । आँधीबेहरीले दक्षिणपूर्वी चीनमा बाढी र भूस्खलनको उच्च सम्भावना बढाएको अधिकारीहरूले चेतावनी दिएका छन् ।
रागासाले दुई सय १५ किलोमिटर प्रतिघण्टा (एक सय ३४ माइल प्रतिघण्टा) को स्थायी हावासहित दुई सय ६५ किलोमिटर प्रतिघण्टा (एक सय ६५ माइल प्रतिघण्टा) को झटका ल्याएको छ । फिलिपिन्सका पूर्वानुमानकर्ताहरूका अनुसार यो कागायन प्रान्तको कालायन टापु सहरको पूर्वमा केन्द्रित छ र २० किलोमिटर प्रतिघण्टा (१२ माइल प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ सरिरहेको छ । सोमबार दिउँसो वा साँझ कागायनको बाबुयान टापुहरू नजिकै अवतरण गर्नसक्ने अनुमान छ ।
फिलिपिन्स मौसम एजेन्सीले कागायन, बाटानेस, इलोकोस नोर्टे र इलोकोस सुरका तटीय क्षेत्रमा आगामी २४ घण्टाभित्र तीन मिटर (लगभग १० फिट) भन्दा अग्लो जीवनघातक समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ । कालायन टापु र अपायाओ प्रान्तमा विद्युत् आपूर्ति बन्द भएको छ । अहिलेसम्म स्थानीय रूपमा ‘नन्दो’ भनिने रागसाबाट हताहत वा ठूलो क्षतिको रिपोर्ट आएको छैन ।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राजधानी मनिला र उत्तरी लुजोन क्षेत्रका २९ प्रान्तमा सरकारी कामकाज र कक्षाहरू स्थगित गर्नुभएको छ । कागायनमा आठ हजार दुई सयभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् भने आकस्मिक बाढी र भूस्खलनको जोखिममा रहेका एक हजार दुई सय २० जना आपत्कालीन आश्रयमा पुगेका छन् ।
आँधीबेहरीका कारण उत्तरी प्रान्तका घरेलु उडानहरू स्थगित भएका छन् । माछा मार्ने डुङ्गा तथा अन्तर–टापु यातायातलाई बन्दरगाह नछोड्न निर्देशन दिइएको छ । यो वर्ष फिलिपिन्समा प्रहार गर्ने १४औँ मौसमी गडबडी बनेको रागासाको बेला संसद् र काङ्ग्रेस दुवैमा भ्रष्टाचार घोटालाको छानबिन भइरहेको छ, जसले घटिया वा अस्तित्वहीन बाढी नियन्त्रण परियोजनाहरू निम्त्याएको आरोप लागेको छ ।
पूर्वानुमानअनुसार रागासा चीनको मुख्यभूमि प्रवेश गर्नुअघि ताइवान र हङकङको दक्षिण हुँदै बुधबारसम्म दक्षिण चीन सागरमै रहनेछ । ताइवानका ताइतुङ र पिङटुङ काउन्टीका केही तटीय र पहाडी क्षेत्र, अर्किड र ग्रीन टापुमा बन्द गर्ने आदेश दिइएको छ ।
हङकङ र मकाउतर्फ आँधीको असर पर्ने भएकाले हङकङमा बाढी जोखिम भएका क्षेत्रमा सामान्यभन्दा दोब्बर बालुवाका बोरा उपलब्ध गराइएको छ । मकाउ प्रहरीले तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित निकासीका लागि तयारी गर्न आग्रह गरेको छ ।
मङ्गलबारदेखि चीनको गुआङ्गडोङ प्रान्तमा भारी वर्षा र प्रचण्ड हावाहुरी ल्याउने अनुमान छ । जियाङमेन, याङजियाङ, झोङ्सान र झुहाई सहरमा विद्यालय, कार्यालय, कारखाना र यातायात सेवा निलम्बन गर्ने आदेश जारी गरिएको छ ।
चीनको मौसम एजेन्सीका अनुसार रागासाले गुआङ्गडोङमा एकभन्दा बढी पटक अवतरण गर्न सक्नेछ । अधिकारीहरूले स्थानीय बासिन्दालाई आपत्कालीन आपूर्ति भण्डारण, ढोका–झ्याल मजबुत बनाउने र भूमिगत क्षेत्र खाली गर्न आग्रह गरेका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे