विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम)ले ‘विश्व पर्या कविता प्रतियोगिता–२०२६’ आयोजना गर्ने घोषणा गरेको छ।

“कवितामार्फत पृथ्वीको आवाज बनौँ” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा विश्वभर रहेका नेपाली भाषी स्रष्टाहरू सहभागी हुन सक्नेछन्। महासंघका अनुसार प्रतियोगितामा सहभागी हुने कविता नेपाली भाषामा लेखिएको, वातावरण तथा पर्यावरण विषयमा आधारित, पूर्ण रूपमा मौलिक र अप्रकाशित हुनुपर्नेछ।

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर तयार पारिएका कविता स्वीकार गरिने छैनन्। कविताको शब्द संख्या बढीमा २५० शब्दसम्म हुनुपर्ने तथा प्रतियोगिताको नतिजा सार्वजनिक नभएसम्म अन्यत्र प्रकाशन गर्न नपाइने जनाइएको छ।

प्रतियोगितामा सहभागीले आफ्नो पूरा नाम, ठेगाना, इमेल, मोबाइल नम्बर र फोटोसहित कविता [email protected] मा पठाउनुपर्नेछ। कविता पठाउने अन्तिम मिति ३० डिसेम्बर २०२६ (१५ पुस २०८३) तोकिएको छ।

प्रतियोगितामा उत्कृष्ट तीन कविलाई आकर्षक पुरस्कार दिइने छ । प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै सात स्रष्टालाई जनही २ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रम २२ अप्रिल २०२७ (९ वैशाख २०८४) अर्थात् पृथ्वी दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिनेछ।

महासंघले विश्वभर रहेका नेपाली स्रष्टाहरूलाई वातावरण संरक्षणको सन्देश फैलाउने सिर्जनात्मक अभियानमा सहभागी भई कविता पठाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री