
गोर्खा पीस फाउन्डेसन (जीपीएफ) बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको संस्था हो । यो फाउन्डेसनले विगत १३ वर्षदेखि बेलायतको आसफोर्ड केन्टमा गोर्खा वाकको आयोजना गर्दै आएको छ । यसवर्ष जुन ७ तारिखका दिन ग्रेट चार्ट प्लेइङ फिल्डस् आसफोर्डमा बिहान ११ बजेदेखि गोर्खा वाक सुरु हुने फाउन्डेसनले जनाएको छ । यसै इभेन्टका बारेमा फाउन्डेसनका अध्यक्ष भीमराज तुम्बाहाम्फेसँग गरिएको संक्षिप्त कुराकारी ।
तपाईंहरुले हरेक वर्ष गोर्खा वाकको आयोजना गर्दै आउनुभएको छ, यसको मुख्य उद्देश्य के हो ?
हाम्रो गोर्खालीको २ सय १० वर्षको इतिहासमा सबैभन्दा पछिल्लोपटक भिक्टोरिया क्रस (भीसी) पाएको पनि आज ६२ वर्ष भयो । जुन हामी जन्मनुभन्दा अगाडि हो । यही हिसाबले भन्ने हो भने गोर्खालीहरुले भीसी पाउने क्रम पनि हराउँदै गयो । किनभने अहिले कन्भेसनल वार हुँदैन । हाम्रा पुर्खाहरुले त्यत्रो ठूलो वीरताको मेडल जित्नुभएको छ । हामीले उहाँहरुको त्यत्रो वीरताको गाथा गाएनौं भने हाम्रा छोराछोरीहरुले त्यो बिर्सिन्छन् । त्यसैले उहाँहरुको इतिहास कहिल्यै पनि हराएर नजाओस् र आउने पुस्ताहरूले सम्झिराखुन् । हामीले त सम्झ्यौं सम्झ्यौं, हाम्रा छोरा,नातिले पनि सम्झिराखुन् भन्ने उद्देश्यले यो गोर्खा वाक सुरु गरेका हौं ।
यो वाक कति सालदेखि यो सुरु गर्नुभएको हो ?
सन् २०१३ देखि सुरु गरेका हौं । यो वर्ष १३ औं संस्करणको कार्यक्रम हुँदैछ ।
गोर्खा वाकमा १३ र साढे ६ किलोमिटरको दूरी राख्नुभएको छ । स्पेसिफिक दूरी राख्नुको कारण केही छन् कि ?
१३ जना भीसीको नाममा एक/एक किलोमिटरको हिसाबले १३ किलोमिटर राखिएको छ । एक जना भीसीको नाममा किन एक किलोमिटर नहिँड्दिने भनेर गरिएको हो । हामीले बुढापाका, बालबालिका, अपांगता भएकालगायत सबैलाई यस वाकमा समेट्छौं । उहाँहरुले भिसीहरुको नाममा आधा किलोमिटर हिँड्नसक्नुहुन्छ भन्ने हिसाबले एउटा साढे ६ किमी र एउटा १३ किमीको दूरी तय गरेका हौं ।
गोर्खा वाकमा हिँड्नु पर्ने कि दौड्ने हो ?
वाक एन्ड रन दुईटै हुन्छ । एकदम फिटेस्ट एन्ड फिटर कुद्नुहुन्छ । पुरुष, महिलातर्फ रेकर्ड राख्नेदेखि लिएर उहाँहरुका लागि ट्रयाकरहरु पनि राखिएको छ । सद्भावले जो हिँड्नु हुन्छ उहाँहरु गाउँदै हिँड्दै कन्ट्री साइडमा फ्यामिली वाक गर्ने हो । इन्जोय पनि गर्ने र इन्भाइरोमेन्ट फिल गर्ने पनि यो वाकको विशेषता हो ।
यसमा दर्ताका लागि कस्तो व्यवस्था छ ?
प्रि-रजिस्टर्ड पनि हुन्छ । यसका लागि गोर्खा पिस फाउन्डेसनको वेभसाइटमा गएर गर्न सक्नुहुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि ११ बजेसम्म कार्यक्रमस्थलमै पनि दर्ता हुन्छ । ८/१० जना स्वयंसेवकहरू रजिस्ट्रेसनमा बस्नुभएको हुन्छ । हामीलाई प्रि-रजिस्टर्ड हुँदा सजिलो हुने भएकाले त्यसमा प्रेरित गराउँछौं ।
सहभागी संख्यामा कोटा तोक्नुभएको छ कि ?
कुनै सीमा छैन । हामीसित एक लाख रजिस्टर्ड भए पनि सहभागी गराउन सक्ने ठाउँ छ ।
प्रि-रजिस्ट्रेसनका लागि शुल्क तोक्नुभएको रहेछ, त्यो सबैलाई एउटै हो कि फरक-फरक छ ?
एउटै छ । १५ पाउन्ड हो । यहाँको वाक एन्ड रनमा सबैभन्दा सस्तो इन्ट्री हाम्रो नै होला । हामीले कारपार्क शुल्क, मोनरञ्जन शुल्क लगाउँदैनौं भने त्यहाँ हुने मोटरबाइक शोको पनि केही शुल्क लाग्दैन ।

तपाईंहरुलाई यो कार्यक्रम गर्न सरकारी निकाय वा अन्य संस्थासंस्थाबाट सहयोग प्राप्त हुन्छ ?
हुँदैन । हामी प्राइभेट स्पोन्सरहरु खोज्छौं र रजिस्ट्रेसन फीको पैसामा रन गर्छौं ।
पहिलेको भन्दा यसपटक कार्यक्रममा केही फरक हुँदैछ ?
पहिलेको भन्दा टोटल्ली फरक छ । पहिले हामीले वाक एन्ड रनमात्रै गर्थ्यौं । एक/दुई जना कलाकार आएर मनोरञ्जन दिनुहुन्थ्यो । यसपटक चाहिँ यसलाई मेलाको रुपमै लाँदैछौं । त्यसमा नेपाली नौमती बाजा, नेपालबाट आउनुभएका पाँच जना राष्ट्रिय कलाकारहरु हुनुहुन्छ । उहाँहरुको सांगीतिक कार्यक्रम हुनेछ । विभिन्न जातिहरुको कला, संस्कार संस्कृति देखाइने छ साथै स्कटल्यान्डबाट पनि हामीलाई सपोर्ट गर्न बिग मोटरसाइकलहरू आउनेछन् । यसपटक अर्को आकर्षण भनेको हट एयर बेलुन गराउँदैछौं ।
कार्यक्रम आउन एक हप्ता मात्रै रहेछ, तयारी कहाँ पुग्यो ?
सबै कुरा तयार भइसक्यो । लिगल्ली हामीले काउन्सिल, हाइवे एजेन्सीसँग लिनुपर्ने अनुमति लिइसक्यौँ । यस कार्यक्रमका लागि मात्र सात वटा रोड बन्द हुनेछन् । ती सडकमा त्यसमा गोर्खा वाक गर्नेहरू र एडमिनिस्ट्रेटिभ सेफ्टी भेइकलहरु मात्रै चल्ने छन् । कानुनी र प्रशासनिक हिसाबले हामी तयारी भइसकेकोले अब कार्यक्रम हुने दिनको पर्खाइमा मात्रै छौं ।
यस साल कति सहभागी होलान् भन्ने अपेक्षा राख्नुभएको छ ?
हामीले ३ हजार आउनुहुन्छ कि भन्ने अनुमान गरेका छौं । किनभने हरेक वर्ष ३०/३५ प्रतिशत सहभागी बढिरहेका छन् । पोहोर २ हजार जतिको सहभागिता थियो ।

गोर्खा पीस फाउन्डेसनले अहिले गोर्खा वाकबाहेक अरु के के गर्दैछ ?
गोर्खा पीस फाउन्डेसनले बृहत् काम गरिरहेका छौं । नेपालमा हामीले १६ वटा स्कुललाई सपोर्ट गर्छौं । नेपालका पूर्वदेखि पश्चिमसम्मका स्कुलहरुमा संरचना बनाइदिने, आइटीको व्यवस्थापन, टीचरहरु सप्लाइ गरिदिने र गरिब तथा आवश्यक परेकाहरुलाई घरहरु बनाइदिने, पैसाका नभएकाहरुलाई मेडिकलका लागि सपोर्ट गर्ने, राम्रो पढ्ने विद्यार्थीहरुलाई फूल स्कलरसिपमा काठमाडौंमै राखेर पढाइराखेका छौं ।
यूकेमा चाहिँ के गरिरहनुभएको छ ?
यूकेमा बुढाबुढीहरुको बेनिफिटहरुदेखि लिएर कोर्ट केसलगायतमा सघाइरहेका छौं । त्यस्तै, नेपालबाट बेलायतमा बस्न पहिलोपटक आउने अधबैँसेहरुलाई उहाँहरुको श्रीमान्, श्रीमती ल्याउनमा निवेदन दिन सकाउने, लिगल केस हो भने अदालतमा जान सहयोग गर्ने, नेपालबाट आउनेवित्तिकै खाना र पैसा नहुनेहरुका लागि हामीले व्यवस्था गरिदिने गर्छौं ।
अन्त्यमा, गोर्खा वाकमा सहभागी हुन चाहनेलगायत जनमानसलाई तपाईंको के सन्देश छ ?
पहिले हामीलाई बेलायतमा ‘जोनी गोर्खा’ भनेर स्थानीयले चिन्थे, त्यो लिगेसी अहिले हराउँदै गएको छ । यहाँका लोकल पपुलेसन र बेलायतभित्र गोर्खालीहरु बेलायतप्रति लोयल छन् सपोर्ट गर्नुस् भन्न चाहन्छौं । त्यसैमा नेपाली कम्युनिटीलाई हामी अरु जस्तो होइन है, फरक छौं । राष्ट्रियताको हिसाबले हामी एउटै देशका मान्छे हौँ तर व्यावसायिक हिसाबले गोर्खालीको लिगेसी फरक छ भन्ने देखाउन चाहन्छौँ । त्यस्तो लिगेसी यहाँका सामान्य नागरिकलाई देखाउन हाम्रो संख्या चाहिन्छ । हाम्रा १३ जना पुर्खाहरुले बेलायतको उच्च पदवी जितेका छन् । उहाँहरुको योगदान बिर्सन हुँदैन । त्यसका लागि तपाईंहरुको उपस्थिति जरुरी छ । सक्दो उपस्थिति जनाइदिनुहोला भन्नु चाहन्छु ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल