
काठमाडौँ । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ३८५ महिला,३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ । यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उहाँको भनाइ छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सम्पन्न भएको हो । उहाँले अब निर्वाचित हुने जनप्रतिनिधिले देशमा सुशासनका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अब मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको दाबी विरोध, छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर माघ ९ गते निर्वाचन चिह्न प्रदान गरिने उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसपछि घरदैलो कार्यक्रम गर्न सक्ने जानकारी गराउनुभयो । निर्वाचन प्रचारप्रसारका ठूला कार्यक्रम भने फागुन ४ गतेपछि मात्र गर्न पाउने उहाँले बताउनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समन्वयात्मक रूपमा चारवटै सुरक्षा निकायलाई परिचालन गरी निर्वाचन कार्यक्रम सम्पन्न गरिने बताउनुभयो । यसैगरी प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले राजीनामा दिएकाले छ महिनाभित्र सरकारसँग सल्लाह गरेर खाली भएका क्षेत्रमा निर्वाचन गराउने उहाँको प्रतिबद्धता थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस वर्ष आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले यसलाई पालना गर्न आह्वान गर्नुभयो । निर्वाचन आचारसंहिताको पालना नगरेको भनेर उजुरी परेमा आयोगले कानुनबमोजिम कारबाही गरिने प्रष्ट पार्नुभयो ।
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]