
लन्डन । तमु समाज युकेले तमु समुदायको महान् पर्व तमु ल्होछार/ल्होसारको अवसरमा सर्प वर्गको बिदाइ तथा घोडा वर्गको स्वागत गर्दै विशेष ग्रहशान्ति तथा शुद्धीकरण पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम २७ डिसेम्बर २०२५, शनिबारका दिन लन्डनको वेम्बलीस्थित बरहामपार्कमा रहेको तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा सम्पन्न भएको हो । समाजका उपाध्यक्ष केदारबहादुर गुरुङको संयोजकत्वमा तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङको व्यवस्थापनमा आयोजित कार्यक्रममा पूजा प्रारम्भ हुनुअघि Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर, फार्नबोरोका प्रमुख लामा ड्रुब्ला गुरुलाई तमु समाज युकेकी अध्यक्ष बिन्दुकुमारी घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष बिमला घले गुरुङले स्वागत गर्दै पूजास्थलमा आमन्त्रण गर्नुभएको थियो ।
पूजा प्रारम्भअघि संयोजक उपाध्यक्ष केदारबहादुर गुरुङले धर्मगुरुहरूको परिचय गराउँदै पूजास्थलमा अपनाउनुपर्ने हेल्थ एण्ड सेफ्टीसम्बन्धी आवश्यक जानकारी गराए । त्यसपछि समाजकी अध्यक्ष बिन्दुकुमारी घले, आमा समूहकी अध्यक्ष बिमला गुरुङ तथा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन र छ्योख अर्पण गरी पूजा कार्यक्रम आरम्भ गराउनुभएको थियो ।
पूजा कार्यक्रमको निर्देशन तथा समन्वय संयोजक केदारबहादुर गुरुङ र सहयोगी लामागुरु रविन्द्र लोसालले गर्नुभएको थियो । नेपालबाट आएका लामा ड्रुब्ला गुरु तथा उनका सहयोगी रविन्द्र लोसालद्वारा धार्मिक विधि विधानअनुसार ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न गरिएको थियो । सोही अवसरमा लामा ड्रुब्ला गुरुले यस वर्षको नयाँ ल्हो त ल्हो (घोडा वर्ग)सम्बन्धी विशेष जानकारी दिँदै घोडा वर्गमा जन्मिएका व्यक्तिहरूले यस वर्ष अपनाउनुपर्ने सावधानीका पक्षहरूबारे मार्गदर्शन गर्नुभयो । साथै उहाँले ग्रहशान्ति तथा शुद्धीकरण पूजाको महत्वबारे उपस्थित सबैले सहज रूपमा बुझ्ने गरी सारगर्भित प्रवचन दिनुभएको थियो ।
पूजा कार्यक्रम समापनपछि समाजकी अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरूबाट धर्मगुरुहरूलाई विधिपूर्वक गुरुदक्षिणा प्रदान गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो ।

समापन समारोहमा संस्थाका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पूजा कार्यक्रममा स्वतःस्फूर्त रूपमा द्रव्यदान गर्ने महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै नामावली वाचन गर्नुभएको थियो ।
यसैगरी आमा समूहकी अध्यक्ष बिमला गुरुङले भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने आमा दिदीबहिनीहरूको नामावली वाचन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अन्त्यमा तमु समाज युकेकी अध्यक्ष बिन्दु घलेले पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिदिने धर्मगुरुहरू, संयोजक उपाध्यक्ष केदारबहादुर गुरुङ, द्रव्यदान, भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने सहयोगीहरू, व्यवस्थापनमा खटिने आमा, दिदीबहिनीहरू तथा कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
सोही क्रममा अध्यक्ष घलेले तमु समाज युकेले आगामी ३ जनवरी २०२६, शनिबार ह्यारो लेजर सेन्टरमा हर्षोल्लासका साथ तमु ल्होछार/ल्होसार उत्सव आयोजना गर्न लागेको जानकारी गराउनुभयो । साथै नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी कलाकारद्वय चिज गुरुङ र निर्जला गुरुङको विशेष प्रस्तुति रहने, आकर्षक राफल ड्र पुरस्कारहरूसमेत समावेश हुने भएकोले सबैलाई कार्यक्रममा उपस्थित भइदिन उहाँले अनुरोध गर्नुभएको छ ।
बिहान १० बजे शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको कार्यक्रममा तमु समाज युकेका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू, आजीवन सदस्यलगायत समाजका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मको उल्लेख्य उपस्थिति रहेको थियो।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला