
काठमाडौँ । नेपाल सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा बालानन्द शर्मालाई शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो ।
नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका उहाँ प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुनुहुन्छ ।
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताउनुभएको छ । मन्त्रालयमा पदबहालीका क्रममा उहाँले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।”