नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिँदैछ ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीलगायतका विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधिसमेत सहभागी छन् । त्यस्तै भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको एमालेले जनाएको छ ।
महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटाइएको छ । महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था मिलाइएको छ । उद्घाटनअघि गठ्ठाघर र जगातीबाट भव्य र्याली निकालिएको थियो ।