लण्डन । बेलायतमा निधन हुनुभएका गोर्खा सैनिक तथा स्रष्टा नरेश नातिको अन्त्येष्ठी उहाँको जन्मस्थान पाँचथरमा गरिएको छ ।
सेप्टेम्बर २७ मा उहाँको पार्थिव शरीरलाई बेलायतबाट गृहजिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६, कन्याटारमा पुर्याई आफन्त, गाउँले र साथीहरूको उपस्थितिमा किरात सँस्कार अनुसार परम्परागत रूपमा अन्त्येष्ठी गरिएको थियो ।
सन् २००२ सालमा ब्रिटिश सेनामा भर्ती भई नौ महिने तालिम पूरा गरी रोयल गोर्खा राइफल्समा २१ वर्षको सेवापश्चात् दुई वर्षदेखि उहाँ रोयल इलेक्ट्रोनिकल एण्ड मेकानिकल इन्जिनियरमा सरूवा भई काम गर्दै आउनु भएको थियो । बेलायती सेनामा २३ वर्ष पूरा गरि सैन्य जीवनबाट अवकास लिने तयारीमा रहनुभएका उहाँको सेप्टेम्बर ७ तारिखमा आफ्नै निवास टिथवर्थ बेलायतमा निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई सेप्टेम्बर २० तारिखमा अवलोकनका लागि राखिएको थियो । जहाँ बेलायतमा बसोबास गरिरहेका उहाँका आफन्त, साथीसंगी र नम्बरीहरूले उहाँलाई अन्तिम बिदाई गरेका थिए। त्यसैगरी, सेप्टेम्बर २२ तारिखमा टिडवर्थ क्याम्पमा उनको सम्मानमा एक बृहत श्रद्धान्जलि सभाको आयोजना गरिएको थियो ।
साहित्यकार, गायक तथा संगीतकार नरेश माङपाहाङ राई (नाति) पाँचथर कन्याटारमा बाबा खोबिन्द्र माङपाहाङ राई र आमा हरिमाया राईको कोखबाट बि. सं २०३६ साल माघ २२ गते जन्मनु भएको थियो । उहाँ बेलायतको टिथवर्थमा श्रीमती मनमाया मुकारुङ राई र छोरी परिशा माङपाहाङ राईको साथमा बस्दै आउनु भएको थियो ।
नाति एक सामाजिक अभियान्ता पनि हुनुहुन्थ्यो । उहाले मिक्लाजुंग गाउँपालिका, वार्डनम्बर ६, कन्याटारमा साढे एक करोड बराबरमा निर्माण भएको विशाल सभाहलको निर्माणमा अग्रणी भूमिका खेल्नुभएको थियो भने गाउँमा वृक्षारोपन अभियान, दार्जिलिङ्गबाट दुई अंग्रेजी शिक्षक झिकाई दुई वर्षसम्म शिक्षामा लगानी, ५ लाख बराबरको विभिन्न वाद्यवादन गाउँमा उपलब्ध गराउनुभएको थियो । वार्षिक रुपमा सांगीतिक र जनचेतनामूलक कार्यक्रम, ज्येष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्य उहाँले गर्दै आउनु भएको थियो। साथै गाउँमा संगीत विद्यालय स्थापना गर्न अग्रणी भूमिका खेल्नु भएको थियो। उहाँ साहित्य, कथा, गीत, मुक्तक, कविता, गायन, सङ्गीत समायोजन, वाद्यवादन (हार्मोनियम, गिटार, मादल) मा अत्यन्तै रुचि राख्ने ब्यक्ति हुनुहुन्थ्यो। उहाँका प्रकाशित कृतिहरुमा बाटो खोज्दा खोज्दै ( गीति संग्रह २००९), मन बैमानी (मुक्तक संग्रह २०१३), देश बिर्सेर (कथा संग्रह २०१८) र मुक्तम महक (सङ्युक्त मुक्तक संग्रह २०१९) रहेका छन्। उहाँले लगभग २० भन्दा बढी गीतहरुमा सङ्गीत गरिसक्नु भएको छ। उहाँको संगीतमा नेपालका चर्चित गायक गायिकाहरू अन्जु पन्त, कुबेर राई,मिलन अमात्य,राजेश पायल राई, निशा देशार आदिले स्वर दिइसक्नु भएको छ ।
उहाँ नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक सदस्य रहनुका साथै दुई कार्यकाल (६ वर्ष) सचिवको कार्यभार सम्हाल्नु भएको थियो । कन्याटार सिर्जनशील युवा तथा प्रवाशी समूह पाँचथरका संस्थापक सदस्य साथै रबि महाभारा बेल्ट युकेका सदस्य समेत रहनुभएको थियो । स्रष्टा नरेश नातिलाई गत वर्ष मात्रै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा अभिव्यक्ति सम्मानले सम्मानित गरिएको थियो।