रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना

मस्को । करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ । अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै बाँचेकाको सङ्केत नदेखिएको बताएका छन् ।

अङ्गारा एयरलाइन्सले सञ्चालन गरेको यो दुई प्रोपेलर भएको एन्टोनोभ–२४ विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा सहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १:०० बजे (०४०० जिएमटी) राडारबाट हराएको थियो । पछि एउटा उद्धार हेलिकप्टरले टिन्डाबाट लगभग १६ किलोमिटर (१० माइल) टाढाको जङ्गल भएको पहाडी ढलानमा जलिरहेको विमान देखेको थियो ।

रूसी अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको भिडियोहरूमा घना, जङ्गली क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

हेलिकप्टरमा रहेका उद्धारकर्ताहरूले कुनै बाँचेकाको प्रमाण नदेखेको स्थानीय उद्धारकर्ताहरूले बताए । अमुर क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले घटनास्थलमा स्थल टोली पठाउने बताएको छ ।

जङ्गली भू–भागले घटनास्थलमा पुग्न कठिनाई भएको एक उद्धारकर्ताले राज्य समाचार एजेन्सी तासलाई बताए । रूसी सहर इर्कुत्स्कमा आधारित सानो क्षेत्रीय वाहक अङ्गारा एयरलाइन्सले तुरुन्त कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री