
नयाँ दिल्ली । भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान जुन १२ मा दुर्घटना हुँदा दुई सय साठी जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाको केही क्षणअघि विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि भएको छ ।
भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेन्डमै इन्जिन–१ र इन्जिन–२ का इन्धन नियन्त्रण स्विचहरू ‘सञ्चालन’ बाट ‘बन्द’ स्थितिमा क्रमशः एक सेकेन्डको अन्तरमा सारिएका थिए ।
ककपिटमा रेकर्ड गरिएको कुराकानीमा एक पाइलटले अर्का पाइलटलाई सोधेका छन्,“तपाईंले इन्धन किन बन्द गर्नुभयो?“जवाफमा उहाँले ‘मैले बन्द गरेको होइन’ भनेका छन् । त्यसपछि विमानले केही बेरमै जमिनमा खसेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दुर्घटनापछि इन्धन आपूर्ति पुनः सुरु भएको र इन्जिन सञ्चालनमा आउने संकेत देखिए पनि पाइलटले ‘आपतकालीन सन्देश’ पठाइसकेका थिए । त्यसपछि विमान पूर्ण रूपमा नियन्त्रणबाहिर गएको थियो ।
प्रतिवेदनमा सन् २०१८ मा संयुक्त राज्य विमान नियामक निकायले इन्धन नियन्त्रण प्रणालीमा लक गर्ने प्रविधि असफल हुन सक्ने विषयमा जानकारी दिएको स्मरण गरिएको छ । तर, यो बाध्यकारी निर्देशन नभएको भन्दै एयर इन्डियाले सो सुझाव अनुसार निरीक्षण नगरेको जनाएको छ ।
प्रतिवेदनमा विमान निर्माता तथा इन्जिन निर्माता कम्पनीको तर्फबाट कुनै प्राविधिक कमजोरी नदेखिएको जनाइएको छ । साथै, विमान सञ्चालनसम्बन्धी सम्पूर्ण निर्देशनहरू पालना गरिएको पनि उल्लेख छ ।
दुर्घटनामा एक जना मात्र यात्रु जीवित रहेका छन्, जो बेलायतका नागरिक हुन् । उहाँ विमान दुर्घटनापछि केही दूरी हिँडेर सुरक्षित स्थानमा पुगेका थिए र अहिले स्वास्थ्य संस्थाबाट घर फर्किसकेका छन् ।
विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाका कारण जमिनमा रहेका १९ जनाको पनि ज्यान गएको छ भने केही घाइते भएका छन् ।
दुर्घटनाको कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन । अन्तर्राष्ट्रिय विज्ञ, विमान निर्माता कम्पनी, इन्जिन निर्माता तथा सम्बन्धित निकायहरू मिलेर अनुसन्धान गरिरहेका छन् । बाँकी प्रमाण संकलन तथा विश्लेषणको कार्य जारी रहेको छ ।
एयर इन्डियाले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ भने विमान निर्माता कम्पनीले प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे