स्टोनहेञ्जले सम्झाई दिएको सूर्य पूजा

 जुन २१ विश्वभरका धेरै देशहरूमा प्राकृतिक, सांस्कृतिक, आध्यात्मिक र अन्तर्राष्ट्रिय महत्व बोकेको विशेष दिन हो । आज सूर्यले आकाशको सबैभन्दा उच्च बिन्दु छोएर कर्कट रेखामाथि सीधा चम्कने हुँदा यो खगोलीय दृष्टिले अति महत्वपूर्ण मानिन्छ। यसलाई ग्रीष्म अयनान्त (Summer Solstice) भनिन्छ। जुन उत्तरी गोलार्द्धमा वर्षको सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुने दिन हो। आज बेलायतको  स्टोनहेंज लगायत विभिन्न स्थानहरुमा विशेष जमघटहरु भैरहेका छन्। केवल खगोलीय दृष्टिले मात्र होइन, मानव स्वास्थ्य, अध्यात्म, प्रकृति, र कला–सङ्गीतको सम्मानस्वरूप संसारभर आज अन्तर्राष्ट्रिय योग दिवस (International Yoga Day) र विश्व संगीत दिवस (World Music Day) धुमधामले मनाइरहेका छन्।

 संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि मान्दै आएको योग दिवस भारतमा शिवलाई पहिलो योगी (आदियोगी) को रुपमा विशेष ढंगले मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा संयुक्त राष्ट्रसंघमा गरेका थिए। त्यसपछि संयुक्त राष्ट्रसंघले डिसेम्बर ११, २०१४ मा सो प्रस्ताव स्वीकार गर्दै जुन २१ लाई योग दिवस घोषणा गरेपछि  सन् २०१५ देखि विश्वभर मनाउन थालिएको हो। विश्व संगीत दिवस (World Music Day) सन् १९८२ जुन २१ मा फ्रान्सबाट सुरु भएको हो। यो दिवस फ्रान्सका सांस्कृतिक मन्त्री ज्याक लाङ र संगीत निर्देशक मौरिस फ्लेरेको पहलमा सुरु गरिएको हो। यसको उद्देश्य सबैका लागि संगीतलाई निःशुल्क र खुला बनाउने हो। आज यो दिवस १२० भन्दा बढी देशहरूमा निःशुल्क कन्सर्ट र सार्वजनिक संगीत कार्यक्रमहरू आयोजना गरी मनाइन्छ ।

लन्डनबाट करिब १३५ किलोमिटर पश्चिमतर्फ विल्टशायर जिल्लामा अवस्थित स्टोनहेञ्ज बेलायतको प्रमुख विश्व सम्पदा स्थल र पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। यसलाई विश्वको सबैभन्दा प्रसिद्ध प्रागैतिहासिक स्मारकहरू मध्ये एक मानिन्छ। महामारी अघि यहाँ वार्षिक रुपमा करिब १.६ मिलियन ( १६ लाख ) मानिसहरूले भ्रमण गर्ने गर्थे । तर कोभिडको प्रभावले केही वर्ष कम भए पनि  अहिले पुनः आगन्तुकहरूको संख्या बढ्दै करिब १.३३ मिलियन (१३ लाख ) पुगेको देखिन्छ। स्टोनहेञ्ज क्रिसमस डेबाहेक वर्षभरि खुला रहन्छ। स्टोनहेन्ज गर्मी सिजन (मार्च १६–सेप्टेम्बर ६) मा बिहान ९:३० बजे देखि बेलुका ७:०० बजेसम्म, र जाडो सिजन (सेप्टेम्बर ७–मार्च १५) मा बिहान ९:३० देखि साँझ ५:०० बजेसम्म खुल्छ। विशेष मितिहरूमा भने खुल्ने समय फरक हुन सक्छ। उमेर अनुसार फरक फरक शुल्क लाग्ने भए पनि ग्रीष्म अयनान्तको अघिल्लो साँझदेखि बिहान आठ बजेसम्म भने निशुल्क प्रवेश गर्न दिने गरिन्छ । शीत अययान्तमा भने बिहान ७:४५ देखि १०:०० बजेसम्म भित्र जान टिकट लाग्दैन।

 ग्रीष्म अयनान्तको पूर्वसाँझ स्टोनहेञ्जमा विशेष र उत्सवपूर्ण वातावरण हुन्छ। संसारभरिबाट करिब ५० भन्दा बढी देशका २० हजारभन्दा बढी मानिसहरू यहाँ भेला हुन्छन्। रात बिताउन नसक्नेहरु भने बिहानै त्यहाँ पुगेर भोलिपल्ट बिहान सूर्योदय हेर्नको लागि मानिसहरू भेला भएर प्रकृति र प्राचीन परम्पराहरूको सम्मान गर्छन्। त्यस रात विभिन्न गतिविधिहरू चल्छन्—ढोल बजाउने, गीत गाउने, नृत्य गर्ने, ध्यान गर्ने र योग गर्ने चलन छ। केहीले पगान र ड्रुइड परम्पराबाट प्रेरित धार्मिक र आध्यात्मिक अनुष्ठानहरू पनि गर्छन् भने अरूले सामूहिक उत्सव र सांस्कृतिक आनन्द लिन्छन्। यो अवसर प्राकृतिक चक्र र जीवनको सम्मान गर्दै सांस्कृतिक र आध्यात्मिक मेलमिलापको रूपमा मनाइन्छ।

 स्टोनहेञ्ज र सूर्यबीचको सम्बन्ध अत्यन्तै गहिरो र प्राचीन छ। स्टोनहेञ्जलाई खासगरी खगोलीय वेधशाला वा ‘सोलार मन्दिर’ भनेर पनि चिनिन्छ किनभने यसको संरचना सूर्यको विशेष अवस्थासँग मेल खाने गरी बनाइएको हो। गर्मी संक्रान्तिको बिहान, सूर्यको किरणहरू स्टोनहेञ्जका विशाल ढुङ्गाहरूको बीचबाट सीधा उदाउँछन्, जुन कर्कट रेखासँग सम्बन्धित छ। यसले प्राचीन मानिसहरूलाई वर्षको सबैभन्दा लामो दिन र प्राकृतिक चक्रको आरम्भ बुझ्न सहयोग गर्थ्यो।

 स्टोनहेन्ज शब्दको अर्थ पुरानो अङ्ग्रेजी भाषाबाट आएको मानिन्छ। “Stone” शब्दले ठूला ढुंगाहरूलाई जनाउँछ भने “Henge” भन्ने शब्द “hen(c)en” भन्ने पुरानो अङ्ग्रेजी शब्दबाट व्यूत्पन्न भएको हो। जसको अर्थ झुण्ड्याउनु वा जोडिनु भन्ने हुन्छ। यो नाम सम्भवतः स्टोनहेन्जमा तेर्सो रूपमा राखिएका ढुंगाहरू (lintels) ले ठाडो ढुंगाहरूलाई जस्तै झुण्डिएको देखिने विशेष शैलीमा राखिएको कारणले दिइएको हो। आधुनिक पुरातत्त्वशास्त्रमा “henge” भन्नाले वृत्ताकार खाल्डो र त्यसको बाहिर बनेको बाँधलाई जनाइन्छ तर स्टोनहेन्जमा खाल्डो ढुंगा घेराभित्र छ, जसले गर्दा यो परिभाषाअनुसार साँचो “henge” होइन। यद्यपि, नाममा समावेश “henge” शब्दका कारण यो ढुंगाको झुण्डिएको वा मिलाइएको शैलीलाई जनाउने संकेत दिन्छ। त्यसैले स्टोनहेन्जको अर्थ सामान्य रूपमा “झुण्ड्याइएको ढुंगाहरूको संरचना” भनेर बुझिन्छ, जुन यसको अद्वितीय निर्माणशैलीसँग गहिरो रूपमा सम्बन्ध राख्दछ। 

लेखक सुरेन्द्र नेपाल श्रेष्ठ

यस्तैगरी, शीत अयनान्तको  बेलुकी सूर्य अस्ताउँदा पनि स्टोनहेञ्जको ठूला ढुङ्गाहरूले सूर्यको मार्गलाई संकेत गर्छन्। यी प्राकृतिक घटनाहरूले प्राचीन कालमा जमिन, मौसम र कृषिसँग सम्बन्धित धार्मिक र सांस्कृतिक अनुष्ठानहरूमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिन्छ। स्टोनहेञ्जको स्थान र संरचनाले सूर्यको गति र समय मापन गर्न मद्दत पुर्याउँथ्यो। जसले कृषि तथा जनजीवनलाई सहज बनाउँथ्यो। यसकारण स्टोनहेञ्जलाई सूर्यको पूजा र प्राकृतिक चक्रलाई सम्मान गर्ने स्थानको रूपमा मानिन्छ।

 स्टोनहेञ्जको निर्माण करिब ईसा पूर्व ३००० देखि २००० को बीचमा भएको मानिन्छ। जुन नवपाषाण युगदेखि कांस्य युगसम्मको समय हो। यसको निर्माण विभिन्न चरणमा भएको थियो। जसमा पुरातत्वविद्हरूले तीन प्रमुख चरणहरूको पहिचान गरेका छन्। पहिलो चरणमा, करिब ई.पू. ३१०० मा गोलाकार खाल्डो (हेंज) र त्यसको वरिपरि माटोको किनारा निर्माण गरियो। दोस्रो चरणमा, करिब ई.पू. २५०० मा ठूला ढुंगाहरू “सार्सेन स्टोन”र टाढाबाट ल्याइएका साना “ब्लूस्टोन”हरू प्रयोग गरी गोलाकार ढाँचामा ढुंगाहरू उभ्याइयो। अन्तिम चरणमा करिब ई.पू. २००० मा यी ढुंगाहरूको पुनःसमायोजन गरी अहिले देखिने स्वरूप दिइयो। यसरी स्टोनहेञ्ज झण्डै एक हजार वर्ष लगाएर बनाइएको एक अद्भूत प्राचीन स्मारक हो।

स्टोनहेञ्ज प्राचीन समयमा कसरी बनाइएको थियो भन्ने कुरा आजसम्म पूर्ण रूपमा पत्ता लागेको छैन। तर इतिहासकार र पुरातत्वविद्हरूले केही महत्वपूर्ण तर्क र अनुसन्धान प्रस्तुत गरेका छन्। करिब ४५०० वर्ष पहिले (प्राचीन ब्रोंज युगमा), स्थानीय मानिसहरूले २५–५० टन तौल भएका विशाल ढुंगाहरू (ब्लु स्टोन र स्यान्डस्टोन) लाई करिब २५ किलोमिटर देखि २०० किलोमिटर टाढा रहेका खानीहरूबाट ल्याएका थिए। यी ढुङ्गाहरूलाई ल्याउन मानवीय श्रम, काठका रोलर, डोरी र सम्भवत: पानीका बाटोहरूको मद्दत लिइएको अनुमान छ। ढुङ्गाहरूलाई सोझो र सन्तुलित तरिकाले उभ्याउन र जोड्न ठूला खाल्डा खनेका थिए र उनीहरूलाई गहिरो खाल्डामा जरा जस्तो गाडेर टिकाउ बनाइएको थियो। यस्ता विशाल संरचना निर्माण गर्न हजारौं मानिसहरूको समन्वय, योजना र धेरै वर्षको परिश्रम लागेको थियो। त्यस समयमा कुनै आधुनिक मेसिन वा प्रविधि नहुँदा, मानिसहरूले बल, बुद्धि र सामूहिक मेहनतको सहायताले यी अद्भूत ढुङ्गा संरचना बनाएका हुन्। स्टोनहेञ्जको निर्माणले तत्कालीन समाजको उन्नत सामाजिक संगठन, धार्मिक विश्वास र खगोल विज्ञानमा गहिरो ज्ञान रहेको स्पस्ट छ। त्यसैले स्टोनहेञ्जको निर्माण प्रक्रिया आफैंमा एक आश्चर्य हो।

स्टोनहेञ्ज केका लागि निर्माण गरिएको होला भन्ने पनि विभिन्न अनुमानहरु छन्। यसको एक मात्र नभई अनेक महत्व रहेको देखिन्छ। नवपाषाण युगका मानिसहरूले धार्मिक स्थलका रूपमा प्रयोग गरेको विश्वास गरिन्छ। जहाँ उनीहरूले प्रकृति र खगोलीय शक्तिहरूको पूजा गर्थे। अब्रे होल्समा फेला परेका मानव अवशेषहरूले मृत्यु र पुनर्जन्मसँग सम्बन्धित अनुष्ठानहरू हुने संकेत गर्छन्। यसबाहेक, स्टोनहेञ्ज सूर्य, चन्द्रमा र ताराहरूको गतिसँग मेल खाने खगोलीय संरचना पनि हो। जुन सम्भवतः कृषि र धार्मिक चाडपर्वको समय निर्धारण गर्ने प्राचीन क्यालेन्डरको रूपमा प्रयोग भएको थियो। साथै, यसको निर्माणमा हजारौँ मानिसहरूको सहभागिता आवश्यक पर्ने अनि भोज, उत्सव र सामूहिक गतिविधिहरू  गर्ने भएकोले सामाजिक र सांस्कृतिक केन्द्रको रूपमा पनि रहेको हुन सक्छ।

स्टोनहेञ्जसँग धेरै रहस्यहरू पनि जोडिएका छन्। ब्लूस्टोन्स जस्तो ढुंगा २०० माइल टाढाबाट किन ल्याइयो भन्ने प्रश्न अझै अनुत्तरित छ। ती ढुंगाहरुमा  धार्मिक महत्व वा  उपचारात्मक शक्ति छ कि भन्ने बारे पनि अध्ययन हुने गरेका छन्। 

 वेल्समा पनि स्टोनहेञ्जजस्तै पुरातात्त्विक महत्व भएका धेरै ढुंगा संरचनाहरू भेटिन्छन्। जसले प्राचीन समयको धार्मिक, खगोलीय र सामाजिक गतिविधिहरूको झलक दिने गरेका छन् । विशेष रूपमा पेम्ब्रोकशायरको प्रिसेली हिल्समा रहेको Waun Mawn क्षेत्रमा भेटिएका ढुंगाहरूलाई स्टोनहेञ्जमा प्रयोग भएका ब्लूस्टोनहरूकै स्रोत मानिन्छ। यस क्षेत्रको गोलाकार ढाँचा स्टोनहेञ्जको प्रारम्भिक रूपसँग मेल खाने देखिन्छ। त्यस्तै, Pentre Ifan वेल्सकै सबैभन्दा प्रसिद्ध नेओलिथिक डोलमेन हो, जसमा तीनवटा ढुंगाका  खम्बाहरुले एक ठूलो ढुंगालाई अड्याइएको छ । Bryn Celli Ddu (Anglesey) एक प्राचीन समाधिस्थल हो, जुन सूर्यको गति अनुसार संरेखित छ र मृत्युपछि जीवनको विश्वाससँग सम्बन्धित मानिन्छ। Bryn Cader Faner तथा Bryn Gwyn Stones जस्ता ढुंगा संरचनाहरूले पनि सूर्यको गति तथा खगोलीय घटनासँग सम्बन्ध राख्ने विश्वास गरिन्छ। यी स्थलहरूले वेल्स र इङ्ल्याण्डबीचको पुरातात्त्विक सम्बन्धलाई प्रष्ट प्रस्ट पारेका छन्  । बेलायतमै रहेको एभबरी (Avebury) स्टोनहेञ्जभन्दा ठूलो छ र खगोलशास्त्रीय महत्व बोकेको छ। स्कटल्याण्डको क्यालानिश स्टोन (Callanish Stones) र ब्रोडगार्को रिङ (Ring of Brodgar) पनि यस्तै प्राचीन ढुंगे गोलाकार संरचनाहरू हुन्। बेलायत बाहिर फ्रान्सको कार्नाक स्टोन्स (Carnac Stones), टर्कीको गोबेक्ली तेपे (Göbekli Tepe), आयरल्याण्डको न्युग्रेन्ज (Newgrange) र इजिप्टको नाब्ता प्लाया (Nabta Playa) यस्ता स्थलहरू हुन्, जुन प्राचीन धार्मिक, खगोलीय वा सामाजिक गतिविधिसँग सम्बन्धित छन्।

 स्टोनहेञ्जलाई लिएर धेरै रहस्यमयी किंवदन्तीहरू प्रचलित छन्। जसमा जादुगर मर्लिन र प्राचीन धार्मिक समूह ड्रुइडहरू मुख्य पात्रको रूपमा उल्लेख हुन्छन्। मध्ययुगीन कथाहरूअनुसार, मर्लिनले स्टोनहेञ्जलाई जादुबाट निर्माण गराएका थिए भन्ने विश्वास गरिन्छ। त्यस्तै प्रकृति र खगोलीय शक्तिको पूजा गर्ने ड्रुइडहरूले यसलाई अनुष्ठान र पूजाका लागि प्रयोग गरेको भनिन्छ। यस्ता कथाहरूले स्टोनहेञ्जलाई एक जादुई र अध्यात्मिक स्थलको रूपमा रोचक बनाएको भए पनि, यिनमा ऐतिहासिक प्रमाण भने भेटिएको छैन। यी किंवदन्तीहरू वास्तविक इतिहासमा नभई मुख्यतः जनश्रुति र साहित्यमा मात्र आधारित छन्।

 कसैले चाहिँ उत्तरी आयरल्याण्डमा अवस्थित प्राकृतिक चट्टानहरूको समूह “जायन्ट्स कॉजवे”संग पनि जोडेको देखिन्छ। आयरिश जायन्ट (राक्षश )फिन म्याककुलले स्कटल्याण्डसम्म जानको लागि समुन्द्र पार गर्नको लागि ढुंगाको बाटो बनाएको भन्ने किंवदन्ती प्रचलित छ। वैज्ञानिकहरुले “जायन्ट्स कॉजवे” लगभग ५०–६० लाख वर्ष अगाडि ज्वालामुखीय गतिविधिका कारण बनेको हो। त्यहाँ ४० हजारभन्दा बढी हेग्जागोनल (छ कोणीय ढुंगा ) बेसाल्ट स्तम्भहरू रहेका छन्। यसले  समुद्रको छेउमा अद्भुत दृश्य देखाउँछ।

आधुनिक पुरातत्वविद्हरूले स्टोनहेञ्ज र यसको वरपरका क्षेत्रहरूमा उत्खनन र अनुसन्धान जारी राखेका छन्। हालैका वर्षहरूमा स्टोनहेञ्जको नजिकै अन्य प्राचीन संरचनाहरू र बस्तीहरू फेला परेका छन्, जसले यो क्षेत्रको सांस्कृतिक र सामाजिक महत्वलाई अझ स्पष्ट पारेको छ। तर यसको उत्पत्तिको वास्तविक इतिहास लेख्न भने अझै धेरैले लामो समय मेहेनेत गर्नु पर्ने देखिन्छ।

आजको दिन विश्वका धेरै देशहरूमा स्टोनहेञ्जजस्तै विशेष पर्वहरू मनाइन्छ। युरोपमा स्वीडेनमा ‘मिडसमर’ पर्व धूमधामले मनाइन्छ, जहाँ पुष्पमाला बनाउने, नाचगान गर्ने र गाउँले भोज गरिन्छ। नर्वेमा पर्वतमाथि ठूलो बोनफायर बालिन्छ भने लिथुआनिया र लात्भियामा फूलमाला, नाचगान र सूर्यको पूजा गरिन्छ। उत्तर अमेरिकामा क्यानाडामा आदिवासी सांस्कृतिक नृत्य र संगीत कार्यक्रम आयोजना गरिन्छ। आर्कटिक क्षेत्रको आलास्कामा ‘मिडनाइट सन गेम’ नामक अनौठो बेसबल खेल खेलिन्छ । आइसल्याण्डको रेक्जाविकमा तीन दिनसम्म चल्ने इलेक्ट्रो संगीत फेस्टिवल हुन्छ भने रसियाको सेन्ट पिटर्सबर्गमा ‘ह्वाइट नाइट्स’ फेस्टिवलमा ओपेरा, संगीत र आतिशबाजी गरिन्छ। प्राचीन स्थलहरू जस्तै पोर्चुगलको Almendres Cromlech र आयरल्यान्डको Newgrange मा पनि सूर्यसँग सम्बन्धित अनुष्ठान र पर्व मनाइन्छ। नेपाल, भारतमा छठमा जस्तो संसारका सबै देशले आ-आफ्ना तरिकाले विभिन्न समयमा वर्षभरि नै सूर्यलाई पूजा गर्ने चलन छ। यी सबै उत्सवहरूले प्रकृति, सूर्य र सामाजिक मेलमिलापलाई सम्मान गर्दै मानिसहरूलाई एकताबद्ध बनाउँछन्।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री