लन्डन । मगर संघ यूकेको आयोजनामा शनिबार (जुन १४ तारिख)का दिन बेलायतमा हुने १७ औं नेपाली ओपन कन्सर्टका लागि नेपालबाट चर्चित कलाकार खेम सेन्चुरी, अन्जु पन्त, विजय ठाडामगर बेलायत आइपुग्नुभएको छ ।
‘म्यूजिक फर युनिटी’ सन्देशसहित हुन लागेको कन्सर्टका लागि कलाकार बुधबार राति लन्डनस्थित हिथ्रो विमानस्थल आइपुग्नुभएको हो । उहाँहरुलाई स्वागत गर्न अध्यक्ष लालबहादुर (लालु) पुन मगर, कार्यक्रम प्रमुख संयोजक तथा उपाध्यक्ष रुद्र थापामगर, उपाध्यक्ष विष्णु श्रीस मगर, गुमानसिं थापामगर, महासचिव गोमानसिंह पुन, कोषाध्यक्ष मोहन थापामगर, निवर्तमान अध्यक्ष सीता पुन मगर,सांस्कृतिक सचिव नुनु पाइजामगर, सहसांस्कृतिक सचिव रुक आलेमगर,पूर्वसांस्कृतिक सचिव सरु रानामगर,मगर महिला संघ यूकेकी महासचिव मनु पाइजामगर, युवा विभागका अध्यक्ष दीपक माइथाने मगरलगायत पदाधिकारी, कार्यसमिति सदस्यहरु र शुभचिन्तकहरु विमानस्थल पुग्नुभएको थियो ।
सेन्चुरी भ्वाइस अफ नेपाली सिजन ६ का कोच तथा चर्चित सर्जक हुनुहुन्छ । गायिका पन्त सदाबहार आधुनिक गायिकाका रुपमा परिचित रहनुभएको छ भने ठाडामगर भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल कलाकार हुनुहुन्छ । उहाँहरुसँगै बेलायतका स्थानीय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।
कार्यक्रम फार्नबोरोस्थित रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकको भनाइ छ ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने कार्यक्रममा स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहनुहुनेछ ।
कार्यक्रममा सहभागी हुन १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउन्ड र सोही दिन किन्दा २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउन्ड र सोही दिन खरिद गर्दा ३० पाउन्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश नि:शुल्क राखिएको छ ।
सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसलाई सहभागी हुन मिल्ने किसिमको खुला मैदानमा आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।
कार्यक्रमलाई सफल पार्नका लागि मगर संघ यूकेले आफ्ना १२ वटै शाखाहरूलाई परिचालन गरिएको आयोजकले बताएका छन् । कार्यक्रममा बेलायतको विभिन्न वेल्स, क्याट्रिक, मिडल्याण्डलगायतका स्थानबाट सहभागी हुने छन् ।
कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउन्डदेखि ७०० पाउन्डसम्मको उपहार राखिएका छन् । कार्यक्रममा करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले राखेका छन् ।